Logo

हात्ती नियन्त्रणका लागि जङ्गलमै केराखेती



Spread the love

१७ असार, झापा – झापाको मेचीनगर–९ स्थित थोप्लेबिरान सामुदायिक वनले हात्ती नियन्त्रणका लागि जङ्गलभित्रै फलफूलका विरुवा रोप्न थालेका छन् ।

स्वादिलो आहारले पेट भर्न पाएपछि जङ्गली हात्तीले अन्नको बालीमा क्षति नगर्ला भन्ने आशाले सामुदायिक वनले जङ्गलभित्रै हात्तीको खान्कीका लागि फलफूलका विरुवा रोप्न थालेका हुन् ।

विगत तीन दशकयता झापाको मेचीनगरमा जङ्गली हात्तीबाट सबैभन्दा धेरै जनधन र बालीको क्षति भएको छ । हात्तीले वर्षेनि लाखौँ मूल्यको धनमालसँगै मानवीय क्षतिसमेत पुर्याउँदै आएकाले त्यसको नियन्त्रणका उपाय अवलम्बन गर्न सामुदायिक वनको अग्रसरतामा पहिलो चरणमा केराका विभिन्न जातका तीन हजार विरुवा रोपिएको हो ।

थोप्लेबिरान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण कोइरालाले वन क्षेत्रभित्र र हात्ती प्रवेश गर्ने सम्भावित गौडामै फल पाकेपछि टाढासम्म मगमगाउने मालभोगलगायतका केराको विरुवा रोपिएको बताए । हरेक उपभोक्ताले दुई वटा केराका विरुवा हुर्काउनै पर्ने नियम बनाइएको छ ।

दैनिकजसो आउने जङ्गली हात्तीले गाउँ पसेर किसानले लगाएको र घरमा थन्क्याएको अन्नबाली खाएर दुःख दिन थालेपछि हात्तीलाई जङ्गलमै अलमल्याउने उपायस्वरुप बनभित्र केरा खेती गरिएको जनाउँदै अध्यक्ष कोइरालाले यसले हात्तीबाट हुने क्षति रोकिने अपेक्षा गरिएको बताए ।

सो सामुदायिक वनमा १९० हेक्टर क्षेत्रफल रहेको छ भने ५१० घर परिवार उपभोक्ता छन् । वनभित्र हात्तीको आहारका लागि चिनीचम्पा, जहाजी, मालभोग र अँठिया जातको केराका विरुवा रोपिएको छ । हात्तीले आहारका लागि केराको गुभो र फल अति मन पराउँछ । यसअघि वन समितिले हात्ती नियन्त्रणकै लागि भनेर वनभित्र १० हेक्टर क्षेत्रमा बाँस लगाएको थियो । तर बाँसघारीले हात्ती रोकिएनन् ।

“वनमा खानेकुरा नहुँदा हात्ती गाउँ पस्छ भनेर विज्ञहरुले बारम्बार बताउँदै आउनुभएको छ”, अध्यक्ष कोइरालाले भने, “जङ्गलभरी केराखेती गरेका छौँ, अब चाहीँ आहार खोज्दै हात्ती गाउँ पस्दैनन् कि भन्ने हाम्रो विश्वास छ ।”

अर्को चरणमा अरू प्रजातिका फलफूलसमेत वनमा हुर्काउने समितिको योजना छ । जङ्गलमा रहने बाँदर, चरालगायतका जीवहरुलाई समेत ती फलफूल आहारा बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्