Logo

मालिकामा उत्पादन अनुसार नगद उपहार : १२६ जना किसानले पाए १६ लाख



Spread the love

२० साउन, गुल्मी – गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाले सुरु गरेको उत्पादनमा आधारित अनुदान कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ ।

किसानको उत्पादन अनुसार कृषिजन्य वस्तुमा गाउँपालिकाले अनुदान दिँदै आएको छ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा पनि १२६ जना किसानले १६ लाख भन्दा बढी नगद अनुदान पाएका छन ।

अनुदान पाउदा किसान मख्ख

आँफुले नसोचेको पैसा पाउदा किसान निकै हर्षित बनेका छन् । मालिका गाउँपालिका वडा नम्बर छ अर्जैकी दीपा अर्यालले सबै भन्दा धेरै अनुदान पाइन् । उनले आर्थिक वर्ष २०७६/७७ मा तीन सय १० केजि मासु बेची गाउँपालिका बाट ३१ हजार रकम प्राप्त गरेकी छन् । उनले सल्लेरी खबरलाई भनिन् “पहिला निर्वाहमुखी ढंगले बाख्रा पाल्थे स्थानीय सरकारले सहयोग बढाउँदै लग्यो अनि मैले पनि बाख्रा बढाए । मैले सोचेकी पनि थिईन आफ्ना बाख्रा बेच्दा पनि गाउँपालिकाले यति धेरै पैसा दिन्छ भनेर ।”

उनले थपिन्, मेरा छोराछोरी तम्घास र काठमाडौ पढ्छन छोराछोरी पढाउने मुख्य स्रोत भनेकै बाख्रा पालन बनेको छ ।”

उनि भन्दा अझ आर्श्चर्य परेकी छन् वडा नम्बर आठकी सरस्वती खड्का । उनले पनि २८५ केजि मासु बेचेर गाउँपालिकाबाट २८ हजार पाँच सय अनुदान पाएकी छन् ।

त्यस्तै गाउँपालिका भरिका १२६ जना किसानले १६ लाख ३४ हजार अनुदान पाएका छन् भने उनिहरु सबै हर्षित छन् ।

उत्पादनमा आधारित अनुदान कार्यक्रमले किसानमा उसाह छाएको छ भने स्थानीय सरकारलाई दायित्व बोध बनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा जम्मा १४ जना किसान अनुदान पाउन योग्य थिए भने आर्थिक वर्ष २०७६/७७ ह्यातै बढेर एक सय २६ पुग्नुले नै कार्यक्रमको प्रभावकारीतालाई दर्शाउछ ।

यसरी पाइन्छ नगद उपहार

गाउँपालिकाको नीति तथा नियम अनुसार १ वर्ष भित्र वडा नम्बर छ अर्जैमा रहेको मिलिजुली कृषि तथा पशु विकास महिल सहकारी सस्थाबाट किसानले आफ्नो उत्पादन बिक्री बितरण गरेमा अनुदान पाईने ब्यवस्था छ । जँहा किसानले एक वर्षमा १ सय केजि मासु बेचेमा प्रति केजि १०० रुपैयाँका दरले १० हजार अनुदान पाउनेछन् । साथै न्युनतम १०० केजि हुनु पर्नेछ भने त्यस भन्दा बढी भएको खण्डमा उत्पादन अनुसार अनुदान बढ्ने छ । त्यस्तै दुधमा प्रति लिटर पाँच रुपैयाँ , अण्डामा प्रति गोटा २ रुपैयाँ र तरकारीमा प्रजाती हेरिकन अनुदान पाईने व्यवस्था गरिएको गाउँपालिका प्रबक्ता तथा वडा नम्बर छ का वडा अध्यक्ष शोभाखर गिरिले सल्लेरी खबरलाई बताए ।

यस्ता छन् गाउँपालिकाका आगामी योजना

उत्पादनमा आधारित अनुदान कार्यक्रमले किसानमात्र नभएर स्थानीय सरकार पनि निकै खुसी छ । उत्पादनप्रति किसानको चासो बढदै जाँदा गाउँपालिकाले पनि नयाँ–नयाँ योजना बनाएको छ ।
यस वर्ष गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रमको लागि ३० लाख रकम विनियोजन गरेको छ । त्यस्तै गाउँमै उद्यम गर्ने व्यवसायीलाई बिना ब्याज १० लाख रकम ऋण उपलब्ध गराउने समेत निर्णय गरेको छ ।

सोमबार उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष रित बहादुर थापा, उपाध्यक्ष देवा अर्याल ,प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारी तथा वडा नम्बर छ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाखर गिरि साथै सहकारीका पदाधिकारीको सहभागीता रहेको थियो । उनिहरुको एउटै स्वर थियो, “किसान उत्पादनमा लाग्नुस् । हामी तपाईंको साथमा छौँ ।”

गाउँपालिका अध्यक्ष रित बहादुर थापाले भने “तपाईको उत्पादन अनुसार हामी अनुदान दिन तत्पर छौँ । यो वर्ष पनि गाउँपालिकाले ३० लाख रकम विनियोजन गरेको छ ।”

त्यस्तै उपाध्यक्ष देवा अर्यालले पनि महिला दिदिबहिनिलाई धन्यवाद दिदै खुसि लागेको बताइन् । महिला दिदिबहिनीले सम्मान सहित नगद पैसा पाउँदा समाजमा पुरुषले सरह महिलाले काम गर्न सक्छन् भन्ने उदाहरण महिलाले दिएको उनको बुझाई छ ।

प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले पनि यस कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लैजाने प्रतिबद्धता जाहेर गरेका छन् । उनले भने, “उत्पादन गर्नुस् । तीस लाख होइन हामि करोडौं रकम दिन तयार छौँ । तपाईंहरुले उत्पादन गरि हामिलाई अनुदान दिन बाध्य बनाउनुहोस् ।”

त्यसैगरी प्रवक्ता गिरिले पनि किसानको कर्मप्रति खुलेर चर्चा गरेका छन् । समाजमा होचिने र सानो ठानिने किसानलाई नगद उपहार सहित सम्मान गर्न पाउदा खुसी लागेको छ । उनले भने “हाम्रो समाजमा किसानलाई अझै पनि सानो देख्ने चलन छ । यहि चलनलाई मेट्न र किसानलाई उत्पादनमा हौसला प्रदान गर्नको लागि यसरी सम्मान सहित नगद प्रदान गरिएको हो ।”

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्