Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४२९
संक्रमित
६६,६३२
निको भएका
४८,०६१

काठमाडौंमा धुलो नियन्त्रण



काठमाडौंको वायु प्रदुषणमा धुलोको समस्या पनि एक प्रमुख अंशको रुपमा रहेको छ र धुलो नियन्त्रणका लागि छुट्टै कार्य योजना बनाएर कार्यान्वयन गरिएमा अझ बढी प्रभावकारी हुनसक्छ ।

आजकल तुलनात्मक रुपमा उपत्यकाका परपर कुनामा रहेका पहाडहरु प्रष्ट, सफा र छयाङ्ग देखिन्छन् । सडक आसपास र उपत्यकामा पनि धुलोको मात्रा निकै कम भएको महसुस भएको छ । हुनत अहिले काठमाडौंका सडकमा निकै कम सवारी साधनहरु गुडिरहेका छन् । भलै, सडकमा सवारीसाधनको संख्या बढ्ने बित्तिकै धुलोको मात्रा पनि बढ्दै जाने देखिएको छ । यी सबै कुराहरु भनेको काठमाडौं उपत्यकाको वायुको गुणस्तरसँग सम्बन्धित छन् । काठमाडौं उपत्यकाको वायुको गुणस्तरको कुरा गर्दा यसका दुई पक्षहरु देखिन्छन् । यसको एक पक्ष सवारीसाधन, उद्योगहरुबाट हुने विभिन्न ग्याँसहरुको उत्सर्जन हो भने अर्को पक्ष भनेको विभिन्न कारणबाट वायुमण्डलमा मिसिने धुलकणहरु हुन् । 

काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कुल ८९९ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको काठमाडौं उपत्यकाको शहरीकरण विगतका दशकहरुमा तीब्र गतिमा अनियन्त्रित तवरबाट फैलिंदैं गएको छ भने त्यसको साथमा जनसंख्या तथा मानवीय र आर्थिक गतिविधिहरुमा त्यही अनुसार वृद्धि हुँदै गईराखेको छ । बढ्दो मानवीय गतिविधिसँगै बढ्ने सवारी साधनहरुको संख्या र संचालनबाट उत्सर्जन भएको ग्याँसहरुले गराउने वायु प्रदुषण त आफ्नो स्थानमा छँदैछ, शहरीकरणसँगै वृद्धि हुनुपर्ने सडक, ढल, सार्वजनिक उद्यान जस्ता पूर्वाधारहरु पर्याप्त वा गुणस्तरीय नहुनुले धुलोको समस्यालाई धेरै बढाईदिएको छ । हुनत नेपाल सरकारले काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गरी यसलाई कार्यान्वयनमा पनि ल्याइसकेको छ । यस कार्ययोजना, वायुको गुणस्तरसँग सम्बन्धित प्राय: सबै पक्षलाई समेट्ने गरी बनाइएको छ, तर धुलो नियन्त्रणका विषयमा भने अझै केही पक्षहरु छुट्न गएका छन् ।

वास्तवमा कुनै पनि शहर धुलोरहित स्वच्छता भनेको एक किसिमले त्यस शहरको वातावरणीय गुणस्तरीयताको ऐना पनि हो । किनकि शहर धुलोरहित हुने कुरा त्यहाँको भूउपयोगको अवस्था,  सडक, नाली, ढल जस्ता पूर्वाधारहरुको गुणस्तरीयता, फोहरमैला व्यवस्थापन, हरियालीको विस्तार, औद्योगिक प्रतिष्ठानहरुको संचालन तरिका, निर्माण सम्बन्धी अभ्यास जस्ता पक्षहरुसँग पनि जोडिएर आउँछन् ।

उपत्यकाको वायुमण्डलमा विद्यमान अत्यधिक धुलकणको उपस्थितिले समस्त उपत्यकावासीको जनस्वास्थ्यमा प्रतिकुल प्रभाव त पारेको छ नै, स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने संविधानप्रदत्त हकको पनि राम्रोसँग उपभोग गर्न नपाइएको अवस्था छ । 

बाहिर सडकतिर निस्कँदा होस् वा घरभित्रै बस्दा होस्, हाम्रो शरीर, लुगामा टाँसिने धुलकणहरु, झ्याल, ढोका वा कोठाका सामानहरुमा जमेर बसेको धुलोको पत्रबाट पनि हामीले धुलो प्रदुषणको समस्यालाई प्रत्यक्ष नियालिरहेका हुन्छौं । वातावरण विभाग तथा अन्य संस्थाले वायुको गुणस्तर मापनका लागि स्थापना गरिएका उपकरणहरुबाट प्राप्त तथ्यांकहरुलाई केलाउने हो भने पनि वायुको गुणस्तर राष्ट्रिय वायु गुणस्तर सम्बन्धी मापदण्ड भन्दा बाहिर गएको देखिन्छ र धुलो प्रदुषणको अवस्था पनि गंभीर रहेको छ । काठमाडौं उपत्यकाको भौगोलिक अवस्थितिका कारण पनि यहाँको वायुमण्डलमा प्रवेश गर्ने धुलकणहरु लामो समयसम्म यहाँकै हावामा तैरिएर बसिराख्ने परिस्थिति छ । उपत्यकाको वायुमण्डलमा विद्यमान अत्यधिक धुलकणको उपस्थितिले समस्त उपत्यकावासीको जनस्वास्थ्यमा प्रतिकुल प्रभाव त पारेको छ नै, स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने संविधानप्रदत्त हकको पनि राम्रोसँग उपभोग गर्न नपाइएको अवस्था छ । 

यी धुलकणहरुको प्रमुख स्रोत भनेको उपत्यकाभित्र रहेका कालोपत्रे नगरिएका सडकहरु, कालोपत्रे गरिए पनि उचित मर्मतसंभार नगरिएका वा विभिन्न प्रयोजनका लागि भत्काएर लामो समयसम्म त्यत्तिकै छाडिएका सडकहरु, सडक छेउका भत्किएका नाली र सडकपेटीहरु, सडक आसपास वा अन्य खुला स्थानमा त्यतिकै फ्याँकिने गरिएका फोहरहरु, जथाभावी असरल्ल रुपमा खुला हिसाबले राखिने निर्माण सामाग्रीहरु, कुनै वनस्पतिले नढाकिएका बाँझो जमीन, प्लटिङ गरेर त्यत्तिकै छाडिएका घडेरीहरु, निर्माण सामाग्री ढुवानी गर्दा वा निर्माण कार्य गरिंदा धुलो उड्न नदिनका लागि पर्याप्त उपायहरु नअपनाइने, औद्योगिक कार्यको संचालन, फोहरमैला वा अन्य कृषिजन्य पदार्थहरु जलाउने जस्ता कार्यहरु रहेका छन् ।

उपत्यकाभित्रका प्रमुख सडकहरु त प्राय: कालोपत्रे भएका छन् तर अझ पनि थुप्रै शाखा वा भित्री सडकहरु कालोपत्रे हुन बाँकी छन् । यसरी कालोपत्रे नगरिएका सडकहरु धुलकण उत्पन्न गराउने र फैलाउने प्रमुख कारक तत्व बनेका छन् । कालोपत्रे गरिएका सडकहरु पनि ढल बनाउन, खानेपानीका पाइपलाइन बिछ्याउन, मर्मत गर्न वा अन्य यस्तै थुप्रै निहुँमा अन्तहीन रुपले खनिराख्ने र लामो समयसम्म त्यत्तिकै छाडिदिने गरिएको पाइन्छ । यी सडकहरु निर्माण वा मर्मतसंभार गरिंदा वा अन्य प्रयोजनका लागि खनिंदा, न त कुनै निश्चित निर्माण तालिका अपनाएर समयमै सम्पन्न गर्ने गरिएको छ न त धुलो नियन्त्रणका पर्याप्त उपाय सहितका निर्माण आचार संहिताहरु नै अपनाइने गरिएको छ ।

उपत्यकाभित्रका प्रायजसो: सडकहरु धेरै पहिले डिजाइन गरेर बनाइएका हुन् । ती सडकहरुमा पर्याप्त स्थानको अभावमा वृक्षारोपण गरेर उपयुक्त प्रजातिका रुखहरु हुर्काउन र हरियाली विस्तार गर्न कठिन भएको छ ।

सडकछेउमा नाली, ढलहरु नहुनु, भए पनि गुणस्तरीय नहुनु, समयमा उचित मर्मतसंभार नगरिनु पनि धुलो उत्पन्न हुन अर्को कारण बनेको छ । विशेष गरी वर्षायाममा परेको पानी सडक वा नालीबाट पानी राम्रोसँग बगेर जान नसक्दा सडक वा छेउछाउमा भएका माटो, धुलोहरु बगेर सडकमा आउने, त्यो थिग्रानको रुपमा जम्मा भएर सडकमा रहने र पछि घाम लागेर सुक्दा धुलोको प्रकोप झन् बढ्ने गरेको देखिन्छ । हाम्रा प्रायजसो: नाली, ढलहरु बग्ने पानीको प्रवाह अनुसार उपयुक्त हिसाबले डिजाईन नगरिएको वा त्यसले आफ्नो कार्य गर्न नसकेको अवस्था पनि छ । नाली, ढलहरुमा जथाभावी फ्याँकिएका प्लाष्टिक तथा अन्य फोहरमैलाहरुले पानीको बहावमा अवरोध गरिदिनाले लेदोयुक्त पानी सडकबाट बग्ने गरेको देखिन्छ र यसले सडक सतह र छेउछाउमा प्रशस्त धुलो थुपार्ने गरेको छ । सडक निर्माण र मर्मतसंभारको कार्य झैं सडकपेटीको निर्माण र मर्मतसम्भार कार्य प्राथमिकतामा पर्ने गरेको छैन । समयमै नबनाइएका, भत्किएका, टुटफुट भएका सडकपेटीबाट पनि धेरै धुलो उत्पन्न हुने गरेको छ ।

उपत्यकाभित्रका प्रायजसो: सडकहरु धेरै पहिले डिजाइन गरेर बनाइएका हुन् । ती सडकहरुमा पर्याप्त स्थानको अभावमा वृक्षारोपण गरेर उपयुक्त प्रजातिका रुखहरु हुर्काउन र हरियाली विस्तार गर्न कठिन भएको छ, यद्यपि अहिले उपत्यकाका धेरै नगरपालिकाहरुले सडक छेउछाउमा वृक्षारोपण गरी हरियाली विस्तार गर्ने अभियानलाई बढाउँदै लगेका छन्, जुन स्वागतयोग्त कुरा हो र यसले पनि धेरै हदसम्म दुलो नियन्त्रण गर्न मदत पुर्‍याउन सक्छ । नयाँ बनाइएका धेरै जसो सडकहरु पनि वृक्षारोपण समेत गर्नका लाग पर्याप्त स्थान छुट्ट्याएर डिजाइन भएको देखिंदैन ।

नदी छेउछाउका वा अन्य खुला स्थानहरु वनस्पतिरहित हुँदा त्यसबाट पनि धुलो निस्कने गरेको छ । वास्तवमा जुनसुकै खुला स्थानहरुमा पनि उपयुक्तता अनुसार विभिन्न वनस्पतिहरु लगाएर धुलो नियन्त्रणमा सघाउ पुर्‍याउन सकिएता पनि त्यसले व्यापकता पाउन सकेको छैन ।

हाम्रो फोहरमैला व्यवस्थापन पद्धतिलाई पनि सकभर धुलो न्यूनीकरण गर्ने किसिमले संचालन गर्न सकिएको छैन ।

हाम्रो निर्माण कार्यको अभ्यास पर्याप्त रुपमा वातावरणमैत्री हुन सकेको छैन । भवन, संरचनाहरु बनाउँदा धुलो छेक्ने जालीको यथेष्ट प्रयोग नगर्ने, बालुवा, गिटीहरु जथाभावी असरल्ल छोड्ने, बालुवा वा अन्य निर्माण सामाग्रीहरु, फोहर बोकेका सवारी साधनहरु नढाकिकन खुला रुपले संचालन गर्ने जस्ता अभ्यासले धुलो फैलिनमा मदत गरेको छ । उपत्यकाका छेउछाउमा केही बालुवा खानी र ढुंगा खानीहरु संचालन गरिएका छन् र त्यहाँबाट निस्कने धुलो पनि यहाँकै वायुमण्डलमा मिसिने गरेको छ । त्यसैगरी उपत्यकामा खेती गरिने जमीनहरु घडेरीमा परिणत हुँदै गएका छन् । ती जमीनमा न खेती गरिन्छ, न लामो समयसम्म घर वा अन्य संरचना नै बनाइन्छ । ती जमीन त्यत्तिकै बाँझो छाडिंदा त्यसले पनि यहाँको वायुमण्डलमा धुलोको मात्रा बढाउन धेरथोर सहयोग गर्ने गरेको छ ।

हाम्रो फोहरमैला व्यवस्थापन पद्धतिलाई पनि सकभर धुलो न्यूनीकरण गर्ने किसिमले संचालन गर्न सकिएको छैन । फोहरमैलाको संकलन, ढुवानी तथा विसर्जन जस्ता कार्यहरुमा विभिन्न धुलो नियन्त्रण विधिहरु अपनाउन सकिने संभावना भए पनि त्यसको प्रभावकारी अनुपालना हुन सकेको छैन । कृषि कार्य र औद्योगिक कार्यहरुमा पनि यस्ता धुलो न्यूनीकरण विधिहरु यथेष्ट रुपमा अपनाउने गरिएको देखिंदैन । काठमाडौं उपत्याकभित्र संचालित कैयौं ईटाभट्टाहरुले वायुमण्डलमा धुलो थप्ने काम गरिराखेका छन् ।

यसर्थ, काठमाडौं उपत्यकावासीलाई धुलोरहित स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सुरक्षित राख्न, स्वस्थ जीवन जिउन दिन, वायु प्रदुषण व्यवस्थापन कार्ययोजनाको कार्यान्वयनको साथमा धुलो नियन्त्रणको निर्दिष्ट समय सहितको छुट्टै स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयन गर्न सकिन्छ, जुन कार्य योजनामा निम्न बुँदाहरु समावेश गर्न सकिन्छ ।

१.  काठमाडौंमा निर्माणाधीन मूख्य तथा भित्री सडकहरुको निर्माणकार्यलाई सकभर छिटो सम्पन्न गर्ने । मुख्य, भित्री तथा बाहिरी सडक निर्माण/सुधारको योजनाबद्ध तालिका बनाई त्यसै अनुसार कार्य अघि बढाउने । कार्य तालिका बनाएर उपत्यकाभित्रका सबै मुख्य र भित्री सडकहरुलाई निश्चित अवधिभित्र कालोपत्रे गरिसक्ने । गल्लीका भित्री बाटोहरुमा पनि ढुंगा वा ईंटा छाप्ने । सडक निर्माणमा गुणस्तरीय निर्माण सामाग्रीहरुको प्रयोग गर्ने । सडक विभाग र नगरपालिकाहरुले सडक मर्मतसंभार निश्चित तालिका बनाएर यथासमयमा नै मर्मतसम्भार गरिसक्नु पर्ने व्यवस्था मिलाउने ।

२.  जग्गा अधिग्रहण, मुआब्जा वा क्षतिपूर्तिका विषयहरु कुनै पनि भौतिक पूर्वाधारका संरचनाको निर्माण कार्य थाल्नु अघि नै पूरा गर्ने । जग्गा अधिग्रहण र मुआब्जा वितरणको टुंगो नलागेसम्म सडक भत्काउने कार्य नगर्ने ।

३.  जुनसुकै निर्माण कार्य अघि बढाउँदा पनि पहिले सीमित क्षेत्रमा मात्र कामको थालनी गरेर सम्पन्न भईसकेपछि मात्र अन्य स्थानमा शुरुवात गर्ने र निर्माण तालिकाको कडाईका साथ पालना गर्ने । सडक निर्माण र मर्मतसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायसँगको समन्वयलाई प्रभावकारी बनाउने । जुन निकायले सडक खन्ने खन्ने कार्य गरेको छ, त्यही निकायलाई अधिकतम छोटो समयभित्र सडकलाई खन्नु पूर्वको अवस्थामा ल्याइदिनु पर्ने कुरामा पूर्ण रुपमा उत्तरदायी बनाउने ।

२.  भौतिक पूर्वाधार संरचना निर्माण कार्यका सिलसिलामा बनाइएका वातावरणीय प्रतिवेदन, वातावरणीय व्यवस्थापन कार्य योजनाहरुको प्रभावकारी कार्यान्वयन गराउने र सो भए नभएको सम्बन्धित स्थानीय तह, वडा, टोल समितिहरुले समेत अनुगमन गर्ने । जस्तै: निर्माणकार्य भईराखेका सडकहरुमा धूलो नियन्त्रणका उपायहरु (नियमित अन्तरालमा पानी छम्कने) अपनाउनु पर्ने । सकभर सीमित भागहरु मात्र भत्काई त्यस क्षेत्रको सकभर छिटो पुनर्निमाण/स्तरोन्नति कार्य सम्पन्न गर्ने । निर्माण कार्य भएको क्षेत्रलाई घेराबारा गरि निर्माण कार्य अघि बढाउने र त्यहाँबाट गुड्ने सवारी साधनहरुका लागि निर्माण अवधिभरका लागि वैकल्पिक मार्गको व्यवस्था गर्ने) । निर्माण कार्य भएको स्थानलाई अनिवार्य रुपमा वरिपरिबाट धुलो छेक्ने जालीले घेर्नुपर्ने । निर्माण सामाग्रीहरुलाई खुला स्थानमा असुरक्षित तवरले राख्नमा रोक लगाउने, ताकि वर्षात् वा हावाहुरीले सहजै बगाएर लग्न वा उडाउन नसकोस् । निर्माण सामाग्री ढुवानी गर्दा सवारी साधनलाई अनिवार्य रुपमा छोप्नु पर्ने कुरालाई कडाईका साथ पालना गराउने । कुनै भवन निर्माण गर्दा वा भत्काउनु पर्दा जालीले छोपेर मात्र काम अगाडि बढाउनु पर्ने कुरालाई कडाईका साथ पालना गराउने । निश्चित स्थानमा मात्र सुरक्षित हिसाबले निर्माण सामाग्रीहरु राख्नु पर्ने व्यवस्था मिलाउने ।

४. कुनै सडकखण्ड निर्माणको योजना बनाईंदा, त्यस क्षेत्रमा खानेपानी संस्थान/विद्युत प्राधिकरण/दूर संचार सम्बन्धित कार्यालयहरुले कार्यान्वयनमा रहेका वा निकट भविष्यमा प्रस्तावित आयोजना र तिनीहरुको मर्मतसंभारसँग सम्बन्धित कार्यका बारेमा जानकारी लिनुपर्ने, ती निकायले निर्माण, मर्मतसंभार सम्बन्धी तालिका सडक विभाग वा नगरपालिका कार्यालयलाई बुझाउनु पर्ने र निर्माण चरणमा तदनुकुल समन्वय गर्ने ।

५. सडक पेटीहरुको प्राय: यथासमयमा मर्मतसभार हुने नदेखिएकोले आवश्यकता अनुसार सडक पेटीहरुको नियमित रुपमा मर्मतसंभार गर्ने । सडक निर्माण सँगसँगै सडकपेटी निर्माणको कार्यलाई पनि सम्पन्न गर्ने ।

६. सडक नाली ढलहरुको नियमित सरसफाई र मर्मतसंभार नगरिने भएकोले
वर्षात पछि नाली/ढलभित्र जमेर बसेका माटो/लेदोहरु सडक सतहमा आउने हुँदा सम्बन्धित निकायले ढल/सडक नालीको नियमित सरसफाई र मर्मतसंभारमा ध्यान दिने । सडक डिजाइन गर्दा नै उपयुक्त साइज र बनौटका नालीहरु बनाउने कुरामा ध्यान दिने ।

७.  सडकको पारवहन क्षमता अनुसार सवारी साधनहरु गुड्न दिने, कच्ची सडकहरुमा अति भारयुक्त ट्रकहरु गुड्नमा रोक लगाउने ।

८.  सडक, नदी किनार छेउछाउ वा अन्य खुला स्थानमा, स्थानको उपलब्धता अनुसार घाँसे वनस्पति, झाडी वा रूखहरु रोप्ने कार्यलाई व्यापकता दिने ।

९.  शहरवासीहरुलाई आ-आफ्ना घर कम्पाउण्डभित्र जमीन खाली/बाँझो राख्न दिने कुरामा दुरुत्साहित गर्ने ।

१०. खेतीयोग्य जग्गालाई प्लटिङ गरेर लामो समयसम्म त्यत्तिकै बाँझो छाड्न नपाइने व्यवस्था गर्ने । जमीन धैरे खारेर वा पहाड काटेर जथाभावी ढंगले गरिने प्लटिङ कार्यलाई नियमन गर्ने । अन्य खेतीयोग्य जग्गाहरु पनि लामो समयसम्म बाँझो छाड्न नपाइने व्यवस्था गर्ने । यदि लामो समय बाँझो रहने अवस्था भएमा रुख/वनस्पतिहरु रोप्न प्रोत्साहित गर्ने ।

११. औद्योगिक उत्पादन, कृषि वा अन्य कार्यसँग सम्बन्धित व्यवसायमा स्वच्छत्तर अभ्यास (Cleaner production Practices) अपनाउनु पर्ने व्यवस्था गर्ने ।

१२. फोहरमैला व्यवस्थापन कार्यलाई चुस्तदुरुस्त पार्ने, निश्चित समयभित्रै फोहर संकलन र ढुवानीको कार्य गरिसक्नु पर्ने व्यवस्था गर्ने, शहरवासीले निश्चित समयमा मात्र तोकिएको स्थानमा मात्र फोहर विसर्जन गर्ने व्यवस्था गर्ने ।

१३. उपत्यकाका खोला किनार र अन्य खुला स्थानमा व्यापक रुपमा हरियाली प्रवर्धन गर्ने । नयाँ सडकहरुको डिजाइन गर्ने चरणमा नै वृक्षारोपणका लागि समेत स्थान छुट्टयाउनु पर्ने व्यवस्था गर्ने र ती स्थानमा धुलो नियन्त्रणका लागि प्रभावकारी हुने प्रजातिका वनस्पतिहरु रोपण गर्ने । सार्वजनिक पार्कहरुको स्थापना र विस्तारलाई व्यापक पार्दै लग्ने ।

१४. उपत्यकाभित्र ढुंगा, बालुवा वा अन्य खानी संचालन गर्ने कार्य (जस्तै: नल्लु, चापागाउँ क्षेत्र) लाई निरुत्साहित गर्दै लग्ने ।

१५. उपत्यकाका नगरपालिकाहरुलाई धुलो निन्त्रणका कार्यहरु गर्नका लागि श्रोतसाधन, प्रविधि सम्पन्न बनाउने । जस्तै: ‘ब्रुमर’ गाडी, ‘भ्याकुम’हरुको पर्याप्त व्यवस्था गर्ने, जनशक्ति र बजेट पर्याप्त रुपमा छुट्टयाउने ।

धुलो नियन्त्रण सम्बन्धी व्यापक जनचेतना जगाउने कार्यका लागि विभिन्न प्रचारसामाग्रीहरुको उत्पादन मार्फत अगाडि बढाउन सकिन्छ । निर्माण कार्य वा धुलो उत्पन्न हुने विभिन्न कार्यमा आचार संहिता बनाएर कडाइका साथ पालना गराउने व्यवस्था गर्न सकिन्छ । टोल सुधार समिति, स्थानीय क्लब, समूह लगायतका समुदायमा आधारित संघसंस्थाहरुलाई परिचालन गरी जनचेतनामूलक कार्यहरुमा परिचालन गर्ने, निर्माण कार्य भएका स्थानहरुको, स्थानीय स्तरमा स्वयंसेवी तवरबाट समेत अनुगमन गर्न लगाउने जस्ता कार्यहरु पनि गर्न सकिन्छ ।

यसका साथसाथै काठमाडौं उपत्यकाको वायु प्रदुषण मापन तथा अनुगमनका लागि आवश्यक संयन्त्रको विस्तार गर्दै लग्नु पर्ने हुन्छ र धुलो प्रदुषण सम्बन्धी सूचना, तथ्यांक र त्यसले पार्न सक्ने स्वास्थ्यजन्य जोखिमहरुको बारेमा चाहिने सचेतनाका कार्यक्रम जनस्तरसम्म पुर्‍याउनु पर्छ । नगरपालिकाहरुले धुलो नियन्त्रणका लागि आफ्नै वातावरण संरक्षण ऐन, नियमावली, कार्यविधि, आचारसंहिता बनाएर कार्यान्वयन गर्न सक्छन् भने ऊनीहरुले आफू अन्तर्गतको वातावरण विभाग/शाखा/कार्यालयलाई थप सुदृढ, सक्षम र साधनश्रोत सम्पन्न बनाउनु पर्ने पनि हुन्छ । यी सबै कार्यको प्रभावकारी कार्यान्वयन सम्बद्ध मन्त्रालय, विभाग, कार्यालय, स्थानीय सरकार, स्थानीय संघसंस्था, नागरीक समाज सबैको सहभागिता र समन्वयमा मात्र प्रभावकारी बन्न सक्ने भएकोले यी पक्ष पनि त्यत्तिकै महत्वपूर्ण छन् । यसरी काठमाडौंको वायु प्रदुषणमा धुलोको समस्या एक प्रमुख अंशको रुपमा रहेको छ र धुलो नियन्त्रणका लागि छुट्टै कार्य योजना बनाएर कार्यान्वयन गरिएमा अझ बढी प्रभावकारी हुनसक्छ ।

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्