Logo

गुल्मीमा रिपोर्ट नआउँदै नेगेटिभ भनेर पठाइयो, घर गएको अर्को दिन कोरोना पोजेटिभ



Spread the love

१८ असार, गुल्मी। गुल्मीमा कोरोना रिपोर्ट नआउँदै घर पठाउँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । त्यसैबिच जिल्लाको चन्द्रकोट गाउँपालिकाको क्वारेन्टाइनबाट रिपोर्ट नआउँदै घर फर्काइएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वडा नम्बर–१ का ५२ वर्षीय पुरुष जेठ ११ गते भारतबाट घर आइ सराङ्ग शारदा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । केही समय अघि गरिएको आरडीटी परीक्षण पोजेटिभ आएपछि पीसीआर परीक्षणको लागि स्वाब सङ्कलन गरी पठाइएको थियो । रिपोर्ट आउन ढिलाइ हुँदा नेगेटिभ भनेर असार १५ गते घर पठाइएको थियो। तर, १६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

यता, गाउँपालिका अध्यक्ष दोर्ण खत्रीले सल्लेरी खबरलाई भने,‘हामीले सङ्घीय सरकारको नियम अनुसार घर पठाएका हौँ ।’ आरडीटी पोजेटिभ आएता पनि लामो समयसम्म लक्षण देखा नपरे त्यस्ता व्यक्तिले कोरोना सार्दैन भन्ने डब्ल्यूएचओको सिद्धान्त अनुसार घर पठाएको उनको भनाई थियो । साथै लामो समयसम्म क्वारेन्टाइनमा बस्दा आत्मबल कमजोर हुने र आत्महत्याका घटना बढ्ने हुँदा हामीले सरकारको नियम अनुसार काम गरेको जिकिर गरे ।

तर, यता स्थानीय भने त्रसित बनेका छन् । नाम नखुलाउने सर्तमा स्थानीय एक युवाले भने, ‘क्वारेन्टाइनबाट पठाउँदा रिपोर्ट अझै आएको छैन सुरक्षित साथ होम क्वारेन्टाइनमा बस्नु भनेर पठाएको भए राम्रो हुने थियो तर नेगेटिभ भनेर पठाउँदा स्रकमण बढ्ने खतरा भयो ।’

यो समाचार तयार पार्दासम्म चन्द्रकोट गाउँपालिकामा २० जना संक्रमित रहेका छन् भने जिल्लाभर ३ सय ३२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकृत पशुपति आचार्यले जानकारी दिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्