२२ साउन,कास्की । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ ।

सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा २०० को सङ्ख्यामा सक्रिय सङ्क्रमित नभएका कारण जोरबिजोर प्रणााली लागू नहुने भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले प्रदेशको कुनै पनि जिल्लामा २०० को हाराहारीमा सक्रिय सङ्क्रमित नरहेको जानकारी दिए ।
निर्देशक शर्माका अनुसार हालसम्म २६ हजार ३८ जनाको स्वाब सङ्कलन गरिएको छ । तीमध्ये २४ हजार ४७२ को नेगेटिभ रिपोर्ट आएको छ । गण्डकीमा बिहीबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५६६ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ३६२ निको भएका छन् । पछिल्लो २४ घण्टामा ३१५ को कोरोना परीक्षण भएको छ भने हालसम्म चार जनाको कोरोनाका कारण मृत्यु भएको छ ।