Logo

काँग्रेसद्वारा महाधिवेशन कार्यतालिका हेरफेर



Spread the love

२३ असार, काठमाडाैँ – नेपाली काँग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित पार्टीको १४ औँ महाधिवेशनको मिति कायम राख्दै समायोजन, क्रियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ ।

काँग्रेसको सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समायोजन हुन बाँकी पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि आगामी साउन १० तथा नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरण अवधि यही असार २५ गतेदेखि साउन मसान्तसम्म तोक्ने निर्णय गरेको हो ।

यसैगरी क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशन गरी केन्द्रमा पठाउने अवधि आगामी भदौ मसान्तसम्म, जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजूरी र नवीकरणमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अवधि असोज १५ गतेसम्म र उजूरीमाथि क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि असोजसम्म तोक्ने निर्णय गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी÷पुनरावेदन दिइसक्नुपर्ने अवधि कात्तिकसम्म, उजूरी÷पुनरावेदनमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि मङ्सिर १५ गतेसम्म, नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई बुझाइसक्नुपर्ने अवधि मङ्सिर २५ गतेभित्र र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि मङ्सिर मसान्तभित्र तोकिएको छ ।

त्यसैगरी गाउँनगर वडा अधिवेशन पुस ६ गते, गाउँनगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन माघ ६ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंँमा गर्ने निर्णय गरिएको छ ।

बैठकले सङ्घीय संसद्मा विभिन्न महत्वपूर्ण विधेयक र प्रस्ताव विचाराधीन रहेको तथ्यलाई उपेक्षा गरी संसद्को अधिवेशन अन्त्य गरिएको भनी आपत्ति जनाएको छ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक जीवनमा उत्पन्न द्वन्द्वसँग काँग्रेस निरपेक्ष रहेको स्पष्ट पार्दै बैठकले गत निर्वाचनमा प्राप्त जनादेशबमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध रहेको जनाएको छ ।

बैठकले खेतीको मौसममा कृषकलाई तत्काल मलबीउ उपलब्ध गराउन र राहत प्याकेजको व्यवस्था गर्न तथा कोभिड—१९ संक्रमणको रोकथाम र तयारीका साथै बन्दाबन्दीबाट आर्थिक–सामाजिक जीवनमा देखापरेको समस्या समाधानमा सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्