Logo

बाढी पहिरोमा परी १०२ जनाको मृत्युः गृहमन्त्रालय



Spread the love

सरकारले पहाड र तराईका बाढी पहिरो पीडितका लागि तत्काल राहत उपलव्ध गराउन ७५ करोड रुपैयाँ थप निकासा गरेको छ । मन्त्रिपरिषदको बैठकले दैवी प्रकोप उद्धार तथा राहत कोषमा ७५ करोड रुपैयाँ थप गरी पठाएको हो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री भीमवहादुर रावलले सोमवार संसद बैठकमा जानकारी गराउँदै सो रकम नपुग भएमा पुनः आवश्यक रकम पठाइने बताए । ‘उद्धार तथा राहतमा कुनै कमी हुन नदिन सरकार सचेत छ, ठाउँ-ठाउँमा सेनाका हेलिकोप्टर तैनाथ गरिएको छ, जसले उद्दार र राहत प्रदान गरेका छन्,’ रक्षामन्त्री समेत रहेका रावलले भने ।

एक सय दुई जनाको मृत्यु

गृहमन्त्री रावलले बाढी पहिरोमा परी ४३ जिल्लामा एक सय दुई जनाको ज्यान गएको र २२ जना बेपत्ता रहेको जानकारी दिए । सबैभन्दा धेरै प्युठानमा ३१ जनाको मृत्यु भएको छ भने २५७ परिवार विस्थापित भएको मन्त्री रावलले जानकारी दिए ।

उनका अनुसार ५८ जना घाइतेको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गृहमन्त्रालय बाढी पहिरो पीडितका लागि लत्ता कपडा, खाद्यान्न, भाँडाकुँडा लगायत अत्यावश्यक सामाग्री र त्रिपाल लगायतका सामान पीडितहरुसम्म पुर्‍याइएको जानकारी समेत रावलले दिए ।

सरकारले बाढी पहिरोमा परी घर भत्किएका पीडितलाई ३५ हजार रुपैयाँ तत्काल उपलव्ध गराउने र मृतकका परिवारलाई काज किरिया खर्चका रुपमा ४० हजार रुपैयाँ उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयमा रकम पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्