Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९६
संक्रमित
२४,९५७
निको भएका
१६,८३७

राताे रङ




रातोले कहिल्यै छाडेन है तिमीलाई ?
बिहे अघि फ्रकमा रातो दाग देखाउँदै हिँड्थ्यौ ।
बिहे पछि सिउँदोमा ।
फ्रकको रातो रङको कुरा गर्दा
‘पेट दुखेर हो ।’ भन्थ्यौ ।
सिउँदोको रातोले दुख्छ्यौ कि दुख्दिनौ ?
तिमी र म एकै हुँ भन्थ्यौ,
तिम्रो बाहुन बुढोले दिएको सिन्दुर
र मैले तिम्रो लागि भेरीमा बगाएको
रातो रंग एउटै मान्छ्यौ कि मान्दिनौँ ?

…………………………………….

मेरा सबै साथीसंगीहरुको बिहे भइसकेको छ । भेट हुँदा म सोधिरहन्छु, ‘तिमारुले बिहे गर्यौ । मैले बिहे गरुम् कि नाँइ । भन्द्याओ न ।’ उनीहरु खितिति हाँस्छन् र भन्छन् । ‘गर्छु भनेर हुने, गर्दिनँ भनेर नहुने कहीँ हुन्छ ? सुनेकी छैनस्, जन्म,मृत्यु र विवाह भगवान्को हातमा हुन्छ !’
अर्की साथीले उछिन्दै भन्छे–‘कहिल्यै बिहे गर्दिनँ भनेको थिएँ । उहाँलाई देख्नेबित्तिकै के भो ! के भो ! अचानक हुन्छ रे ।’ एक्सिडेन्टल…. ऊ खित्खिताउँछे ।

चितवनमा पक्की घर । उमेर ३१ वर्ष । राष्ट्र बैँकमा जागिरे ।
हजुरबुवाले केटाको बायोडाटा बताउनुभयो । यो भन्दा बढी जानकारी उहाँसँग केही थिएन । हजुरबुवालाई लाग्दो हो–एउटा राम्रो जागिर खाएको र घर भएको भएपछि के चाहियो र ?
‘भर्खरका केटाहरु पाइएनन् ?’
‘धेरै उत्ताउली नभ । बिहे गर्ने केटो खोज्देको हुँ । लभ गर्ने होइन ।’
‘अँ सुन त, पण्डितको छोरो हो । दिनकै नुवाईधुवाई गरेर चोखोनितो गरेर खाना बनाउन पर्छ । जे मन लाग्यो त्यहीँ गर्ने होइन । विछोड हुन्छ पछि ।’
‘के भो त? विछोड गर्ने । गरिरहेकै छन् क्यारे ।’
‘तँलाई झेल्ली ।’
‘बिहे गर्दिनँ उसो भा… । मन मिलेन भने विछोड गर्नै नपाउनु ?’
‘बिहे गरेपछि जेजस्तो पनि सहनपर्छ । लोग्नेले जेजे भन्छन्, चुपचाप । नमान्नेहरुकै विछोड हुने हो । तिनीहरुलाई कसैले ईज्जत गर्छ ? पोइले छोडेकी आईमाई भनेर कुरा काट्छन् ।’
‘कोमल वली, दिपाश्री बिहे नगरी बसिराछन् त ।’
‘तँ जैरे हिरोइन होस् ?’
‘हजुरबा, हजुरको रुकुम घटनाबारे के ।’ म कुरा मोड्ने हिसाबले भन्छु ।
(रेडियोमा बिहान कायाकैरनदेखि बेलुका आठ बजे नेपाल टेलिभिजनमा आउने समाचार सुनी बस्नुहुन्छ । हाम्रो देशमा केके घटना घटिरहेका छन् ! विश्वमा के भइरहेको छ, सबबारे अपडेट भईराख्नुहुन्छ । )

‘त्यस्तो हुनुहुन्न थ्यो । त्यो साह्रै नराम्रो भयो ।’
‘यो छुवाछुत नहुनुपर्ने होइन ?’
‘नहुनुपर्ने । उनीहरुलाई काटे पनि रातै रगत आउँछ । मान्छेहरु बुझ्दैनन् !’
‘पण्डितबाहेक अरु खोज्नु ! परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ । बाहुन नै किन चाहियो ?’
‘जे पनि बोल्यो ! तेरो बिहे दलितसँग गराईदिएपछि के हुन्छ ? समाजमा हाम्रो इज्जत रहँला ? साथी बनाउन, सँगै खान पो केही हुन्न भनेको । लब गरे पनि बिहे कसरी हुनसक्छ ? केटा र केटीको मन मिलेर मात्रै हुने कुरा हो ? जात, गोत्र मिल्न परेन ?’
‘अनि अघि ?’
‘छुवाछुत गर्नुहुन्न, मान्छे मार्नुहुन्न पो भन्या । बिहे गर्नुपर्छ भनेर कस्ले भन्यो ? तैँले र मैले सोच्दैमा, हामीले जात नमान्दैमा हुन्न नि छोरी । सिंगो समाजले स्वीकार्नुपर्यो ।’
‘कस्तो दुइटा कुरा, भेदभाव गर्नहुन्न रे । फेरि ?’
‘मेरा दलित साथीहरु छन् । उनीहरु हाम्रोमा आएर खाना खान्छन् । म पनि उनीहरुकोमा गएर बस्छु । खाना खान्छु । भगवान्को पालादेखि चलिआएको रितिरिवाज तोड्न मिल्छ ? त्यस्तो राम्रो घरबाट कुरा आएको छ । दलित पो खोज्दे भन्छे । बहुलाईस् ? फेरि रुकुमकै घटना बन्न मन छ कि ? समाचार सुनेर पुगेन ?’
( हजुरबुवाले रिसाएर फोन राख्नुभयो । )

बुझ्नु र व्यवहारमा उतार्नु फरक कुरा हो । मान्छेले विभेद गर्नुहुँदैन भनेर जान्दाजान्दै पनि विभेद गर्छ । गरिरहेकै छ । किन ? अज्ञानताले ?

रुकुममा भन्दा बढी विभेद काठमाडौँमा छ । (काठमाडौँको विभेदबारे पछि लेख्दै गरौँला ।) विभेद कसलाई गर्ने अनि कसलाई नगर्ने भन्ने ज्ञान हुनेसँग अज्ञानता छ भनेर कसरी भन्नु ? आजसम्म विभेद ज्ञान हुनेले नै गरेका छन् । शक्ति हुनेहरुले नै गरेका छन् । सत्तामा बस्नेहरुले नै गरेका छन् । समाजका हुनेखाने, इज्जतिला मान्छेहरुले नै गरेका छन् । अरुलाई विभेद गरेर कसले ईज्जत दिईरहेको छ ठालुहरुलाई ? मानव सर्वश्रेष्ठ प्राणी हो भनेर मानव आफैँले घोषणा गरेजस्तै हो यो सामाजिक इज्जत,प्रतिष्ठा भन्ने कुरा ।

समाजको सकरात्मक परिवर्तनको लागि उसले आर्जन गरेको ज्ञान अलिकति पनि प्रयोग हुन सक्दैन भने त्यो ज्ञान के काम ? जीवननिर्वाहको लागि मात्रै आर्जन ज्ञानले विभेदको यो रुप अझै बढाउँदै लिएर जाने निश्चित छ ।

केटाले राष्ट्रबैँकमा नाम निकालेको धेरै भएको रहेनछ । त्यत्तिका वर्ष मेहनत गरेर पढ्यो । नाम निकाल्यो । बिहे गर्यो अनि आफ्नो मेहनतको कमाइ बुढी र छोराछोरीको लागि खर्च गर्यो । उनीहरुकै लागि मेहनत गर्यो । अनि महिलालाई हेप्दैनन् त ? यसरी सोच्दा मलाई कहिल्यै उनीहरु दोषी लाग्दैन । कमजोरी महिलामा छ । यो राज्यव्यवस्थामा छ । परिवारमा छ । पुरुषमात्रै दोषी कसरी हुन्छ ? ऊ पनि यहीँ समाज व्यवस्थालाई पछ्याएको प्राणी त हो । आफ्नी छोरी आफ्नो खुट्टामा उभिएर आफैँलाई पाल्नसक्ने भइन्जेल पर्खिन नसकेर केही गर्न सकिन यसले भनेर बिहे गराईदिई हाल्न हतार गर्ने परिवार दोषी छैन ? पढाउनुपर्छ भन्ने चेतना भएका चेतनशील बाबुआमाले अब छोरीले आफै कमाउनुपर्छ । उसको जिन्दगी हो, बिहे गरे गरोस् । नगरे नगरोस् भनेर स्वतन्त्र छोडिदिनु पर्दैन ?

मेरो हकमा उसले के हेर्ला ? ‘पढाई ?’ उसका बाबुआमाले ममा के खोज्लान् ?

घरभित्र बसेर उसका बुवाआमा स्याहार्न । उसका कपडाहरु धोईदिन किन चाहियो पढाई ? ‘रुप?’ यो त हेरिसक्नै कुरै होइन । केलाई रुप मान्ने ? कसलाई राम्री मान्ने ? कसलाई नमान्ने ? हेराईमा भर पर्ने कुरा होइन र यो ? सुन्दरताको परिभाषा समाजैपिच्छे फरक छ । मान्छेपिच्छे फरक पर्छ । त्यसोभए उसले ममा के खोज्ला ? के को आधारमा बिहे गर्छु भन्ला ? के को आधारमा हुन्नँ भन्ला ?
बरु केटाहरु छान्न सजिलो छ । सम्पत्तिको आधारमा हुन्छ कि हुन्नँ भनिदिने हो । सम्पत्ति अनि जागिर । केटीहरुले उमेर हेर्नै हुँदैन । दश, बाह्र वर्षको फरक ? अहँ यस्तो भन्न हुन्नँ । बिहे गर्न लागेको हो, भाँडाकुटी खेल्न होइन भनिहाल्छन् । (अनमेल विवाहको बारेमा कानुनमा लेखिएको हटाइएको छ ।)

मास्टर्स सकेकै आठ वर्ष भएको रहेछ । मैले मास्टर्स ज्वोइन गरेकै छैन । उनीहरुलाई सानैदेखि राम्रो पढ । राम्रो जागिर खा । राम्रो केटी पाउँछ । राम्रो दाईजो मिल्छ भन्छन् । तर अहिले दाईजो लिनेदिने कुरा हराईसक्यो । शिक्षित मान्छेहरुले दाईजो लिने र दिने गर्दैनन् । कम्तिमा दाइजो दिएर छोरी पठाउनुपर्छ भन्ने पक्षको विरोधचांहि हजुरबा आफै गर्नुहुन्छ ।

केटीहरुलाई सानैदेखि राम्रो पढ । राम्रो जागिर खानुपर्छ भन्दैनन् । साँच्चै मैले किन पढेँ ? हामीलाई ब्याचलर पढाउँदा सरले भन्नुभएको थियो– ‘तिमीहरुलाई यति राम्रो कलेज पढ्न पठाउनुको एउटै उद्धेश्य छ ।’ हामी सरको कुराले तानियौँ । सबैको आँखामा जिज्ञासा देखेपछि भन्नुभयो– ‘राम्रो कलेजमा छोरी पढाएपछि कुनै राम्रो घरपरिवारको केटासँग भेट हुन्छ, उनीहरुको दोस्ती बढ्छ । लब गर्छन् । अनि बिहे हुन्छ भनेरै हो । नपत्याए आफ्नो आमाबुवालाई सोध्नु । अहिले केटा खोज्ने चलन छैन । आफैँआफैँ खोज्ने चलन आयो । नभए ब्याचलरको अनुभव लिन तिमीहरुले पाउँदैनथ्यौ । भन्नलाई आफ्नो खुट्टामा उभिनपर्छ भनेपनि भित्री रहस्य अर्कै छ । छोरीले राम्रो श्रीमान् पाओस् ।’
बुवाआमालाई सोध्ने आँट गरिनँ । उहाँहरुले तिमी आफैँ सक्षम हुनु भनेर ब्यचालर पढाएको भन्नुहुन्थ्यो । थाहा भएको कुरा किन सोधिरहनु ?

हाम्रो कलेजमा अनेकअनेक देख्न पाईन्थ्यो । केटाले केटीको ब्यागदेखि उसले लगाएको जुत्तासम्म बोकेर पछिपछि कुद्थ्यो । हामी सबैजना रमाईलो मानेर झ्यालबाट हेथ्र्यौ । अनि मनमनै कल्पना गथ्र्यौ । ‘मेरो पनि त्यस्तै माया गर्ने ब्वाईफ्रेण्ड होस् ।’ उनीहरुको जोडी हामी केटीहरुमाझ चर्चित थियो । त्यो केटाले केटीको बारेमा के स्टाटस राख्यो । त्यो केटीले के रिप्लाई गरिसम्मको जानकारी हामीलाई हुन्थ्यो । हामीभन्दा दुई ब्याच अगाडि थिए उनीहरु ।

सर क्लासमा छिर्नुभयो । उहाँले हामीहरु झ्यालबाट रमाएर ती जोडीको प्रेमलीला हेरेको थाहा पाईहाल्नुभयो । हाम्रो आँखामा त्यस्तै ब्वाईफ्रेण्ड पाउने र बिहे गर्ने सपना नाचिरहेको थियो । ‘बिहे अघि यस्तो रमाईलो धेरै देख्न पाईन्छ । केटाहरु नपाउन्जेल जे गर्न पनि तयार हुन्छन् । पाईसकेपछि कागजको खोस्टोजति पनि मूल्य गर्दैनन् । हो कि होइन केटा हो ?’ ‘केटाहरुले हो भनेर टाउको हल्लाए ।’

‘त्यस्तो हुन्छ ?’ उहाँको कुरामा पत्यार नलागेर इकोनोमिक्स पढाउने सरलाई सोधे । सरको प्रेम विवाह भएको थियो । ‘बिहे नगर्दा म बाईक लिएर उनको पछिपछि कुद्थेँ । म त्यहीँ मान्छे हुँ । अहिले उसले फोन गर्दा खेरि ह्या ! भन्ने लाग्छ । रिसाए रिसाईराखोस् जस्तो लाग्छ । पहिला उसको फोन आउँदा साथीहरु छाडेर उनी भए ठाउँ पुग्थेँ । त्यस्तो जोस, जाँगर थियो । उनले पहिलाको कुरालाई सम्झिएर कचकच गरिरहन्छिन् ।’

‘किन त्यस्तो भयो ?’
‘त्यो त मलाई पनि थाहा छैन । नपाईन्जेल केके न होला भन्ने लागेर हो कि ? अरुसँग लागेर उसलाई माया नगरेको भन्ने शंका गर्छिन् । त्यस्तो होइन तर पहिलेजस्तो त्यो जोश…. ल अब पढ्नपर्छ । यस्तो कुरामा अल्झिने होइन ।’ सरले पढाउन थाल्नुभयो । म उहाँको कुराले त्यतिबेलादेखि अहिलेसम्मै अल्झिरहेको छु ।

‘ओई, तिमारु कस्तो केटी पायौ भने बिहे गर्छौ ?’
उनीहरु केही नसोचिकनै उत्तर दिन्छन् । सोच्नुपर्ने प्रश्न सोधिनँ कि ?
‘राम्री । हेर्दा च्वाँक होस् न । पार्टीहरुमा लैजाँदा केटाहरु जलुन् ।’
‘अरु केही?’
‘राम्री भएपछि अरु के चाहियो ? माया गर्ने होस् । अरुसँग नबोलोस् । घरको काम सबै गर्ने । भनेको मान्ने । त्यति भए पुग्यो । बाहिर गएर जति दुख गर्नुपर्छ मै गर्छु । कमाउँछु ।’
‘तिमीहरुले नै कमाउने भएपछि अलिक मर्कामा पर्छौ । बुढीले कमाएदेखि आर्थिक भार कम हुन्छ नि होइन ?’
‘अफिस जान दियो भने घर भताभुंग हुन्छ । धेरैको डिभोर्स हुनुको कारण त्यहीँ हो ।’
‘कस्तो रुढीवादी सोच । तिमारुजस्तै सोच राख्नेहरुले गरेर महिलाहरु पछि परेका हुन् ।’
‘व्यवहारिक कुरा गर । आदर्श होइन । त्यो कागजमा मात्रै सुहाउँछ । मलाई चपाएर बोल्न आउँदैन । सबै केटाहरुको सोच यस्तै हो । धेरै बाठी भयौ भने केटाको चिप्लो कुरामा परेर चिप्लेलिऊ ।’
‘लु त्यसो भा भन, राम्रो र नराम्रो कसरी छुट्याउने ? रुपको आधारमा बिहे गर्दा नराम्राहरुलाई मर्का पर्दैन ?’
‘साथीहरुलाई देखाउनै लाज लाग्नेगरी नराम्री भई भने जति राम्रो बानीव्यहोरा भए पनि के गर्नु । आहा भन्ने नभएपनि छिः भन्ने हुन भएन भनेको पो हो । फेरि देखेको पाइन्न, लेखेको पाइन्छ भन्छन् । हेरुम् ।’
‘काली होस् भन्ने लाग्छ कि गोरी ?’
‘काली भए पनि कोही त असाध्यै राम्रा हुन्छन् । ठिकठिकै रुप छ भने गोरो भएकै राम्रो ।’
‘कति पढेको बिहे गर्न चाहन्छौ ?’
‘प्लस टु । ब्याचलर फस्ट इयर पढ्दै गरेको भए अझ राम्रो । बिहे गरिहाल्ने सोच छ । तिमीजस्तो धेरै फतरफतर गर्ने मन पर्दैन । हेर्दै बुढा कुट्ने जस्ती छ्यौ ।’
‘त्यहीँ भएर मन नपराएको ?’
घिमिरे थरका एकजना मानिसले क्वारेन्टाइनमा बस्नुपर्दा दलितले छोएको खाए त म मर्छु ! छुट्टै राखिदेओ भनेर भनेको समाचार आइरहेको छ । कोरोनाको बेलामा पनि यस्तो भन्ने ? अरुबेला ठिकै हो भन्न खोजेको अर्थ पनि दिन्छ यस्तो कमेन्टले ।
मनमा बसेको जातियताको खिल सजिलै निस्कदैँन ।

यो खिल निकाल्नको लागि दुईवटा उपाय छ । एउटा कडा सजाय दिने अनि अर्को चेतनाको विस्तार नभईन्जेल कुरिरहने । दुईचार जनाको चेतनाले जातियता मान्दिन । हुँदैन भन्दैमा फेरिफेरि रुकुम घटना नहोला भन्न सकिदैँन । रुकुम घटनाकै आधार मानिने छुवाछुतका अनगिन्ती विभेदहरु मानवताको चस्मा लगाउने बित्तिकै देखिन्छ । समाजको सिंगोे चेतनामा परिवर्तन नआईन्जेल यस्ता घटनाहरु घटिरहन्छन् । तर घटिरहन्छन् भनेर सामान्ययीकरण गर्दै चेतना विस्तार होला भनेर कुरिरहनु पनि छुवाछुतलाई बढवा दिनु हो ।

रुकुम घटनाको दुई दिनपछि अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहँदा मृत्यु भएको कुराले अमेरिकामा काला जातिलाई मारेकोमा जनसागर उर्लिएर विरोध भइरहेको छ । श्वेत प्रहरीले हत्या गरेको भन्ने कुरा आईरहेको छ । ‘छुवाछुत कहाँ छैन?’ भनेर सरकार आनन्दले बसिरहेको छ । तर अपराध गरेपछि सजाय नदिने चलन भने हामीकहाँ छ । घटनालाई राजनैतिकरण गरेर ओझेल पार्ने चलन हामीकहाँ छ । ठिकै त हो, दलितले ठूलो जात ताकेपछि त्यस्तै हुन्छ भनेर चुप लाग्ने चलन हामीकहाँ छ । कोही डरले समाजका अधिकांश जता जान्छन्, त्यतै जाने चलन छ ।
कहिले जनयुद्धको नाममा । कहिले राणाशासनको नाममा । कहिले मधेस आन्दोलनको नाममा त कहिले परिवर्तनको नाममा आन्दोलनहरु भइरहेकै थियो । भइरहन्छन् पनि । तर जति युद्ध भए पनि चेतना ज्युँको त्यहीँ छ । परिवर्तनको नाममा हजारौँले रगत बगाए पनि अझै परिवर्तन हुनलाई अटेर गरेर भेरीमा रगत बगिरहेकै छ

रातो रंग भनेको जिन्दगी हो । त्यहीं जिन्दगी जातियताको कारण भेरीमा बगिरहेको छ । यस्ता कैँयौ घटनाहरु हामीलाई थाहै छैन । मिडियासम्म आइनपुग्दै सामसुम्म भइसक्छन् छुवाछुतका बर्वरताहरु । हिन्दु परम्परामा बिबाह गर्दा रातो सिन्दुर दिईन्छ । रातो रंग लगाएर जिन्दगी रंग्याउँछन् स्त्रीहरु । बुढा परलोक भएपछि सेतो रंग पहिरिन्छन् ।

साथीहरु, के रातो रंगले तिमीहरुको जिन्दगी रंग्याएको छ ? खुशी छौ ?
कि तिमीहरुको रातो रंग नवराज वि.क सँगै भेरीमा बगेको छ ? तिमीहरुले छानेको रातो रंगले नै सिउँदो रंग्याइरहेछौ कि अरु कसैलाई खुशी बनाउने बाध्यताले रातोले रंगिएका हौ ? जिन्दगीका कति रंगहरु आँसुसँगै बगाएका छौ ? मलाई बताईदेऊ न । म कुन रंग छानुम् ?
स्त्रीहरुले कि रातो रंग देख्न पाउँछन् कि सेतो ? जिन्दगीमा ईन्द्रेणीको सातै रंग महसुस गर्ने, सातै रंगले रंगिएका स्त्रीहरु कति होलान् ?

के रंग भनेको रातो मात्रै हो ? जीवन भनेको रातो रहनु मात्रै हो ? अनि जिन्दगीका अरु रंगहरु नि ? उच्च जातका त्यो पनि पुरुषहरुले मात्रै देख्ने र अनुभव गर्ने हो कि ? कि के हो रंगको परिभाषा ? विभेदको अन्त्य नभइकन समानताको ईन्द्रेणी कुन आँखाले देख्न सक्ला ? कहिले देख्न पाउने हो समानता र स्वतन्त्रताको ईन्द्रेणी ?

प्रतिक्रिया दिनुहोस्