Logo

कर्मचारीको उदाहरणीय काम,विपन्न परिवारको घर बनाइदिने अभियान



Spread the love

२३ भदाै, गुल्मी – सोमबार भदौ २२ गते अर्थात १७ औं निजामती कर्मचारी सेवा दिवस । प्राय : कर्मचारीले आफ्नो दिवस मनोरञ्जन तथा सामान्य भेटघाट एवम् चियापान कार्यक्रम गरेर मनाए । तर, गुल्मी जिल्लाको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाका कर्मचारीले देशैभर उत्कृष्ट सन्देश दिदै निजामती सेवा दिवस मनाएका छन् ।

वर्षौंदेखि चुहिने छानो र जिर्ण बनेको झुप्रोमा आफ्ना सात सन्तानलाई हुर्काउँदै आएकी गाउँपालिकाको वडा नम्बर आठकी राधिका सुनारको घर बनाउने अभियान सुरु गर्दै आर्थिक रकम सहयोग गरि उनिहरुले निजामती सेवा दिवस मनाएका हुन् ।

आफैँमा अशक्त सुनारका श्रीमान् वैदेशिक रोजगारको लागि भारतमा भएता पनि जिर्ण घरको मर्मत गर्न सकेका थिएनन् । सात सन्तानमध्ये एक सन्तान अपाङ्ग छन् भने सबै सन्तान नाबालक नै छन् ।
जीर्ण बनेको घर उनि आफैँले मर्मत तथा नयाँ निर्माण गर्न सम्भव नदेखेपछि कर्मचारीहरुले सक्रियता देखाई दिवसको अवसरमा ७५ हजार आर्थिक सहयोग गरेका हुन् ।

गाउँपालिका भित्रका सबै कर्मचारीले आफ्नो स्वोच्छाले आँफु सक्दो रकम प्रदान गरिएको गाउँपालिका सुचना अधिकृत जगत पौडेलले सल्लेरी खबरलाई बताए ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले सल्लेरी खबरसँग भने, “कर्मचारीहरु पनि सेवा र सहयोग गर्दै जनताको घरदैलोसम्म पुग्छन् भन्ने सन्देश हाम्रा गाउँपालिकाका कर्मचारीले दिएका छन् ।”

लामो समयसम्म कष्टकर जिवन बिताएकी सुनारलाई जतिसक्दो छिटै राहत प्रदान दिने हेतुले घर बनाउनका लागि डम्बर बहादुर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय घर निर्माण समिति समेत गठन गरिएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रित बहादुर थापाले पनि गाउँपालिकाबाट सक्दो सहयोग गर्ने बताएका छन् । त्यस्तै, वडा अध्यक्ष टिका जिसिले वडाको सहयोग र आँफुले व्याक्तिगत ५ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

घाम र पानी दुबैबाट विगत १९ वर्षदेखि पीडा सहँदै खरको झुपडीमा बस्न बाध्य सुनारले राहतको महसुस गरेकी छन् भने कर्मचारीले पनि राम्रो सन्देश छाडेका छन् ।

पछिल्लो समय कर्मचारीले आँफु अनुकुल मात्र काम गर्छन्, सेवा सुविधा मात्र खोज्छन् भन्ने मान्यतालाई मालिका गाउँपालिका कर्मचारीले तोडेका छन् । उनीहरुले सबै माझा सहयोगको अपिल समेत गरेका छन् ।

त्यस्तै, घर निर्माण समितिले पनि सुनारको घर समयमै सम्पन्न गरिदिए सुनार सहित उनका सात सन्तानले सुखको अनुभुति गर्ने थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्