Logo

पास्नीको भोज खाएका मानिसहरू बिरामी, गम्भीर २५ जनालाई अस्पताल पठाइयो



Spread the love

२५ असार, खोटाङ पास्नी कार्यक्रमको सामूहिक भोज खाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङक स्थानीय बासिन्दा बिरामी परेका छन् । लफ्याङस्थित तित्रीबोटेका सुजन राईकी छोरीको बुधबार अपराह्न् आयोजित पास्नीको भोजमा सहभागी ३० स्थानीय बासिन्दा भोज खाएको केही समयपछि बिरामी भएका हुन् ।

बिरामीलाई ट्रयाक्टर रिजर्भ गरेर उपचारका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको वडाध्यक्ष निर्मल राईले बताए । “भोज खाएको केही समयपछि बान्ता हुने, पेट दुख्ने, रिँगटा लाग्ने र ढल्ने लक्षण देखिएको छ”, उहाँले भन्नुभयो, “गम्भीर किसिमका २५ जनालाई उपचारका लागि अस्पताल पठाइएको हो ।”

भोज खाएर घर फर्किएका व्यक्तिसमेत बिरामी रहेको स्थानीय बासिन्दाले बताएका छन् । उनीहरुको पनि खोजी भइरहेको जनाइएको छ । स्थानीयवासीका अनुसार बिरामी हुनेमा अधिकांश बालबालिका छन् । उनीहरुले सामूहिक भोजमा पकाइएको मासुभातसँगै ट्याङ जुस (पानीमा घोलेर) प्रयोग गरिने पेय पदार्थ सेवन गरेका थिए ।

भोजमा मादक पदार्थ (जाँडरक्सी) सेवन गर्ने व्यक्तिलाई केही नभएको स्थानीयबासीले बताएका छन् । उपचारका लागि नगरपालिकाको स्वास्थ्य शाखाबाट आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताए । भोजमा सहभागी स्थानीय बासिन्दा बिरामी हुनाको कारण पत्ता लाग्न बाँकी रहेको नगरप्रमुख रिजालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्