
२० साउन, काठमाडौं । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो ।
अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ । सीमा क्षेत्रमा सवारी साधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन् । “विगतमा यतिका भारतीय सुरक्षाकमीको सवारी साधन यस सडकखण्डमा आउँदैन थिए”, व्यास–२ का मुकेश बुढाथोकीले भने, “अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् ।
भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा गत असार महिनामा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गालीगलौज समेत गरेका थिए ।” नेपाल सरकारले घाटिबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयवासी शेरसिंह धामीले जानकारी दिए । नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै आएको छ ।