१६ भदौ, काठमाडौं । काठमाडौंको गंगालाल अस्पतालमा पनि ७० बर्षिय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुने संक्रमित पूर्व न्यायाधीश माधवप्रसाद चालिसे रहेका छन् । उनी काठमाडौँ महानगरपालिका–३ का वासिन्दा हुन् ।
लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।
त्यस्तै, कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको ज्यान गएको छ । बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै पुरुषको मृत्यु भएको हो ।
बाराका पुरुषको गण्डक कोरोना अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
चितवनको चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
त्यस्तै, सिरहाको मिर्चैया नगरपालिका–६ निवासी कोरोना संक्रमित एक पुरूषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ६५ वर्षका पुरुषको ज्यान गएको हो । आइसियूमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ