Logo

तीन कम्पनीका काेराेनाविरुद्धका खोप नेपालमा परीक्षण हुँदै



Spread the love

८ भदाै, काठमाडाैँ – खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको जनाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासको चरणमा रहेको चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले तेस्रो चरणको परीक्षणको लागि इच्छा देखाएको जनाएको छ । परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भन्नुभयो, “हङ सीले चिनियाँ कम्पनीमा कार्यरत एक हजार जनामा खोप लगाउने प्रस्ताव गरेको छ, उसको प्रस्तावमा सम्भाव्यता र स्वास्थ्य प्रोटोकलबारे परिषद्ले अध्ययन गरिरहेको छ ।”

खोप विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाबमोजिम तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि खोप निर्माता कम्पनीले विश्वका विभिन्न देशमा ठूलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने हुन्छ । रुसी खोप उत्पादकले समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समक्ष प्रस्ताव राखेको परिषद्का सदस्य सचिव डा. ज्ञवालीले जानकारी दिनुभयो ।

रुसी राजदूत एलेक्सै नोभिकभले स्वास्थ्य मन्त्रालयसँग पहिलो चरणको छलफलसमेत गर्नुभएको छ । डा. ज्ञवालीले भन्नुभयो, “मन्त्रालयले खोप अध्ययनबारे जिम्मेवारी आज मात्रै दिएको छ, भोलिदेखि अझै तदारुकताका साथ सम्भाव्यता अध्ययन र छलफल अगाडि बढ्नेछ ।” परिषद्का सदस्य सचिव डा. ज्ञवालीले भोलि रुसी राजदूतसँग भेट्ने तय भएको खुलाउनुभयो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेकासँग विश्व स्वास्थ्य संगठनको समन्वयमा नेपालका अनुसन्धानकर्ता तथा चिकित्सकीय टोलीले वेबिनारमा खोपको परीक्षणबारे छलफल गरेको छ । अक्सफोर्ड विश्वविद्यालयले छिट्टै नै परीक्षणबारे अद्यावधिक जानकारी गराउने प्रतिबद्धता जनाएको छ ।

याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्