Logo

नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु



Spread the love

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।

भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौ यता शुक्रबार सम्ममा कोरोनाबाट एक दिनमा औसतमा झण्डै सात जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा सून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ । कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका थिए । शुक्रबार सम्ममा उक्त सङ्ख्या बढेर १९५ पुगेको छ । मर्नेमा महिला २६ प्रतिशत अर्थात् ५१ तथा पुरुष ७४ प्रतिशत अर्थात् १४४ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबारसम्म कोरोनाबाट पर्सा ३३, काठमाडौँ १८, मोरङ १६, धनुषा १३, बारा १२, बाँके र रुपन्देही सात–सात, कैलाली, सप्तरी, सुनसरी, चितवन र सिरहा पाँच–पाँच, सर्लाही, महोत्तरी, कपिलवस्तु, मकवानपुर, भक्तपुर र कास्की चार–चार, रौतहट, ललितपुर, गुल्मी र सिन्धुपाल्चोक तीन–तीन, अछाम, सुर्खेत, झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक र दोलखा दुई–दुई तथा दैलेख, दाङ, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, बर्दिया, बझाङ, बागलुङ, तनहुँ, नवलपरासी पश्चिम, धादिङ, गोर्खा, उदयपुर, म्याग्दी र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्