Logo

होम डेलिभरी गर्दै हुनुहुन्छ? यस्ता छन् नयाँ मापदण्ड !



Spread the love

१९ भदाै, कठमाडाैँ जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । यससँगै आजदेखि घरदैलो सेवा समेत सञ्चालनमा आएको छ । सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ । घरदैलो सेवाको आजदेखि नै अनुगमन शुरुआत भइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

“कोभिड–१९ को सङ्क्रमण जोखिम रहेका बेला लापरबाही गर्न दिनुहुन्न भनेर हामीले मापदण्ड स्वीकृत गरेका छौँ, यस अनुसारको सेवा सञ्चालन गर्न आजदेखि खुला छ,” उनले भने, “प्रशासन, प्रहरी र स्थानीय तहबाट सुक्ष्म अनुगमन हुन्छ, मापदण्ड प्रयोग गरेको नपाइए तत्कालै कारवाही गरिन्छ ।”

विहीबार मात्रै उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले उक्त मापदण्ड स्वीकृत गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा बनेको समितिले उक्त मापदण्ड तयार पारेको हो ।

तोकिएको खाद्यवस्तुसहित अन्य घरदैलो सेवा दिउँसो एक बजेदेखि साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।कोभिड–१९ को सङक्रमण बढिरहेको अवस्थामा मापदण्ड विपरीत सेवा सञ्चालन गर्दा घरघरमा सङ्क्रमण फैलिन सक्ने जनाउँदै स्थानीय प्रशासनले अघिल्लो हप्ता उक्त सेवा बन्द गरेको थियो । त्यसपछि बसेको संयुक्त बैठकले बनाएको समितिले मापदण्ड निर्माण गरी लागू गरेको हो ।

यसरी सेवा सञ्चालन गर्ने संस्था दर्ता भइ नवीकरण भएको हुनुपर्ने र सोको प्रतिलिपि सेवा दिन जाने व्यक्तिसँगै रहेको हुनुपर्ने स्वीकृत मापदण्डमा उल्लेख छ । वस्तु वा सेवाको मूल्य अनलाइनमा अनिवार्य रुपमा राखेको हुनुपर्नेछ ।

सरकारले तोकेको स्वास्थ्य, सुरक्षा मापदण्डको पूर्णपालना भएको हुनुपर्ने तथा सेवाग्राहीसँग कम्तीमा दुई मिटरको दूरी कायम हुनुपर्ने जनाइएको छ । यसरी मापदण्ड प्रयोग गरे वा नगरेको बारे सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको समितिले अनुगमन गर्नेछ ।

काठमाडौँमा भने सहायक प्रजिअ जीवनप्रसाद दुलालको नेतृत्वमा अनुगमन समिति रहेको छ । स्थानीय तहको वडाका प्रतिनिधिले समेत निगरानी राख्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्