Logo

नेपाल भूप्रविधि समाजद्वारा नागढुंगा सुरुङमार्गबारे जुम वेबिनारको आयोजना गरिंदै



Spread the love

नेपालको सडक यातायातको इतिहासमा पहिलोपटक निर्माण भइरहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको विस्तृत जानकारी दिने तथा यसको परिकल्पना, योजना, निर्माण, र विकास कार्यमा संलग्न व्यक्तित्वहरूसँग छलफल-अन्तरकृया गर्ने हेतुले नेपाल भूप्रविधि समाज (एनजीएस)ले यही भदौ २७ गते शनिबारका दिन ‘जुम वेबिनार’ गर्ने भएको छ । 

करिब १ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास भएको नागढुंगा सुरुङमार्गको निर्माण कार्य भर्खर मात्रै सुरु भएको छ । मुआब्जा विवाद र विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा निर्माण सुरु हुन सकेको थिएन ।

नागढुंगा सुरुङमार्गबारे जुम वेबिनार कार्यक्रममा उपस्थिति जनाउनका लागि यो लिंकमा आफ्नो नाम दर्ता गर्नुहोला ।

नाम दर्ताका लागि लिंकः

https://nren.zoom.us/webinar/register/WN_-whzVlKBQwm3Bzz7QNdMXw

२.६८ किलोमिटर लम्बाइको सुरुङमार्गको चौडाइ करिब १२ मिटर र उचाइ ८ मिटर हुनेछ । यो पूर्वमा काठमाडौं टोटीपाखा, चन्द्रागिरी नगरपालिका र पश्चिममा सिस्नेखोला, धादिङमा जोडिएको छ । दुई लेनको यस आधुनिक सुरुङ मार्गमा सुरुङ बाहेक अन्डरपास, ओभरपास, इन्टरचेन्ज, सर्भिस स्टेसन, लगायतका आधुनिक संरचना समेत निर्माण हुनेछन् ।

निर्माणपछिको सुरुङमार्ग पूर्वी द्वार परिकल्पना

सडक यातायातको विकासमा अत्यन्त महत्वका साथ हेरिएको यस परियोजनाले नेपालका ईन्जिनियरहरू, अझ विशेषगरी भू-प्राविधिक ईन्जिनियर तथा भू-विज्ञहरूलाई धेरै कुराहरू सिकाउने छ । भू-प्रविधि/भू-विज्ञानका हिसाबले एकदमै जोखिमपूर्ण मानिने यस्ता योजनाले नेपाली ईन्जिनियरलाई ठूलो सीप सिक्ने अवसर दिदैं नेपाललाई सुरुङ यातायातको इतिहासमा एउटा सुनौलो अवसर दिने महासचिव ई. मन्दिप सुबेदीले बताएका छन् ।

तसर्थ, यस परियोजनाको बारेमा विस्तृत जानकारी दिनुका साथै यसबारे छलफल-अन्तरकृया गर्ने हेतुले यही मिति २०७७ साल भदौ २७ गते (सेप्टेम्बर १२ तारिख) मा नेपाली समय अनुसार दिउँसो १ बजेदेखि ३ बजेसम्म जुम-वेबिनारको आयोजना गर्न लागिएको छ ।

कार्यक्रममा नागढुंगा सुरुङमार्गमा कार्यरत सडक विभाग ईन्जिनियर कल्पना अधिकारी र परामर्शदाता कम्पनी निप्पोन कोईका ई. यशुइरो नोजुले प्रिजेन्टेसन प्रस्तुत गर्ने छन् भने पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधर, हाइड्रो टनेलिङ एण्ड रिसर्च नेपालका डा. पवन कुमार श्रेष्ठ र नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रा.डा. कृष्ण कान्त पन्थी कमेन्टेटरको रुपमा रहनेछन् । छलफल-अन्तरकृया कार्यक्रमको सहजीकरण समाजका पूर्व अध्यक्ष ई. टुकलाल अधिकारीले गर्ने छन् भने समापन मन्तव्य सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले राख्नेछन् ।

कार्यक्रमको फेसबुक लाइभ नेपाल भूप्रविधि समाज (एनजीएस)को फेसबुक पेजबाट पनि गरिने छ ।

प्रतिक्रिया दिनुहोस्