Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५४०,६७७
संक्रमित
११,७४०,१००
निको भएका
६,६४२,७७१
नेपालमा कोरोना भाइरस
मृत्यु
३५
संक्रमित
१५,९६४
निको भएका
६८११

विनय ज्योति सापकोटाका दुई कविता



ध्यानी

उ असाध्यै ध्यानी छ
जहाँ पनि ध्यान गरिहाल्छ
उ विश्वास गर्छ,
एकदिन सिद्धि मिल्नेछ
एकदिन सबै दुःखबाट पार पाउनेछ
यो मृत्युलोकमा बसेर सोंच्छ
उ अरुभन्दा अलग छ
अमर छ
किनभने
उ असाध्यै ध्यानी छ।

फाट्टफुट्ट संस्कृतका मन्त्र पनि जान्दछ
चण्डी, रुद्री र गीतासम्म पढ्न जानेको छ
उस्तै मान्छेलाई ठूलै गुरु हुँ भन्न भ्याइहाल्छ
अरुले भनेको ‘ॐ’ र उसले भनेको ‘ॐ’
उसलाई फरक लाग्छ
अरुको चिन्तन र आफ्नो चिन्तन
उसलाई फरक लाग्छ
उसलाई फरक लाग्छ
अरुको शान्ती र आफ्नो शान्ती
किन भने उ सोच्छ – उ असाध्यै ध्यानी छ।

वर्षका दुईवटा शनिवार
काल पशुपतिको भैरवमा गएर ध्यान गर्छ
घरमा बस्दा
युट्युवमा हेरेर वस्तुको ध्यान गर्छ
ध्यान सिक्छ
महामृत्युन्जय मन्त्र हरेक शिवरात्रीमा सुन्छ
संवतसर सर्यो कि सरेन भनेर
घरमा फोन गरेर सोध्छ
ध्यान गर्ने कहिले हो भनेर पात्रो हेर्न लगाउँछ
किनभने,
उ असाध्यै ध्यानी छ।

उसलाई त्यहीं ध्यानले
अमर बनाउँछ जस्तो लाग्छ
संसारको चाबी हातमा आउँछ जस्तो लाग्छ
हातको औंलामा राखेर संसारलाई
फिन्फिन्फिन्फिन घुमाउँछु जस्तो लाग्छ
र, उसलाई लाग्छ
उ असाध्यै ध्यानी छ।

ग्रहण लागेपछि उसलाई एक्कासि याद भयो
आज उसको ध्यान सिद्धि हुनेछ
जन्म-मृत्युको चक्करबाट छुटकारा पाउनेछ
संसारको गड-फादर बन्दैछ
त्यसैले उ बिहानै उठ्छ
हतारहतार खाना खान्छ
र, युट्युबको इसारामा ध्यान गर्न बस्छ
उ असाध्यै ध्यानी छ।

मस्तिष्क खाएर बाँच्ने किरो

मनमा बेचैनी,
अनुहारमा गम्भीरता,
निर्णयमा अपरिपक्वता

छ-र-प-ष्ट विचारहरुले
म चारतिर तानिएछु
किराहरुले प्राणघातक आक्रमण गरेपछि
मेरो मस्तिष्कलाई सायद यस्तै लागेको होला ।

जर्जर भूमिमा
थर्थर काँप्दै उम्रने शब्दहरु,
तरंगले बगाएर
मनदेखी मस्तिष्कसम्म पुर्याएका भावनाहरु
डगमग-डगमग डगमगाइ रहन्छन्
झन् झन् झन्किरहन्छन्
मस्तिष्क खाएर बाँच्ने किरो देखेर ।

मेरा बाको मस्तिष्क
गाउँको किरोले खायो,
मेरो कलिलो मस्तिष्क
सहरको मोटो किरोले खायो
तीन-चार खालको तन्त्रहरु आइसके
लोकतन्त्र, गणतन्त्र…
छ-सात खालका संविधानहरु परिवर्तन भइसके
तर,
यी किराहरुलाई उपचार गर्ने कानून
कहिल्यै आएन।

मलाई सम्झना आउँछ
धनभन्दा विद्या ठूलो भन्ने
झुटो वादविवाद खेलेको
हातका मैला भन्ने
मिथ्या कविता घोकेको,
तँ-वर्गको अन्तिम दुईलाई वेबास्ता गर्दै
परदेशमा हितहुने शिक्षा रोजेको
कल्पनाले कल्पनलाई गहिराई सम्म लैजान्छ
मस्तिष्क खाने किरोले आक्रमण गरेपछि ।

तीन महिनाको स्वाभिमानी यात्रा-पश्चात्
छोरोको स्कुलको बिल आउँछ
पसल जाने बाटो बन्द हुन्छ
इष्टमित्रको फोन बान्द हुन्छ
अनि
उसैलाई डाक्टर सम्झेर
मालिकको ढोका दशौँपटक ढक्ढक्याउन पुग्छु
आफ्नो दिमागको अलिकती हिस्सा माग्न।

प्रतिक्रिया दिनुहोस्