Logo

राजश्व छल्ने नयाँ तरिका देखेर राजश्व अनुसन्धान विभाग चकित



Spread the love

७ भदाै, काठमाडौं – राजश्व छलीका लागि नयाँनयाँ उपायहरु अपनाउन थालिएको खुलासा भएको छ । भन्सार नाकामा जाँचपास व्यवस्थित हुँदै गएपछि यस्ता नयाँ उपाय अपनाएर राजश्व छली गर्ने क्रम बढेको हो । त्यही क्रममा भारतीय ट्रकमा खुफिया कोठा (फल्स बटम) बनाएर राजश्व छली गर्न खोजेको पाइएको छ ।

भारतीय ट्रकमा छुट्टै नदेखिने क्याविन कोठा बनाएर कपडाको चोरी पैठारी भएको तथ्य राजश्व अनुसन्धान विभागले फेला पारेको हो । विभागले सो कार्यमा संलग्न ६ जनाविरुद्ध शुक्रबार मुद्दा दायर समेत गरेको छ । सो कार्यबाट राज्यकोषलाई ३ करोड १८ लाख ७७ हजार नोक्सान भएको भन्दै त्यसलाई विगो मानेर सोही अनुसार जरिवाना र ३ महिनाको कैद मागदाबी सहित पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको हो ।

सो कार्यमा वीरगञ्जका रजनीश कुमार गुप्ता, चितवनका राजेन्द्र थापा,, राजेन्द्र प्रसाद गुप्ता, सुनिल कुमार, रञ्जितकुमार गुप्ता र सृजन शर्मा माथि सो मुद्दा चलाइएको हो । उनीहरुले यसअिघ विभिन्न समयमा गरी ५ पटक चोरी पैठारी गरी नेपाल ल्याई बिक्री गरेसकेको समेत पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्