Logo

निषेधाज्ञाको नयाँ मोडालिटी खोजिँदै



Spread the love

६ भदाै, पोखरा – कास्कीमा निषेधाज्ञाको समयावधि थप गर्ने या अन्त्य गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरि जारी गरिएको निषेधाज्ञाको समयावधि आइतबार राति १२ बजे सकिँदै छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । आइतबार बिहान नगर कोरोना न्युनिकरण तथा व्यवस्थापन समितिको बैठक पछि जिल्लामा छलफल हुने उनले बताए । ‘के गर्ने भन्ने विषयमा छलफल गर्दै छौं । आज पनि बैठक बसियो,’ उनले भने, ‘भोलि बिहान नगर कोरोना न्युनिकरण तथा व्यवस्थापन समितिको बैठक बसि सकेपछि १/२ बजेतिर जिल्लामा बैठक बसेर टुंगामा पुग्छौं ।’

मेयर जीसीले निषेधाज्ञाको समयावधि थप्नु मात्रै समस्याको समाधान नभएको धारणा राखे । उनले निषेधाज्ञाको समयावधि थप्ने भन्दा पनि यसको नयाँ मोडालिटीबारे छलफल भई रहेको जानकारी दिए । ‘थप्नु मात्रै समस्याको समाधान हो र ? कसरी तयार पारेर जाने भनेर छलफल गरि रहेको छौं । पहिलो कुरा त नागरिकहरु नै स्वअनुशासनमा हुनु प¥यो,’ उनले भने, ‘अर्काले भन्दिएर पनि हुँदैन । गराइ दिएर पनि हुँदैन । कहाँबाट आउँछ कताबाट जान्छ यो त थाहै छैन ।’ आफ्नो सुरक्षाको लागि नागरिक आफैं जवाफदेही बन्नु पर्ने उनको तर्क छ ।

निषेधाज्ञाको नयाँ मोडालिटीमा संक्रमितको संख्या बढी भएको ठाउँलाई सिल गरेर जान सकिने उनले सुनाए । ‘जहाँ जहाँ खतरा बढी छ त्यसलाई कसरी सिल गरेर जाने ? सिल मात्रै गरेर पनि भएन निकास पनि खोजेर जानु प¥यो । त्यही बारेमा हामीले हेर्दै छौं । छलफल गर्दैै छौं,’ उनले भने ।

भीडबाटै संक्रमण फैलिने त्रास भएको हुँदा भीड कम गर्ने उपायबारे बैठकमा छलफल भएको उनले जानकारी दिए । मान्छेमा ट्रान्सफर भएर जाने भएको कारणले भीड कम गर्ने उपायबारे विभिन्न क्षेत्रका मान्छेहरुसँग छलफलमा जुटी रहेका उनले बताए ।

सार्वजनिक स्थानहरुमा भीड कम गर्नको लागि नाकाहरुमा थप कडाई गर्ने साथै सार्वजनिक यातायात पनि तत्कालको लागि सञ्चालनमा नल्याएर अघि बढ्न सकिने विषयमा छलफल भई रहेको उनले सुनाए । ‘सार्वजनिक बस चलाउँदा पनि अलि बढी भीडभाड नै हुन्छ । यसलाई तत्काल नचलाउने कि भन्ने पनि छ,’ उनले भने ।

महानगरमा शनिबार स्वास्थ्यकर्मीसँग छलफल भएको थियो । भोलि बिहान नगर कोरोना न्युनिकरण तथा व्यवस्थापन समितिको बैठक बस्ने र दिउँसो जिल्लामा जिल्ला प्रशासनमा छलफल हुने छ । त्यसपछि निषेधाज्ञाको नयाँ मोडालिटीबारे टुंगोमा पुगिने उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्