Logo

वडाध्यक्षले कोरोना सङ्क्रमितको परिवारलाई घरभित्र ताल्चा लगाएर थुनेपछि….



Spread the love

१९ भदाै, भक्तपुर – कोभिड–१९ सङ्क्रमित भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन् ।

करिव ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेशनमा राखिएको थियो । यसपछि श्वासप्रश्वासमा समस्या आएपछि हाल उनीको पाटन अस्पतालमा उपचार भइरहेको छ भने परिवारलाई बाहिरबाट ताला लगाएर भित्रै राखिएको छ ।

कोरोना सङ्क्रमित परिवारलाई होम आइसोलेशनमा राखेर जनप्रतिनिधिले आवश्यक परामर्श र सहयोग गर्नुपर्नेमा उल्टैभित्र राखेर बाहिरबाट ताल्चा मारिदिएपछि पीडित परिवार थप मानसिक तनाबमा परेको सङ्क्रमितका परिवारले बताएका छन् ।

वडाध्यक्षसहितको टोलीले सङ्क्रमित पुरुषकी आमासहित परिवारका चार जना र घरमा डेरागरी बस्ने पाँच जना गरी नौ जना घरभित्र नै राखेर घरको मूल ढोकामा ताल्चा लगाएर साँचो छिमेकीलाई दिइ केही परे छिमेकीलाई भिन्नु भनेर गएको परिवारले जनाएका छन् ।

घरमा बाहिरबाट ताल्चा मारिदिएपछि घरभित्र रहेका वृद्धवृद्धा र साना बालबालिका त्रसित भएको बताउँदै वडाध्यक्ष र छिमेकीले पीडामाथि पीडा थपेको परिवारको गुनासो छ ।

भक्तपुर–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले भने परिवारकै आग्रहमा ताल्चा मारेको दाबी गरे । भाडामा बस्ने बाहिर जाने आउने गर्दा छिमेकीमा सङ्क्रमण होला भनेर छिमेकी र परिवारले आग्रह गरेपछि ताल्चा मारेको उनको भनाइ छ ।

अरु सङ्क्रमितको घरमा डोरीले बाध्ने र घर सिल गर्ने गरे पनि यस घरमा भने प्रहरी र छिमेकीको रोहबरमा ताल्चा मारेर केही परे छिमेकीलाई भन्नु भनेर साँचो छिमेकीलाई दिएको वडाध्यक्ष ह्यौमिखाले जानकारी दिए ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति दुई साता होम आइसोलेशन बस्नुपर्ने र कन्ट्याक ट्रेसिङमा परेकाको सात दिनमा पिसिआर परीक्षण गर्दै आएको उल्लेख गरे ।

कमलविनायकमा भने वडाध्यक्ष र छिमेकीले नै परिवारको सहमतिमा बाहिरबाट ताल्चा मार्न भनेपछि प्रहरी रोहवरमा बसेको जनाउँदै पीडितको निगरानी भने छिमेकी र जनप्रतिनिधिले गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्