Logo

कोरोना संक्रमणको समुदाय ट्रान्समिसन जिल्ला र स्थानीय तहसम्म



Spread the love

१९ भदाै, काठमाडाैँ – नेपालमा कोभिड– १९ को संक्रमण समुदाय (कम्युनिटी) ट्रान्समिसन जिल्ला र स्थानीय तहमा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकारसँगको भर्चुअल बैठकमा नेपालमा संक्रमण समुदायस्तरमा फैलिएसकेको र अहिले त्यो जिल्ला र स्थानीय तहमा रहेको बताइएको छ ।

मन्त्रालयका कोभिड– १९ का स्थानीय स्रोत व्यक्ति महेन्द्र श्रेष्ठले संक्रमण मुलुकभरि नै समुदाय (कम्युनिटी) ट्रान्समिसन फैलिनसकेको र खासखास क्षेत्र (कलस्टर) तथा तहमा फैलिएको बताए ।

“नेपालमा संक्रमण समुदायमा ट्रान्समिसन फैलिएको छ, यसमा कुनै दुई मत नै छैन, समुदायमा ट्रान्समिसनमा पनि जिल्ला र स्थानीय तहमा रहेका छौँ”, उनले भने, “मुलुकभरि नै समुदाय ट्रान्समिसन भएको छैन, अहिले हामी कलस्टर तहमा रहेका छौँ, भोलि यो फैलिन सक्ला ।”

नेपालमा अहिले ४४ हजार २३६ जना संक्रमित भइसकेका छन् । तीमध्ये २५ हजार ५६१ जना निको र २७१ जना संक्रमणका कारणले मृत्यु भइसकेको छ । बैठकमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वीरगञ्ज, सर्लाही, काठमाडौँ ललितपुरलगायत जिल्लामा कलस्टर तहमा नै संक्रमण देखिएको बताए । उनले ती ठाउँमा समुदायमा नै संक्रमण देखिएको हो वा होइन एन्टिबडी परीक्षणसमेत गरिने भएकाले यकिन तथ्यांक आएपछि जानकारी गराउने बताए ।

संक्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाएको छ । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दहीलगायतका १२ जिल्लामा ५०० भन्दाबढी संक्रमित रहेका छन् ।

कोभिड– १९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगनठको सहयोगमा समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो । महाशाखाले सात प्रदेशमा रगत नमूना लिएर एन्टिबडी परीक्षण गरी संक्रमण समुदायस्तरमा फैलिएकोबारे अध्ययन शुरु गर्दैछ ।

संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सरेपछि दोस्रो चरणमा गएको हुन्छ । नेपाल यसअघि नै दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्