Logo

रोजगारी गुमाएर फर्किएकालाई मालिका गाउँपालिकाले गाउँमै रोजगार दिने



Spread the love

१३ साउन, गुल्मी – गुल्मीको मालिका गाउँपालिकाले कोरोना भाइरसका कारण रोजगारी गुमाएर गाउँ फर्किएकालाई आँफुहरु गाउँमै रोजगार दिन सक्षम रहेको बताएको छ । आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रममा रोजगार गुमाएर गाउँ फर्किएकालाई गाउँमै रोजगार दिने उद्देश्यले तीन करोड रकम विनियोजन गरिएको मालिका गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर ६ का वडा अध्यक्ष शोभाखर गिरीले बताए ।

गाउँमै रोजगारी दिन सक्ने के छन् त आधार ।

गाउँपालिकाले विभिन्न आधार देखाउदै आँफुहरुले गाउँ फर्किएका सबैलाई रोजगारी दिने दाबी गरेको छ । मालिका गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर छ का वडा अध्यक्ष शोभाखर गिरिले सल्लेरी खबरलाई भने, “हाम्रा गाउँपालिकामा भारत सहित तेस्रो मुलुकबाट सात जना गाउँ आउनु भएको छ । तर हामी १५ सय जनालाई रोजगारी दिन सक्ने अवस्थामा छाैँ ।”

गाउँपालिकाले डोजोर तथा ठुला मेशिन प्रयोग नगरी विकास निर्माणका कार्यमा स्थानीयलाई नै प्रयोग गर्नका लागि ३ करोड रकम विनियोजन गरेको छ । जुन रकमबाट सडक विस्तार तथा मर्मत ,सिचाइँका आयोजना , खानेपानीका आयोजना निर्माण गर्ने गाउँपालिकाको उद्देश्य रहेको छ ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५१ लाख ७० हजार रकम गाउँपालिकामा छुट्टिएको छ भने यस कार्यक्रमबाट तीन सय जनाले रोजगार पाउनेछन् । गाउँपालिकाले गाउँमै उद्यम गर्नेलाई पनि राम्रो अवसर दिएको छ । व्यवसाय गर्नेहरुको लागि निर्ब्याज ऋण उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष रित बहादुर थापाले भने, “तपाईंहरु ढुक्कले ऋण लिएर व्यवसाय गर्नुस् । तपाईंको ऋणको ब्याज गाउँपालिकाले तिरिदिन्छ ।”


यस्तै मालिका गाउँपालिकाले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन र किसानलाई उत्पादनमा प्रेरित गर्ने उद्देश्यका साथ सुरु गरिएको उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई पनि यस वर्ष निरन्तरता दिने भएको छ । सो कार्यक्रमका लागि ३० लाख रकम विनियोजन गरिएको छ ।

उत्पादनमा आधारित अनुदानबाट किसानले आफ्नो उत्पादन अनुसार अनुदान पाउने व्यवस्था गरिएको छ । जसमा मासुमा प्रतिकेजी १ सय , दुध मा प्रति लिटर रू ५, प्रति अण्डा दुई रुपैयाँका दरले अनुदान दिने र तरकारीमा प्रजातिमा हेरिकन अनुदान दिँदै आएको प्रवक्ता गिरिले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्