Logo

पहिरोमा परी ११ जनाको मृत्यु, १२ बेपत्ता



Spread the love
फाइल तस्बीर

२६ असार, पोखरा – बिहीबार राति परेको पानीका कारण गण्डकी प्रदेशमा ११ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।अविरल रुपमा परेको पानीका कारण पहिरोमा परी कास्कीमा सात, लमजुङमा तीन र म्याग्दीमा एक जना गरी ११ जनाको मृत्यु भएका छन् । पहिरोमा परी १६ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार बाढीपहिरोका कारण म्याग्दी जिल्लामा १२ जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा घरमाथिबाट आएको पहिरोले घरपुरिँदा घरधनी ५० वर्षीय टङ्कबहादुर थापा, निजकी श्रीमती ४५ वर्षीया सोममाया थापा, तनहुँ दमौलीका आठ वर्षीय शीतल श्रेष्ठ, ११ वर्षीया इशिका थापामगर र ६ वर्षीय सुवान थापाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् ।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजाको मेलबोटमा पहिरोले घर पुरिँदा ७० वर्षीय हिमकली अधिकारी र पोखरा–२६ पैतेडाँडामा घर पुर्दा ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–६ स्थित रापुखोलामा आएको बाढीले बगाएर ठाँडाखानीका ५० वर्षीय नलिमान छन्त्यालको मृत्यु भएको छ भने धवलागिरी गाउँपालिका–६ का चार घर पुरिँदा १० जना तथा मालिका गाउँपालिका–७ निमदुलेका ४० वर्षीया विष्णु पौडेल र चार वर्षीया छोरी ईशा पौडेल बेपत्ता भएका छन् ।

प्रहरी नायब निरीक्षक रेग्मीका अनुसार लमजुङ जिल्लाको बेँसीशहर नगरापलिका–७ सातबिसेस्थित पहिरोले घर पुरिँदा घरधनी ३२ वर्षीय दीपक तामाङ, निजकी श्रीमती २६ वर्षीय बिमाया तामाङ र ९ वर्षीय छोरा छैवाङ तामाङको मृत्यु भएको हो । सोही पहिरोका घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोमा परी विभिन्न जिल्लामा बङ्गुर, बाख्रा, भैँसी, गोरुलगायतका २३८ भन्दा बढी चौपाया मरेको प्रहरीले जनाएको छ । वर्षाका कारण अधिकांश सडक अवरुद्ध हुनुका साथै किसानले खेतमा लगाइएको धानबालीमा समेत ठूलो क्षति पुगेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्