Logo

एक हप्ता लकडाउन गर्ने गाउँपालिकाको निर्णय



Spread the love

२ भदाै, पाँचथर – जिल्लाको मिक्लाजुङ गाउँपालिकाले सोमबारदेखि एकसाता बन्दाबन्दी (लकडाउन) गरेको छ । समुदायमा समेत कोभिड–१९ सङ्क्रमण फैलिएको मोरङसँग सीमा जोडिएको उक्त गाउँपालिकाले सङ्क्रमण फैलन सक्ने भन्दै एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले एम्बुलेन्स बाहेकका सबै सवारीका साधन सञ्चालनमा रोक लगाएको छ । गाउँपालिकाको सङ्कट ब्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिए ।

औषधि, खाद्यान्न र दूग्ध बाहेक सबै प्रकारका बजार पसल एक साताका लागि बन्द गरिएको गाउँपालिकाले सूचना प्रकाशन गरी जनाएको छ । यस्तै अत्यावाश्यक बाहेक मोटरसाइकल सञ्चालनमा समेत रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले बताए । गाउँपालिकाले अनिश्चित कालका लागि गाउँपालिका भित्र लाग्ने हाट बजार बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले मास्कको प्रयोगलाई अनिवार्य गर्न आह्वान समेत गरेको छ ।

यस्तै कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा भीडभाड हुने क्षेत्रमा भीडभाड हुनबाट रोक्न सम्बन्धित स्थानीय तहहरुलाई आग्रह गर्ने तथा सङ्घीय सरकार र प्रदेश सरकारबाट निर्णय भएअनुसार बन्दाबन्दी हटेपछिको अवस्थामा अपनाउनुपर्ने सावधानी अपनाउने कार्यलाई कडाइ गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्