Logo

आधा मुलुक ठप्प पारेर जोखिम रोक्ने प्रयास !



Spread the love

४ भदाै, काठमाडौँ – कोभिड–१९ सङ्क्रमण रोक्न यतिखेर जिल्ला प्रशासन कार्यालय र स्थानीय तह सक्रिय रुपमा लागेका छन् । झण्डै बन्दाबन्दीको झै प्रशासनले उपयुक्त आदेशहरु जारी गरिरहेका छन् । सरकारले समय समयमा दिएको आदेश र निर्देशन कार्यान्ययन गर्दै प्रशासन सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरी निषेधको आदेश जारी गरी सङ्क्रमण रोक्न क्रियाशिल छ ।

जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्था विश्लेषण गरी प्रशासनले बन्दाबन्दी, जिल्लामा पूर्ण वा आङ्शिक निषेधको आदेश जारी गर्ने अथवा अन्य उपयुक्त र आवश्यक निर्णय गरी कार्यान्वयन गरिरहेका छन् । गृह मन्त्रालयबाट प्राप्त विवरणअनुसार मुलुकको ४० जिल्लामा यस्तो आदेश जारी भइसकेको छ । तथ्याङ्क हेर्दा अहिले मुलुकको आधा भाग ठप्प हुन पुगेको छ ।मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेका अनुसार जसमा अहिलेसम्म काभ्रेपलाञ्चोक, नुवाकोट र कपिलवस्तुले केही स्थान विषेशमा निषेधाज्ञा लागू गरिएको छैन भने अत्यावश्यक बाहेकका सेवा रोकेको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भीडभाड हुने कार्यालयका सेवा, सार्वजनिक यातायात बन्द गरिएको जानकारी दिए । उनले पालिकाहरु आफैँले सेवा बन्द गरेको बताए । सीमित समयमा बजार खुला गर्ने निर्णय गरिएको छ । उनकाअनुसार निषेधको आदेश जारी भने गरिएको छैन । निजी सवारी भने खुला नै छ । अन्य १२ जिल्लाले आङ्शिक निषेधको आदेश जारी गरेको छ भने बाँकी जिल्लाले भने पूर्ण निषेधको आदेश जारी गरेको लामिछानेले बताए ।

सरकारले नेपालमा साउन ६ देखि बन्दाबन्दी सकिएको घोषणा गरेको थियो । सङ्क्रमणको उच्च जोखिम देखिएपछि शुरुमा स्याङ्जा जिल्लाले त्यसको दुई दिन नबित्दै साउन ८ मा लागू हुने गरी अत्यावश्यक बाहेकको सेवा रोकेको थियो । “जोखिम रोक्नलाई हामीले ८ गतेदेखि नै निषेधको आदेश जारी गरेका हौँ”, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले भने, “अहिले हाम्रो अवस्था नियन्त्रणमा आएको छ ।”

उनका अनुसार स्याङ्जामा अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने ३०५ जना सङ्क्रमित छन् । अहिले २० जना आइसोलेशनमा छन् । त्यसपछि साउन १० मा वीरगञ्ज महनगरपालिकामा आदेश जारी भएको थियो । साउन १९ मा पर्सा जिल्ला नै ठप्प भयो ।

सबैभन्दा बढी सङ्क्रमण देखिन थालेको काठमाडौँ उपत्यकाको तीन जिल्लामा भने आजदेखि एक साताका लागि अत्यावश्यक बाहेकका गतिविधिमा निषेधाज्ञा जारी गरिएको छ । त्यसअघि भदौ १ गतेबाट गोरखामा पनि सङ्क्रमण बढ्न थालेपछि सो सम्बन्धी आदेश जारी गरिएको प्रजिअ तीर्थराज भट्टराई बताउँछन् । स्थानीयस्तरबाट दबाब आएकाले निषेधाज्ञा गरिएको र आगामी आइतबार खुलाउने तयारी गरिएको उनले बताए ।

मुख्यत कोभिड–१९ को सङ्क्रमण फैलन नदिन कै लागि स्थानीय तह र प्रशासन सक्रिय भएका हुन् । अहिले ती निकायको भूमिका बढेको छ । सरकार र गृह मन्त्रालयको निर्देशनअनुसार र कानूनले दिएको अधिकार प्रयोग गरी जिल्ला जिल्लामा आफ्नै हिसाबले उपयुक्त आदेश जारी हुने गरेको छ ।

उनका अनुसार ४० जिल्लामा यस्तो निर्णय भइसकेको छ । अन्य जिल्लाले पनि उच्च सावधनी अपनाउँदै काम गरिरहेका छन् । अहिलेसम्म सबैभन्दा बढी प्रदेश नं २ मा सङ्क्रमण फैलिएको छ । पछिल्लो समयमा उपत्यकामा फैलने दर तीव्र गतिमा गइरहेको छ ।

आज प्राप्त विवरणमा उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २०० जना सङ्क्रमित भेटिए । मुलुकभर एक दिनमा ७०० भन्दा बढी पोजेटिभ देखिएको छ । सङ्क्रमित २९ हजार नाघि सकेका छन् । मृत्युदर पनि बढ्दो छ ।

सङ्क्रमण रोक्न सरकारले चैत ११ गते घोषणा गरेको बन्दाबन्दी साउन ६ गतेदेखि अन्त्य गरेको थियो । त्यसपछि मानिसको चहलपहल बढ्दा विस्तारै सङ्क्रमणले गति लिएको थियो । बढी फैलिन थालेपछि कतिपय जिल्लाले साउनको दोस्रो साताबाटै विभिन्न गतिविधिमा निषेधको आदेश जारी गरी कार्यान्वयन गरेको थियो । विस्तारै जिल्लाजिल्लाबाट शुरु भएको आदेश अहिले उपत्यकामा पनि लागू गरिएको छ ।

गृह मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, सप्तरी, धनुषा, बाँके, बारा, पर्सा, महोत्तरी, सर्लाही, जुम्ला, रौतहट, मकवानपुर, धादिङ, रुकुम पश्चिम, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेतमा निषेधको आदेश जारी गरिएको छ ।

यस्तै चितवन, दोलखा, नवलपुरासी पश्चिम, नवलपरासी बर्दाघाट सुस्ता पूर्व, गोरखा, सिन्धुपाल्चोक, बाग्लुङ, सिराहा, मोरङ, दार्चुला, झापा, अघाँखाँची, कास्की, रुपन्देही, स्याङ्जा, बाग्लुङ, पाल्पा, रामेछापलगायत जिल्लामा निषेधको आदेश जारी भएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्