Logo

रोपाइँ शुरु भो, मल छैन



Spread the love

३ जेठ, सर्लाही – जिल्लामा धान रोप्ने समयमा मल अभाव भएपछि किसान चिन्तित बनेका छन् । रोपाइँका लागि खेतमा ब्याड तयार हुँदा मल नपाएपछि उनीहरु चिन्तित बनेका छन् ।

केही व्यापारीले मल राखे पनि अभावको फाइदा उठाउँदै चर्को मूल्यमा बिक्री गर्दै आएका उनीहरुले गुनासो गरेका छन् । कोरोना भाइरसका कारण जिल्लामा मल नआउँदा बिक्री वितरणमा समस्या भएको कृषि सामग्री संस्थान लिमिटेडले जनाएको छ ।

बीउ छर्ने बेलामा मल नहाल्दा ब्याड यस वर्ष राम्रो हुन नसकेको जनाइएको छ । उनीहरुले नेपाली बजारमा अभाव हुँदा भारतबाट ल्याएर पनि खेती गर्दथे । यस वर्ष कुनै उपाय नभएको उनीहरुको भनाइ छ ।

जिल्लामा अहिले मलको अभाव रहेको सो लिमिटेडका प्रमुख बज्रमणि लामाले बताए । उनका अनुसार धान खेतीका लागि मात्रै जिल्लामा एक हजार पाँच सय मेट्रिक टन डिएपी र दुई हजार मेट्रिक टन युरिया मलको आवश्यकता रहेको र अहिले संस्थानमा करीब एक सय ५० मेट्रिक टन डिएपी र २ ट्रक युरिया बाँकी रहेको छ ।

“अहिलेलाई डिएपीको माग बढ्दो रहेको छ । गोदाममा भएकोले एक–दुई गाउँलाई पनि पुग्दैन । साउनतिर रोपाइँ भइसकेपछि युरिया चाहिन्छ । माग गरेका छौँ । आयो भने सहज हुन्छ । ” उनले भने ।

प्रतिक्रिया दिनुहोस्