Logo

दाइ भन्नेले नै एसिड छ्यापेपछि…



Spread the love
दाइ भन्नेले नै एसिड छ्यापेपछि...

काठमाडौं । कीर्तिपुर अस्पतालको बर्न वार्डको बेड नम्बर ३१५ को छेउमा बसेर शुक्रबार मुस्कान खातुन र जेनी खड्का एसिड आक्रमणको सिकार भएकी पवित्रा कार्कीलाई सम्झाइरहेका थिए । कुनै समय एसिड आफूहरूले कहालीलाग्दो घटना भोगेका मुस्कान र जेनीले पवित्रालाई हौसला दिने प्रयत्न गरिरहेका थिए ।

बिहीबार राति ७ः५५ बजे सीतापाइलास्थित सेल्सबेरीबाट दही र चिउरा लिएर घर फर्किने क्रममा उनलाई चिनेजानेकै व्यक्तिले घरको गेट नजिकै ढुकेर बसेर कार्कीमाथि एसिड छ्यापेका थिए । अनुहारमा एसिड परेपछि आफूले दौडिँदै बाथरुममा पुगेर अनुहार पखालेको उनलाई राम्रै सम्झना छ ।

‘एसिडले पोलेपछि म हतार–हतार गेट खोलेर घर भित्र पसेँ । माथि एक तल्ला चढेर हातमा भएको दही, चिउरा फालेर बाथरुममा गएर पानीले मुख पनि धोएँ,’ उनले भनिन्, ‘पीडाले भाउन्न भएपछि कराउँदै गेटबाहिर आइपुगेछु । त्यतिबेला अरूहरू जम्मा भइसकेका थिए । छेउकै घरमा बस्ने दाइहरूले एम्बुलेन्स बोलाएर अस्पताल लग्नुभयो । त्यहाँ उपचार सम्भव नभएपछि यहाँ ल्याइएको छ ।’

पीडामा कराउँदै बाहिर निस्केकी पवित्रालाई सुरुमा छिमेकीहरूले नजिकैको मनमोहन अस्पताल लगिदिएका थिए । त्यहाँ उपचार सम्भव नहुने भएपछि कीर्तिपुर अस्पताल रिफर गरिएको हो । एसिडले पवित्राको अनुहारको दायाँ गाला पोलिएको छ भने कपाल, घाँटी र हातमा हल्का छिटा परेको देखिन्छ । मास्क लगाएको हुनाले उनको बायाँ भागमा भने एसिड पर्नबाट जोगिएको छ । हातमा साउने मेहन्दी छ, मेहन्दी उनले नाडीसम्मै लगाएकी छन् । एसिडको घाउले मेहेन्दी छोपिएको छ ।

एक युवकको सनकले झन्डै ज्यान नै गुमाएकी १५ वर्षीया मुस्कान बिहान ८ बजे नै पवित्राको हालखबर बुझ्न अस्पताल पुगेकी थिइन् । उनको पनि सोही अस्पतालमा लामो समय उपचार गरिएको थियो । २०७६ भदौमा विद्यालय जाने क्रममा मुस्कानलाई पनि एसिड प्रहार गरिएको थियो । उनको अनुहार, छाती, पाखुराको अधिकांश भाग एसिडले जलेका छन् । कलिलैमा शरीरभर आजीवन बोकेर हिँड्नुपर्ने खत लागे पनि त्यसको दागले उनलाई

निकै बलियो बनाएको छ । उनी हाल आफूजस्तै समस्या भोगेकाहरूलाई हौसला दिन सक्ने भएकी छन् ।

यस्तै जेनी पनि एक सन्कीकै सनको सिकार भएकी थिइन् । ती दुवैको हिम्मतिला बोलीले पवित्रालाई पीडासँग जुध्न हौस्याइरहेका थिए । जेनी र मुस्कानको साथले पवित्रा पनि केही सम्हालिएको जस्तो देखिन्थिन् ।

‘सरकारले जबसम्म एसिडको बिक्री वितरण रोक्दैन, तबसम्म यस्ता घटना भइरहन्छन् । एसिडको बिक्रीमा कडाइ गर्नैपर्छ,’ मुस्कानले भनिन्, ‘म यहाँ पवित्रा दिदीलाई मोटिभेट गर्न आएकी हुँ ।’

उनी भन्दै थिइन्– ‘दाग छिटो सन्चो हुँदैन त्यसैले अगाडिको कुरा सोच्नुपर्छ । पछि के गर्ने र बन्ने भनेर सोच्नुपर्छ । आफू रोएर अपराधीको जित कहिल्यै हुन दिनु हुँदैन । बलियो भएर बस्नुपर्छ ।’ छेउमै रहेकी जेनी पनि पवित्राको हात समातेर उनलाई ‘बलियो हुने कोसिस गर’ भनेर थप्थपाइरहेकी थिइन् ।

‘कसैले सम्झाएर सम्झिनुभन्दा पनि आफैंले आफैंलाई मोटिभेट गर्नुपर्छ । अरुले सम्झायो भने झिँझो फिल हुन्छ । त्यसैले आफैंलाई मोटिभेट गर है,’ उनी भन्दै थिइन् ।

छेवैमा रहेकी माइली दिदी गंगा भट्टराईको हात समातेर पवित्रा भने टोलाइरहेकी थिइन् । एसिड जलन र अनगिन्ती सुई घोचेको पीडाले रातभरि सुत्न नसकेको उनले बताइरहेकी थिइन् । निद्रा हराएका आँखा राता थिए र डिल सुन्निएको देखिन्थ्यो । हालखबर बुझ्न अस्पताल पुगेका साथीभाइ देख्दा उनी झन् बेचैन हुन्थिन् र आँखाबाट लगातार साउने झरी झैं आँसु बर्सिरहेका थिए । उनी बेलाबेला भक्कानिएर रुन्थिन् ।

१२ कक्षाको पढाइ सिध्याएर बसेकी उनी होटल हायातमा एकाउन्टेन्टका रूपमा काम गर्दै आएकी छन् । लकडाउनपश्चात् होटल बन्द रहेकाले उनी घरमै थिइन् । बानेश्वरमा दाइभाउजूसँग बस्दै आएकी उनी दिदीको घर बाफलमा आएको एक महिनाजति मात्रै भएको थियो । पवित्रालाई एसिड छ्यापिएको घटनाको खबर ओखलढुंगाको गाउँमा पुगेदेखि आमा बेहोस छिन् ।

‘केही सोच्न सक्ने अवस्थामा छैन । खर्च जुटाउने कसरी हो ?,’ दिदी गंगाले आँखा टिलपिल पार्दै भनिन्, ‘मेरो बहिनीको यस्तो अवस्था गराइदिए । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्छ ।’कान्तिपुर दैनिकमा बुनु थारूले खबर लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्