Logo

भक्तपुरको रहस्यमय मृत्यु, कसरी बाहिरियो घटना ? के भन्छन् छिमेकी ?



Spread the love

२७ भदाै, भक्तपुर – भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेको अवस्थामा शुक्रबार साँझ शव फेला परेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमा रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका तीन जनाको हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

आफ्नै घरको चौथो तलाको भान्छाबाट कौशीमा निस्कने ठाउँमा ३६ वर्षीय सुदीप, दोश्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेश्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । दोश्रो तलाको भर्‍याङ नजिकै कुकुरसमेत मरेको अवस्थामा भेटिएको उनले जानकारी दिए ।

मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि घटेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, अपराध अनुसन्धान महाशाखाको अनुसन्धान विज्ञ टोलीसहितले राति ८:३० बजेपछिसम्म घटनास्थलमै रहेर अनुसन्धान गरेको छ ।

महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाले घरका तीन जनाको शंकास्पद मृत्यु भएको पाइएको जानकारी दिए । कुनै धारिलो हतियार प्रयोग गरेर हत्या गरेको नपाइएको जानकारी दिँदै उनले अनुसन्धान जारी रहेकाले अहिले नै यही हो भनेर भन्न नसकिने बताए ।

कसरी बाहिरियो घटना ?

शुक्रबार करिब ४:०० बजे मृतकका भाइ सुनिल अधिकारीले दाजुको घर पुगेका थिए । घरमा आइपुग्दा घरको दोश्रो तलामा कुकुर र सम्झनाको शव, तेस्रो तलामा सुशान्त तथा माथिल्लो तलामा सुदीपको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकका भाइ सुनिलका अनुसार घरको पहिलो तल्लादेखि माथिका सबै तलाको ढोकामा चुकुल नलगाएको अवस्था थियो ।

के भन्छन् छिमेकी ?

मृतकको घरसँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका परिवार बाहिर ननिस्किएको जानकारी दिइन् । तीन दिन अघिसम्म मृतकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिँदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्