Logo

फिल्मी क्षेत्रसँग जोडिएका हरेकको दैनिकीमा कोरोनाले व्यापक असर पुर्याएको छ : गोविन्द शाही



Spread the love

२०१९ लाई खुशीका साथ बिदा गरेपनि २०२० भने सोही अनुसारको खुशी लिएर आएन । विश्वका कुनै भूभागमा जान छेकबाँध नभएका मानव जाति २०२० को सुरूवाति महिनाबाट नै बन्द कोठामा थुनिएर बस्न बाध्य भए । सुरूवाति चरणमा चीनको वुहान प्रान्तका मानिसहरूलाई घरमा नै सिमित गरेको कोरोना भाइरस त्यसको केही हप्तापछि नै युरोप र अमेरीका फैलिँदै अहिले विश्वका अधिकाँश मुलुकमा पुगिसकेको छ । भाइरस देखिएको सुरूवाती महिना अथवा दिनभन्दा अहिले थप आक्रामक अनि खतरनाक समेत देखिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वभरी एउटा विधि धेरै प्रचलनमा आएको छ । त्यो हो लकडाउन । अत्यावश्यक बाहेकका काम बाहेक सबै कुराहरू प्रायः  बन्द छन् । शिक्षा तथा अर्थतन्त्र समेत बन्द रहेका बेला अन्य कुराहरू सञ्चालन हुने त झन् कुरै रहेन । युरोपेली मुलुकमा ठूलो प्रभाव जनाउने खेलकुद लगभग ३ महिना लामो स्थगनपछि भर्खर सुरू भएको छ । तर, विश्वमा नै मनोरञ्जनको सबैभन्दा ठूलो आधार मानिएको फिल्म कहिले पुरोनो लयमा फर्किने हो अझै टुंगो लागेको छैन ।

कोरोना भाइरसको कुनै निश्चित उपचार पद्धति र औषधी नहुँदा थप अन्यौलता पैदा भएको छ । अझ कोरोना मुक्त देश घोषणा गरिसकेका न्युजिल्याण्ड र चीनमा पुनः संक्रमण देखिनुले थप चुनौति सिर्जना गरेको छ ।

विकसित देशलाई घुँडा टेकाएको भाइरसले नेपालमा पनि दिन प्रतिदिन छलाङ मार्दैछ । संक्रमणको संख्यामा दिनदिनै नयाँ आँकडा पुग्दा ३ महिनादेखि खुम्चिएको अर्थतन्त्र लगायत अन्य व्यापारमा यसले नकारात्मक असर पार्दैन भनेर कुनै कोणबाट पनि  भन्न सकिँदैन ।

फिल्मको बजारमा विश्वव्यापी पहिचान बनाएका हलिउड तथा बलिउडको व्यापार ठप्प प्रायः भएको समयमा नेपाली फिल्म चल्ने कुरै भएन । चैत ११ गतेदेखि सबै फिल्महलहरू बन्द छन् भने प्रदर्शनका लागि ठिक्क परेर बसेका फिल्म कहिले प्रदर्शन हुने भन्ने निश्चित छैन ।

यही समग्र नेपाली फिल्म क्षेत्रमा कोरोना भाइरसले पारेको प्रभाव र यसले पारेको प्रभावलाई आगामी दिनमा कसरी सहजीकरण गर्न सकिन्छ भन्नेबारे काफिया फिल्मसका निर्देशक तथा कलाकार गोविद्न शाहीसँग गरिएको संक्षिप्त कुराकानीमा आधारित अन्तर्वार्ता :

देशभर लकडाउन भएको समयमा फिल्मको अवस्था कस्तो थियो । पछिल्ला वर्षहरूमा फिल्मले सो समयमा कस्तो व्यापार गर्दथे ?

यो वर्ष समग्रमा फिल्म क्षेत्रका लागि त्यति राम्रो रहेन । तर पनि “सेन्टि भाइरस“ लगायत केही फिल्मले वर्षको उत्तरार्धमा राम्रो व्यापार गरेका थिए । २०७६ सालभरिका फिल्मो घाटालाई चैतमा प्रदर्शन हुने फिल्मले पिकअप गर्छ जस्तो लागेको थियो । परिस्थिति उल्टो भयो । कोरोना रोकथामका लागि गरिएको लकडाउनले फिल्म हलहरू बन्द भइदिँदा समग्र फिल्म क्षेत्र नै मारमा पर्न गयो ।

फिल्म क्षेत्रमा कोरोना भाइरसको प्रभावले फिल्म क्षेत्रमा कस्ता समस्या आइरहेका छन् ? 

फिल्मि क्षेत्रसँग प्रत्यक्ष जोडिएका हरेका व्यक्तिको दैनिकीमा कोरोनाले व्यापक असर पुर्याएको छ । यस क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने फिल्म हल, चलचित्र संघ, चलचित्र कर्मी तथा फिल्म क्षेत्रका प्राविधिक सहित फिल्म निर्माण र वितरणमा समेत ठूलो असर पारेको छ । यसले वर्तमान परिस्थितिमा जटिलता त थपेको नै छ । यसको असर फिल्म क्षेत्रले धेरै पछिसम्म व्यहोर्नुपर्नेछ ।

लकडाउन भएको दिनदेखि अहिलेसम्म कति जतिको नोक्सानी भयो होला त ? 

क्षतिको निश्चित आँकडा नभएपनि लकडाउन सुरू भएदेखि अहिलेसम्मको समयलाई फिल्मका लागि उपयुक्त समय मानिन्छ । राम्रा फिल्म प्रदर्शनका लागि धेरैले यहि समयलाई अनुकुल ठान्दछन्  । ४–५ महिना नै फिल्महल बन्द भइसकेको अवस्थामा नोक्सानीको हिसाबकिताब पनि ठुलो भइसकेको छ ।

तपाईका अनुसार फिल्म क्षेत्रले ठुलो नै नोक्सानी व्यहोरेको छ । यस्तो अवस्थामा सरकारबाट के कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ ?

सरकारले यो क्षेत्रलाई भनेर अहिलेसम्म कुनै राहत तथा अन्य प्रकारको सहयोगको व्यवस्था गरेको जस्तो मलाई लाग्दैन । फिल्म क्षेत्र भनेको अरबौको लगानि भएको क्षेत्र हो । करोडौँको लगानीमा खुलेका फिल्म हल लगायत मल्टिप्लेक्सहरू बन्द भएर ठुलो मारमा परेका छन् । तर, ठुलो लगानी हालेर ठुलै मारमा परेको यो पक्षमा सरकारको दृष्टि पुग्न सकेको छैन । अबका दिनमा सरकारले यस क्षेत्रलाई पनि प्राथमिकतामा राख्नु जरूरी छ ।

सरकारको ध्यानाकर्षण गराउने केही पहल गर्नु भयो की ? 

चलचित्र क्षेत्र मारमा परेको भन्दै हामी चलचित्र विकास बोर्डमा गएका छौँ । बोर्डका वर्तमान अध्यक्ष दयाराम दाहाल मार्फत सरकार समक्ष आवाज पुर्याउन तथा यो क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रमा राख्ना समेत भनेका छौँ । यही विषयमा मंगलबार कार्यसमिति बैठक बस्ने समेत भएको छ ।

कोरोनाको प्रभावबाट माथि उठ्न यो क्षेत्रलाई  कति समय लाग्ला ? 

कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन उच्च भएता पनि सँधै हलहरू तथा फिल्मका काम बन्द गरेर बस्न सकिँदैन । केही निकास त खोज्नै पर्ने हुन्छ । स्पेन, इटाली लगायत छिमेकी मुलुक भारतले पनि फिल्महल सञ्चालनका लागि गाइडलाइन बनाउँदैछन् । यही अनुसार कोरोना नियन्त्रय तथा रोकथाम उच्चस्तरीय समितिलनई पनि जानकारी गराएका छौँ । उताबाट प्रावधान बनाएर ल्याउनु भन्ने प्रस्ताव समेत आएको छ । यदि प्रस्ताव अनुसार फिल्मका गतिविधि सञ्चालन भएमा पनि पुरानो लयमा फर्किन धेरै समय लाग्ने निश्चित ।

कोरोना भाइरसले थलिएको सिनेमा क्षेत्र उकास्न चलचित्रसँग सम्बन्धित संगठनले कस्तो भूमिका खेल्नु पर्ला त ? 

फिल्म क्षेत्रमा भएको नोक्सानीको बारेमा बुलन्द आवाज उठाउन जरूरी छ । फिल्मलाई फिल्मको नजरबाट मात्र नभर फराकिलो दायराबाट सोच्नुपर्ने देखिन्छ । मानौ मुस्ताङमा सुटिङ भएको एउटा कुनै फिल्मले त्यो क्षेत्रको प्रमोट गरेको हुन्छ । फिल्मका माध्यमबाट सो क्षेत्रमा हुने पर्यटकीय गतिविधिमा बढावा दिन सकिन्छ । त्यसै गरी फिल्म भाषाशैली तथा संस्कार, संस्कृतिको दस्तावेज पनि हो । यही आधारमा अब खस्केको फिल्म क्षेत्रलाई माथि ल्याउन सबैको आवाज तथा साथ एक हुनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्