Logo

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मालिका गाउँपालिकामा भएका कामहरू



Spread the love

३ साउन, गुल्मी – आर्थिक वर्ष २०७५/७६ देखी नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरि एक महिना भए पनि बेरोजगार मजदुरलाई रोजगारी दिने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालनमा ल्यायो ।

सञ्चालनकै वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमले धेरै आलोचना खेप्नु पर्यो । कतै बेल्चाले मकै खनेका त कतै झार गोडेका तस्बिरहरु सामाजिक सञ्जालमा एकाएक भाइरल भए । लक्ष्य अनुरुप काम नभएको भन्दै ब्यापक आलोचना भयो । त्यस्तै गुल्मी जिल्लाले पनि केहि आलोचना खेप्नु पर्यो व्यक्तका निजि पशु फर्ममा मजदुरहरुलाई काम लगाईएको आरोप समेत आईलाग्यो । तर आर्थिक वर्ष २०७६/७७ मा भने गुल्मीका केहि स्थानीय तहमा उदाहरणीय तथा उत्कृष्ट काम भएका छन् ।


गुल्मीको पश्चिमी क्षेत्रमा पर्ने मालिका गाउँपालिका भौगोलिक दृष्टिले पछाडी परेको स्थानीय तह हो ।
कतिपय वडामा अझै पनि विकासका पुर्वधार पुग्न सकेका छैनन् । यस्तो अवस्थामा गत आर्थिक वर्षमा मालिका गाउँपालिकाका सबै वडामा उल्लेखनीय कार्य भएका छन । कतै पर्यटकीय पैदल मार्ग त कतै पोखरी निर्माण । पुनः निर्माण तथा गोरेटे बाटोलाई उच्च प्रथामिकता दिँदै काम गरिएको छ । मालिका गाउँपालिकामा २३९ जना मजदुरले रोजगार पाएको रोजगार शाखाका संयोजक खेमराज गैरेले जानकारी दिए । एक महिनासम्म मजदुरले रोजगारी पाएका छन् । दैनिक ५ सय १७ रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

कुन वडामा के काम भए ?

मालिका गाउँपालिकाको वडा नम्बर एक नेटामा पर्यटकीय प्रबर्द्धनलाई जोड दिइएको छ । गाउँपालिकाकै पर्यटकीय स्थानको रुपमा पहिचान बनाउदै गएको एतिहासिक तथा धार्मिक स्थल तिखिचुली डाडासम्म पुग्नको लागि करिब ३०० मिटर(सिढी ) ट्र्याक खोलिएको छ भने वडाको आफ्नो विकास बजेट १ लाख ५० हजार बाट सिढी निर्माण गरिएको छ ।

पर्यावरणीय सन्तुलनको ख्याल गर्दै र एतिहासिक संरचना नबिग्रियोस भनेर पैदल मार्ग निर्माण गरिएको वडा अध्यक्ष इन्द्र बहादुर घर्तीले सल्लेरी खबरलाइ बताए । यस वडाबाट २३ जनाले रोजगारी पाएका थिए ।

वडा नम्बर दुई दर्लिङमा गोरेटो बाटो मर्मतलाइ उच्च प्रथामिकताका साथ काम गरिएको छ । वडा भित्रका भित्री गोरेटो बाटो तथा छिमेकी वडासँग जोडिएका गोरेटो बाटो मर्मत गरिएको वडा अध्यक्ष युद्धविर घर्तीले जानकारी दिए । यस वडाबाट ३४ जनाले रोजगारी पाएको वडा अध्यक्ष घर्तीले उल्लेख गरे ।

त्यस्तै वडा नम्बर तीनमा पर्यटकीय मार्गलाई जोड दिइएको छ । म्याले पोखरी, बजनी सैरे दहसम्म सिढी निर्माण प्रक्रिया थालिएको र यो वर्ष दुई सय मिटर सिढी निर्माण गरिएको वडा अध्यक्ष राज कुमार विश्वकर्माले सल्लेरी खबरलाई बताए ।

उनले भने, “यो वर्ष बजेट तथा स्रोत साधनले पुरा काम गर्न सकिएन आउँदो वर्ष काम सक्ने लक्ष्य राखिएको छ । जुन पैदलमार्ग सम्पन्न भएसँगै पर्यटकीय स्थान सैरे पोखरासम्म पुग्नका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुनेछ ।

वडा नम्बर चार अर्खबाङमा पनि पर्यटकीय क्षेत्रलाई जोड दिइएको छ । एतिहसिक तथा प्रदेश पाँचकै धार्मिक स्थलमालिका मन्दिरसम्म पुग्नका लागि १५ सय मिटर पैदल मार्ग निर्माण गरिएको वडा अध्यक्ष हिरालाल अर्यालले जानकारी दिए । उक्त वडामा २८ जनाले रोजगारी पाएका थिए ।

वडा नम्बर पाँच छापहिलेमा मोटर बाटो तथा गोरेटो बाटो मर्मत गरिएको वडा अध्यक्ष श्यामलाल गिरिले जानकारी दिए । वडा भित्रका नागरिकको सहजताका लागि गोरेटो बाटो विस्तारमा जोड दिएको उनले बताए ।

यता वड नम्बर छ अर्जैमा भने अलि फरक काम गरिएको छ । यस वडा पोखरी निर्माण तथा पुनः निर्माण ,पानीका मुहान संरक्षण गर्ने कार्य गरिएको वडा अध्यक्ष शोभाखर गिरिले जानकारी दिए ।
पाँच वटा पोखरी पुनः निर्माण र २ वटा नयाँ निर्माण गरिएको छ भने पाँच वटा खानेपानीका मुहान संरक्षण गरिएको वडा अध्यक्ष शोभखर गिरिले जानकारी दिए । साथै पौवादेखि रैनादेवी मन्दिरसम्म पैदल मार्ग निर्माण गरिएको छ ।

त्यस्तै वडा नम्बर सात घमिरमा गोरेटो बाटो मर्मतलाई जोड दिएको छ । वडा भित्रसँगै छिमेकी वडा तथा गाउँपालिका जोड्ने गोरेटो बाटो मर्मत गरिएको वडा अध्यक्ष वेद प्रसाद पन्तले जानकारी दिए । वर्षातको समयमा नागरिकहरुले आवतजावत गर्न कठिनाई भोगेका कारण गोरेटो बाटो विस्तारमा जोडन दिएको बताईएको छ ।

त्यस्तै यता वडा नम्बर आठ मर्भुङ्गमा पनि गोरेटो बाटो विस्तारलाई जोड दिईएको छ । वडा भित्रका तीन वटा गोरेटो बाटो विस्तार गरिएको वडा अध्यक्ष टिका जिसिले जानकारी दिए ।

मजदुर भन्छन कम्तीमा चार महिना काम दिउ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक महिना रोजगार पाएका नागरिकले कामको अवधि बढाउनु पर्ने माग राखेका छन् । मालिका गाउँपालिका वडा नम्बर तीनका नर बहादुर बिकले सल्लेरी खबरसँग भने, “हामिले यस्तो काम कम्तीमा पनि चार महिना पाउनु पर्छ । हामी काम खोज्न अन्यत्र जादैनौँ” । उनले थपे, “आठ महिना हामी खेतीपाती गरेर जिविकोपार्जन गर्छौ भने बाँकी चार महिना यहि काम पाए भारत जान पर्ने थिएन । एक महिना भए नि काम पाउदा म सारै खुसी छु ।”

यता मालिका गाउँपालिकाले पनि यो आर्थिक वर्ष केहि नयाँ तथा नौला योजना अघि सारेको छ । क्षमतामा आधारित रोजगार कार्यक्रमको लागि दुई करोड रकम विनियोजन गरिएको प्रवक्ता शोभाखर गिरिले जानकारी दिए । सल्लेरी खबरसँग कुराकानी गर्दै प्रवक्ता गिरिले भने, “अहिले कोरोना भाइरसका कारण थुप्रै दाजुभाइ दिदिबहिनीले आफ्नो रोजगारी गुमाएर फर्किनु भएको छ । उहाँहरुलाई स्थानीय तहमै रोजगारी दिने उद्देश्यका साथ रकम विनियोजन गरेका छौँ । साथै यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि पनि ५१ लाख ७० हजार रकम विनियोजन भएको ।”


त्यस्तै पाँच लाख लगानि बराबरको कृषि व्यवसाय गर्न किसानलाई गाउँपालिकाले बिना ब्याज ऋण उपलब्ध गराउने आँफुहरुको योजना रहेको उनले बताए । मालिका गाउँपालिकाले किसानलाई उत्पादनमा आधारित अनुदान समेत दिँदै आएको छ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्