Logo

अन्तर्राष्ट्रिय उडानको यस्तो छ तयारी !



Spread the love

१४ भदाै, काठमाडौं – अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवतजावत र चहलपहलले विमानस्थलको रौनकता छाउने थियो । अहिले परिस्थिति अनुकूल छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ महामारीको प्रभावले नेपालको अन्य क्षेत्रजस्तै सबैभन्दा प्रभावित हवाई क्षेत्र हो । जहाँ पाँच महिनादेखि व्यावसायिक उडान भएका छैनन् । अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि ठप्प छन् ।

कोभिड-१९ नियन्त्रणका लागि लागु गरिएको बन्दाबन्दी र पछिल्लोपटकको निषेधाज्ञाले ठीक पाँच महिना व्यावसायिक उडान भएनन् । गत चैत ११ देखि साउन ६ सम्म बन्दाबन्दी र त्यसपछि साउनको अन्तिम सातादेखि भदौ १७ सम्म निषेधाज्ञा थपिएको छ । राजधानी काठमाडौंसहित देशभर कोरोनाका सङ्क्रमित बढेपछि सरकारले निषेधाज्ञा जारी गरेको हो । यसबीच विदेशमा अलपत्र नेपालीको उद्धार र कार्गोका लागि सीमित उडान भए । बन्दाबन्दीको पाँच महिनापछि यही भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान हुँदै छन् ।


नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उडान तालिकाअनुरुप उडानका लागि आवश्यक सम्पूर्ण तयारी भएको जनाएको छ । पर्यटन मन्त्रालयले यही भदौ १६ अर्थात् सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरिसकेको छ । एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर्ड उडान हुनेछन् । नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित १० विदेशी गरी १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भदौ १६ (सेप्टेम्बर १) देखि हुने नियमित अन्तर्राष्ट्रिय तथा चार्टर्ड उडानको सम्पूर्ण तयारी भएको बताए । उनका अनुसार अन्तर्राष्ट्रिय उडान हुने भए पनि आन्तरिक उडान कहिलेबाट सुरु गर्ने भन्‍ने अझै निष्कर्षमा पुगिएको छैन । नियमित अन्तर्राष्ट्रिय उडनको तयारीमा विमानस्थल सम्पूर्ण रुपले जुटेको छ । उसो त पाँच महिनादेखिनै विमानस्थल सुरक्षित उडानका लागि पूर्णतः तयारी अवस्थामा छ ।

सरकारले सहजैरुपमा कोरोना परीक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर्ड उडान गर्ने सर्तसहित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो । दैनिक ५०० यात्रु नबढ्ने गरी अन्तर्राष्ट्रिय उडान हुनेछ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) मापदण्डमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विमानस्थलले सुरक्षित उडान सञ्चालनका लागि स्वास्थ्य प्रोटोकल लागू गरेको छ ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले डब्लूएचओ र आइकाओको मापदण्डमा रहेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यात्रुलाई सुरक्षित बनाउन विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरिएको जानकारी दिए । विमानस्थलले सुरक्षित हवाई उडानका लागि कर्मचारी व्यवस्थापनदेखि यात्रुलाई सुरक्षित गर्ने सबैखाले तयारी गरेको उनले बताए ।

उनका विमानस्थलमा सामान्य अवस्थामा अन्तर्राष्ट्रिय उडानतर्फ दैनिक १२ देखि १५ हजार यात्रु आवत-जावत गर्थे । अन्तर्राष्ट्रियतर्फ आवागमन र प्रस्थान दुवै गरी दैनिक ७० देखि ९० सम्म उडान हुन्थे । त्यस्तै आन्तरिकतर्फ ३०० भन्दा बढी उडान हुने गरेको थियो । अहिले नियमित अन्तर्राष्ट्रिय उडान दैनिक दुईदेखि तीनवटा मात्रै हुनेछन् । चार्टर्ड उडान पनि सञ्चालन हुने भएकाले विमानस्थलले आवश्यक जनशक्ति र स्रोत साधनको प्रयोग गर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान सुरु हुने भएपछि विमानस्थल तथा वायुसेवा प्रदायक कम्पनीले कोभिड-१९ सङ्क्रमणबाट सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल पालनालगायत सबैखाले तयारी गरिसकेका छन् । यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विमानस्थलले आवश्यक स्वास्थ्य मापदण्डका आधारमा विमानस्थलमा खटिने कर्मचारीलाई, पीपीई, मास्क, स्यानिटाइजरको व्यवस्था गरिएको छ । जहाजबाट यात्रु ओर्लेपछि अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्नुपहिले आगमन कक्षको बाहिरपट्टि स्यानिटाइजर बुथ राखिएको छ । यात्रुले भौतिक दूरीका साथ लाइनमा बसेर सेनिटाइज भई आगमन कक्षबाट भित्रिन्छ । अध्यागमन प्रक्रिया गर्ने क्रममा पनि बीचमा पनि स्यानिटाइजर प्रयोग, स्वास्थ्य डेस्कको प्रक्रिया पुरा गरेर मात्रै यात्रु विमानस्थलबाट बाहिरिनेछन् । विमानस्थलले यात्रु आवत-जावत गर्ने हरेक स्थानमा दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाएको छ । अध्यागमनदेखि हेल्थ डेस्कको प्रक्रिया पालना गर्दा तथा शौचालय र अन्य स्थानमासमेत स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

यात्रुसँग प्रत्यक्ष साक्षात्कार हुने सबैखाले जनशक्तिलाई विमानस्थलले स्वास्थ्य सुरक्षाका आवश्यक सामग्रीको व्यवस्था गरेको छ । महामारीबाट बचेर सुरक्षित उडानका लागि अन्तर्राष्ट्रिय विमानस्थल नयाँ अत्याधुनिक संरचनाका साथ सञ्चालनको तयारीमा छ । विमानस्थलको क्षमता अभिवृद्धिका साथै सेवा सुविधालाई स्तरीकरण गर्नेगरी अत्यावस्यक थपिएका संरचनाले विमानस्थलको स्वरुप पनि बदलिएको छ । विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलको झल्को दिनेगरी अन्तर्राष्ट्रिय विमानस्थलको संरचना थप्नुका साथै सेवा विस्तार र स्तरीकरणको कार्यभएको हो ।

पछिल्लोपटक विमानस्थलको नयाँ संरचना र उडान व्यवस्थापकीय तयारीबारे पर्यटनमन्त्री योगेश भट्टराईले निरन्तर अवलोकन र निर्देशन दिँदै आएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा आकर्षक अत्याधुनिक भौतिक संरचनाले विमानस्थलको सौन्दर्य थपेको छ । अहिले विदेशबाट आउने यात्रुले टलक्क टल्केको चिटिक्क नयाँ भवनको बाटो भएर बाहिरिनेछन् ।

यही भदौ १६ देखि हुने नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनताका लागि अहिले बनिरहेका सबै संरचनाको उपयोग गरिनेछ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्