Logo

४७ जिल्लामा निषेधाज्ञाः



Spread the love

८ भदाै, काठमाडाैँ – कोभिड–१९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णय, गृह मन्त्रालयको निर्देशन तथा जिल्लाभित्र कोभिड–१९ को सङ्क्रमण जोखिमको मुल्याङ्कन, विश्लेषणसमेतको आधारमा थप जोखिम बढ्न नदिन सरकारले आवश्यक कदम चाल्दै आएको छ ।

जोखिम रोक्न सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्लासहित हालसम्म ४७ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञाको आदेश जारी भइ समन्वयात्मकरूपमा कार्यान्वयन भइरहेको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण जोखिम कम गर्ने सम्बन्धमा भएका निर्णय र निर्देशन कार्यान्वयनको प्रभावकारिताका लागि ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजनमा संयुक्त अनुगमन टोली परिचालन गर्ने व्यवस्थासमेत मिलाइएको छ । उद्धार उडानबाट स्वदेश आउने व्यक्तिलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा राख्ने क्वारेन्टिन निर्माण, सञ्चालन तथा व्यवस्थापनको प्रक्रियासमेत शुरु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै मुलुकको दक्षिणी सिमामा तोकिएका प्रवेश विन्दुबाट आवागमनको अभिलेख राखी व्यवस्थापन गर्ने कार्य भइरहेको छ । साथै अत्यावश्यक सेवासँग सम्बन्धित पेशा र व्यवसाय सञ्चालन गर्दा मास्क लगाउने, न्यूनतम सामाजिक दूरीको पालना गर्ने र गराउनेजस्ता जनस्वास्थ्यका मापदण्ड, प्रोटोकल पालना भए नभएको सम्बन्धमा निरन्तर अनुगमन भइरहेको मन्त्रालयका प्रवक्ता बुढाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्