Logo

एउटै प्रदेशमा निको भए चार हजारभन्दा बढी कोरोना सङ्क्रमित



Spread the love

९ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् ।

यो प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ४०६ सङक्रमित रहेको र तीमध्ये ९ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ३०१ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै अछामका ७१३, कञ्चनपुरका ५८१, बाजुराका ४४२, बैतडीका ३२२, डडेल्धुराका २९९, बझाङका ११०, दार्चुलाका ४१ तथा डोटीका ५७६ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिममा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९२९ रहेका छन् । सङ्क्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य निर्देशक गणराज अवस्थीले बताउनुभयो । उहाँका अनुसार हाल कञ्चनपुरको महाकाली अस्पतालमा २३, कैलालीको सेती प्रादेशिक अस्पतालमा १४, टीकापुर अस्पतालमा ११, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई-दुई र मालाखेती अस्पतालमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ । अन्य सङ्क्रमित भने स्थानीय तहको आइसोलेसन र घरमै रहेको बताइएको छ ।

पछिल्लो समय भारतबाट नेपाली आउने क्रम रोकिएको छ । यहाँका विभिन्न जिल्लाका स्थानीय तहमा प्रयाप्त मात्रामा आइसोलेसन बेड नभएका कारण कोरोना सङ्क्रमितलाई निकै समस्या भइरहेको बताइएको छ । कोरोना सङ्क्रमित तथा उनीहरूका परिवारलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक वा सकारात्मक नहुने भएका कारण पनि अहिले उनीहरू झनै समस्या परेको शिखर नगरपालिका–१ कपल्लेकीका खडकबहादुर बोगटीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्