Logo

एकै पोखरीमा डुबेर ३ बालकको मृत्यु



Spread the love

८ साउन, बनियानी – झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

बुधबार दिउँसो घरबाट खेल्न निस्किएका अंकुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे पोखरीमा डुबेर मृतावस्थामा फेला परेका थिए । उनीसँगै बेपत्ता भएका करण र अर्जुनको खोजतलास गर्ने क्रममा आज सोही पोखरीभित्र गाडिएको अवस्थामा भेटिएका थिए । दुवै बालकको शव निकालिएको प्रवक्ता थापाले बताए । उक्त पोखरीमा माछा मार्न र पौडी खेल्न तीनै जना बालकसँगै गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पोखरीमा डुबेर एकै गाउँका तीन बालकले ज्यान गुमेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले खाल्डो दलदलमा परिणत भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । मृतक अङ्कुश एसियन स्टार बोर्डिङ स्कूल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्