Logo

काठे पुलबाट खसेर १५ वर्षीय किशोरको मृत्यु



Spread the love

८ साउन, सिमकोट – जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबार काठे पुलबाट खसेर एक जना किशोरको मृत्यु भएको छ । पुलबाट खसेर खोलामा परेर मृत्यु हुनेमा अदानचुली–५ करगाईका १५ वर्षीय गोपाल रोकाया रहेको अदानचुली–४ का वडा सदस्य देवखर जैसीले जानकारी दिए ।

बुधबार भैंसी चराउन गएका रोकाया भैँसी चराएर मध्याह्न १२ बजे घर फर्किने बेलामा सिस्ने खोला भन्ने ठाउँमा रहेकोे काठेपुलबाट खसेपछि खोलाले बगाएको घटनास्थलमा पुगेका वडा सदस्य जैसीले जानकारी दिए । घटनाको खबर पाउनेबित्तिकै केही जनप्रतिनिधि र श्रीनगर प्रहरी चौकीको टोली पनि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए । उनका अनुसार, खोलामा खसेका बालक रोकायाको खोजीका लागि ताँजकोटको कवाडी प्रहरी चौकीबाटसमेत सुरक्षाकर्मी झिकाइएको थियो ।

सुरक्षाकर्मी, जनप्रतिनिधिसहित स्थानीय नागरिकको पहलमा खोजी गरेर केही समय अघिमात्रै शव भेटेको घटनास्थलमा भएका वडा सदस्य जैसीले बताए । किशोर रोकायाको शव पानीबाट निकाले पनि उनको मुचुल्का हुन बाँकी रहेको हो । गएको सोमबार राति अत्यधिक वर्षा भएको थियो । सिस्ने खोलामा पनि हिउँदे मौसममा सानो पानी रहने हुनाले सोही ठाउँमा काठ राखेर खुलारुपमा आवतजावत गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्