Logo

पारिश्रमिकका लागि क्यानले आइसिसीलाई पठायो खेलाडीको सूची



Spread the love

५ भदाै, काठमाडाैँ – नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक निकासाका लागि क्रिकेट खेलाडीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाएको छ ।

आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको नाम पठाएको हो । सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आईसीसीलाई पठाइएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए ।

यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा पनि खेलाडीको पारिश्रमिक आईसीसीले नै उपलब्ध गराउँदै आएको थियो । आईसीसीले खेलाडीको सूची मागे पछि क्यानले पठाएको उनले उल्लेख गरे ।

आईसीसीले सन् २०१८ मा दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकूद परिषद् (राखेप)मार्फत पठाएको थियो । त्यसयता खेलाडीले आफ्नो पारिश्रमिक पाउन सकेका छैनन् । क्यानले खेलाडीलाई पारिश्रमिकका लागि यसअघि तीन श्रेणीमा विभाजन गरेको थियो । त्यही अनुसार नै २१ खेलाडीका लागि आईसीसीले पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो ।

सन् २०१९ मा आईसीसीले २२ खेलाडी र एक भिडियो एनालिस्टका लागि पारिश्रमिक पठाउन लागेको प्याकुरेलले जानकारी दिए । क्यानले पठाएको खेलाडीको सूची क्यान निलम्बन फुकुवा हुनुअघिकै हो ।

सम्झौताअनुसार ‘ए’ श्रेणीमा रहेका खेलाडीले जनही रु ३५ हजार, ‘बी’ श्रेणीमा रहेका खेलाडीले जनही रु २५ हजार तथा ‘सी’ श्रेणीमा रहेका खेलाडीले जनही रु १५ हजार पारिश्रमिक पाउनेछन् ।

क्यानका अनुसार ए श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, वसन्त रेग्मी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् ।

यस्तै बी श्रेणीमा करण केसी, शक्ति गौचन, आरिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र ललितसिंह भण्डारी तथा सी श्रेणीमा दिलिप नाथ, सुवास खकुरेल, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी र सागर पुन छन् ।

भिडियो एनालिस्टका रुपमा रमन शिवाकोटीको नाम आईसीसीलाई पठाइएको छ । यसपटक राजु रिजालको नाम थप गरिएको क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्