Logo

डटपेन



Spread the love

–संघर्ष क्षेत्री

साँझको खाना मैले पकाउने पालो थियो । खाना पकाउँदै थिएँ, यत्तिकैमा एउटा नयाँ नम्बरबाट फोन आयो ।

‘हेलो ! संघर्ष जी हो ?’, फोन गर्ने केटीले भन्दै थिइ ।

‘हजुर भन्नु न !’ मैले जवाफ फर्काएँ ।

‘हजुरले मलाई चिन्नु भएन ?’ मनमनै रिस उठे पनि देखाइनँ ।

मलाई उसको यो सब कुरा मन परिरहेको थिएन ।

यसरी मलाई जी लगाएर बोल्ने कोही पनि त थिएनन् । अझ भनौँ न मैले नामको पछाडि जी पाउने हैसियत बनाइसकेको थिइनँ । अझ त्यसमाथि केटी । अझ त्यसरी फोन गर्ने एकाधबाहेक कोही केटी पनि थिएनन् । कहिलेकाहीँ कसैको एक दुई नम्बर यताउती भएर भएर झुक्किएर फोन आउँथ्यो ।


‘भिनाजु/ज्वाइँ सञ्चै हुनुहुन्छ ?’ पटक–पटक झुक्किएर फोन गर्नेहरुले सोध्थे । न त म कसैको भिनाजु भइसकेको थिएँ, न त ज्वाइँ ! हुन त अझै कति कुर्नुपर्ने हो ज्वाइँ/भिनाजुको तक्मा भिर्न ।
लाग्छ, ज्वाइँ भिनाजुको तक्मा भिर्न त्यति सजिलो पनि छैन । कम्तिमा मेरो लागि । जीवनका तीन दशक कसैको ज्वाइँ/भिनाजु नबनी गएकोमा त्यस्तो खेद पनि छैन । ह्या, मै आफै भन्ने गरेको छु, विवाह एक दुर्घटना हो । जहाँ, जुनसुकै बेला र जोसुकैसँग पनि हुन सक्छ अनि बिहे बाल ? यसै ठिक छ बरु जिन्दगी फुक्काफाल ।

अँ म त्यो फोन गर्ने केटीको कुरा गर्दै थिएँ क्यारे ।

‘हजुरले मलाई चिन्नु भएन ?’

यसो भन्ने केटीलाई चिन्नु नचिन्नुमा के फाइदा ? हुन त जिन्दगी सबै नाफाघाटाको बजारशास्त्र पनि होइन ।उसलाई चिन्नुमा पनि बेफाइदा त नहोला भन्ने लागेर मैले भनेँ, ‘नाइँ ! मैले चिनिनँ नि ।’

‘अनुमान गर्नुस् त !’, उसको आग्रह थियो ।

‘नाइँ अनुमानै लगाउन सकिनँ ।’, मैले भनेँ । तँ को होस् र मैले चिन्नु पर्ने ? भन्न त यस्तो भन्न मन लागेको थियो, तर भनिनँ ।

‘हाम्रो भेट भएको थियो नि ।’, त्यस अपरिचितले यसो भन्दै थिइ । अझ पनि मैले ऊ को हो भनेर हेक्का राख्न सकिनँ ।

‘नाइँ मैले चिन्न सकिनँ, भन्ने भए आफ्नो नाम भन्नुस्, नभए मैले फोन राख्छु ।’ मैले झोक्किदै भनेँ ।

‘म गरिमा डिसी ।’, उसले आफ्नो नाम बताए पनि मैले ऊ को हो भनेर चिन्न सकिनँ ।


‘ अझै पनि चिन्नु भएन, सानोठिमी भेट भएको के त ?’ त्यसपछि अलिअलि सम्झन खोजेँ, याद गरेँ । ऊ सानोठिमी भक्तपुरमा भेट भएकी केटी थिइ ।

‘ तंपाईको डटपेन छुटेछ, त्यसैले मैले फोन गरेकी ।’, उसको जवाफले दिनभरिको सबै घटना सम्झिएँ । उसले आफूसँग नभएर मसँग डटपेन मागेकी थिइ ।

‘मेरो मोबाइलमा ब्यालेन्स सकिएछ, तंपाइको फोन दिनुस् न ।’, उसले मागेपछि कल गर्नको लागि मैले मेरो मोबाइल दिएको थिएँ ।

‘अब त चिन्नु भयो ?’ उसले भन्दै थिइ ।

‘चिनेँ ।’, मैले यतिमात्रै भनेँ ।

‘घर कहाँ हो नि ?’ मैले सोधेँ ।

‘घर दैलेख, कोलम्बस कलेजबाट प्लस टु सकेँ, अनि तपाईँ नि ?’, मेरो पश्नको उत्तरको साथमा मलाई पनि प्रश्न गरेकी थिइ ।

‘गुल्मी, पाल्पा जेभीटीबाट प्लस टु सकेँ ।’ मैले जवाफ दिएँ ।

‘कुन फ्याकल्टीबाट नि ?’, उसले प्रश्न तन्काउन थाली ।

‘बायोलोजी, एक्स्ट्रा म्याथ पनि पास गरेँ ।’ यहाँभन्दा धेरै नसोधोस् भनेर एकैचोटि सबैकुरा भन्दिएँ ।

‘मेरो पनि बायोलोजी नै हो ।’, नसोधे पनि उसले आफै जवाफ दिएकी थिइ ।

‘अब बिएस्सी पढ्ने त होला नि, होइन ?’

‘ अब बिएस्सी ज्वाइन गर्ने ।’ मन नलागी नलागी पनि बताएँ ।

‘तपाईँ नि ?’ औपचारिकता स्वरुप प्रश्न गरेँ ।

‘म पनि बिएस्सी ज्वाइन गर्छु ।’

‘कुन कलेजमा कुन सब्जेक्ट पढ्ने सोचमा हुनुहुन्छ नि ?’ वाक्क भएको थिएँ, उसँगको फोन संवादले ।
‘माइक्रोबायोलोजी, केमेस्ट्री र जुलोजी ।’ होलसेलमै फेहरिस्त बताएँ । उसले आफूले पनि त्यहीँ पढ्ने बताएकी थिइ ।

‘ल हुन्छ उतै कलेजतिर भेट हौँला ।’ यति भनेर म उसँग छुट्टिन चाहेँ ।

‘मेरो नम्बर सेभ गर्नुस्, कुरा गर्दै गर्नुपर्छ ।’ फोन राख्नु अघि उसले यस्तै भनेकी थिइ ।

            

दशैंअघि भर्ना भए पनि तिहारपछि क्लास लाग्ने भयो । बेलाबेलामा गरिमाले फोन गरिरहन्थी । अहिलेजस्तो फेसबुक पनि चलाएको थिइनँ । नोकियाको २३१० मोडलको मोबाइल प्रयोग गर्थेँ । फोन गर्न र एफएम सुन्न काम दिएकै थियो । मंसिरको पहिलो साता कलेजको पहिलो दिन थियो ।
मनमा एउटा उत्सुकता र काउकुती लाग्थ्यो । कस्तो होला, साथीहरु कस्ता होलान् ? मनमा यस्तै प्रश्नहरुले उछलकुद गरिरहन्थे ।

प्लस टु पढ्दा युनिफर्म अनिवार्य भए पनि कलेजमा त्यस्तो थिएन । युनिफर्मको सिस्टम थिएन ।कलेजमा जस्तोसुकै लुगा लगाएर जान पनि पाइन्थ्यो । त्यसैले पनि मनमा एक किसिमको खुशी मिलेको थियो ।

अघिल्लो दिन गरिमाले मलाई फोन गरेकी थिइ ।

‘हामी कलेजमा भेट्नुपर्छ है !’, उसले भनेकी थिइ । उसले भेट्नुपर्छ भनेर नभनेकी भएपनि कलेजमा भेट भइहाल्थ्यो ।

किनभने ऊ र म एउटै सब्जेक्ट पढ्थ्यौँ, एउटै कक्षामा । जसरी पनि भेट भइहाल्थ्यौँ ।
‘हुन्छ भेट भइहाल्छ नि !’ उसले भेट्नुपर्छ है भन्दा मैले यसो भनेको थिएँ ।

मैले गरिमालाई देखेँ । उसले पनि मलाई पक्कै देखेकी हुनुपर्छ, यो मेरो फगत अनुमान मात्रै हो ।
हामी जुलोजी र माइक्रोबायोलोजी विषय रानीपोखरीछेउँको बिल्डिङको माथिल्लो तलामा पढ्थ्यौँ । केमेस्ट्रीको पढाई बिचको बिल्डिङमा हुन्थ्यो । पहिले केमेस्ट्रीको क्लास सकिएपछि एउटा पिरियड खाली हुन्थ्यो । त्यसै गरी दोस्रो र अन्तिम पिरियडको बिचमा पनि एउटा पिरियडको ग्याप हुन्थ्यो ।
सुरु–सुरुमा चमेना गृह चलेपनि त्यसले स्थायित्व पाएन ।

हुन त चमेना गृह पनि राजनीति गर्ने अड्डा भएपछि त्यत्तिकै बन्द भयो । त्यहाँ केटीहरु पनि आफ्नो–आफ्नो टोली भएर जान्थे । हामी केटाहरु पनि त्यसै गर्थ्याैँ । कतिपय केटा–केटीहरुको संयुक्त ग्रुप हुन्थ्यो ।

गरिमा पनि उसको साथीहरुको समूहमा हिँड्थी । मैले उसलाई चिने पनि बोलाउन गइनँ ।
केटीहरुसँग सुरुमा खासै नखुल्ने बानीले काम गरेको हुनुपर्छ । कलेजमा धेरै क्लास नलिए पनि म क्लास गएको बेला जहिल्यै दोस्रो बेञ्चमा बस्थेँ ।

साथीहरू झापाको जीवन कार्की, काठमाण्डौ मनमैजुको प्रविन, बझाङको भरत विष्ट र सुनिल रोकाया र गुल्मीको म थिएँ । एक किसिमले हेर्दा क्लासको हाम्रो बसाइँ क्षेत्रीय हिसाबले समावेशी थियो । म बस्ने बेञ्चभन्दा दायाँतिर सँगै स्कुल पढेको साथी शिक्षाहरु बस्थे । त्यसै गरी मेरो नजिकैको बेञ्चमा उदयपुरकी अञ्जु आचार्य बस्थी । गरिमा त्यहीं लहरको अर्काे बेञ्चमा बस्थी ।

गरिमाले मलाई नचिन्दा मज्जा मानिरहेको थिएँ । घर पुगेपछि उसले भन्थी, ‘मैले तंपाईलाई त देखिनँ नि !’ मैले पनि तिमीलाई पनि देखिन भन्थेँ । मैले उसलाई तिमी भन्न थालेँ । ऊ अझै तपाईँ भन्न छाडेकी थिइन । बिहान कलेज आउँदा चाबहिलबाट रातोपुल हुँदै जान्थेँ । फर्कने बेला माइतीघर वानेश्वर एयरपोर्ट हुँदै फर्किन्थेँ । यो क्रम महिनौँ चलिरह्यो । पछि उदयपुरकी साथी अञ्जु अलिक नजिकिएकी थिइ ।

ऊ पनि चाबहिलमा बस्ने भएपछि गाडी नचढी हिँड्ने कुरा भयो । एक दुई दिन हिडेँ पनि, पछि सकिनँ । अनि कि त ऊभन्दा ५ मिनेट छिटो कि त ५ मिनेट पछि हिँड्न थालेँ । त्यसो गर्नुको एकमात्र उद्देश्य थियो । गाडी नचढी हिँडेरै जानुपथ्र्याे । मैले सकिंन । उनीहरु अस्कलमा आइएस्सी पढ्दा पनि हिँडेरै गएको बताउँथी । पछि पछि अञ्जु म सँगै बस्न थालेकी थिइ । त्यतिबेला मलाई के भयो कुन्नि, उसँग बस्न छाडेँ । त्यति बेलासम्म गरिमासँग फोनमा कुराकानी चलिरहेको थियो ।


मलाई उसँग नभेटी कुरा गर्नुमै रमाइलो लाग्यो । उसले भेटौँ भन्थी । पछि म कलेज जान सकिनँ । एमबीबीएस इन्ट्रान्स भन्दै त्यता भुलेँ । तर, जुलोजीको क्लास र प्राक्टिकल क्लासको लागि जान्थेँ ।
उसले फोन गरिरहन्थी ।

पछि–पछि मलाई वाक्क मात्रै नभएर डिस्टर्व भएझैँ महसुस गरेँ । आजसम्म पनि उसले मलाई चिन्दिनँ । माफ गर गरिमा ! त्यो समयको लागि, जतिबेला म तिमीसँग नभेटी साथी बनिरहन चाहेँ ।
तर पछि म आफै संवादबाट टाढिएँ ।

प्रतिक्रिया दिनुहोस्