Logo

सुदूरपश्चिममा ३३ प्रतिशत सङ्क्रमित निको



Spread the love

२९ असार, काठमाडाैँ – सुदूरपश्चिममा कोरोना सङ्क्रमित भएकामध्ये ३३.९५ प्रतिशत निको भएर घर फर्किसकेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार साँझसम्म यहाँका नौवटै जिल्लामा गरेर तीन हजार ७५८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

यहाँ पहिलोपटक गत चैत दोस्रो साता दुबईबाट घर फर्किएका कैलालीको धनगढीका एक युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । निर्देशनालयका अनुसार हालसम्म कोरोना पुष्टि भएका एक हजार २६७ जना निको भएर घर फर्किसकेका छन् । पिसीआर विधिबाट कोरोना परीक्षणका लागि २६ हजार ९९१ जनाको स्वाब सङ्कलन गरिएकामा शनिबारसम्म ९११ जनाको रिपोर्ट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँ कोरोना जित्नेको दायरा बढ्दै गइरहेको बताए । “अन्यत्रभन्दा यहाँ निको भएर जाने अवस्था निकै सन्तोषजनक छ”, उनले भने, “हामीले यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।”

उनले सुदूरपश्चिममा क्वारेन्टिनमा रहेका नागरिकको पिसिआर विधिबाट परीक्षणका लागि नमूना सङ्कलन भइरहेको बताए । यहाँका स्थानीय तहका क्वारेन्टिनमा हाल चार हजार ९७३ जना भारतलगायत बाहिरबाट आएर बसिरहेका छन् । “जेठमा यहाँका क्वारेन्टिनमा बस्नेको सङ्ख्या ६६ हजारभन्दा बढी थियो”, निर्देशक डा अवस्थीले भने, “अहिले भारतबाट आउनेको सङ्ख्यामा पनि कमी आएको छ ।”

उनले भिडिएमलगायतका स्वास्थ्य उपकरण अभावका कारण स्वाब सङ्कलनमा केही ढिलाइ भइरहेको बताए । “कैलाली जिल्लाका क्वारेन्टिनमा रहेकाको स्वाब सङ्कलन आज करिब ७० प्रतिशत सकिन्छ”, अवस्थीले भने, “अन्य जिल्लामा पनि सङ्कलन कार्य भइरहेको छ ।” उनले भारतबाट स्वदेश फर्किएर क्वारेन्टिनमा बसेका कम्तीमा एक हप्तापछि स्वाब सङ्कलन गर्ने गरेको बताए ।

“क्वारेन्टिनमा बस्नासाथ स्वाब सङ्कलन गर्न मिल्दैन”, उनले भने, “कम्तीमा सात दिन भएकै हुनुपर्छ ।” निर्देशनालयका अनुसार सङ्क्रमितमध्ये दुई हजार ८९० पुरुष र ८६८ महिला रहेका छन् । सङ्क्रमितमध्ये ८१ जना मात्रै विभिन्न अस्पतालमा उपचाररत छन् भने बाँकी स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिन र होम क्वारेन्टिनमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्