Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४२९
संक्रमित
६६,६३२
निको भएका
४८,०६१

सहरी वनको विस्तार



“वी निड द टोनिक अफ वाइल्डरनेस; वी क्यान नेभर ह्याब इनफ अफ नेचर ।”

– हेनरी डेभिड थोरो


दार्शनिक हेनरी डेभिड थोरोको यो उक्ति मलाई एक मन पर्ने उक्ति हो । प्रकृतिका निकट सुस्ताउँदा मानिसले भेटाउन सक्ने शान्ति, सम्मोहन र सौन्दर्य वास्तवमै अनुपम हुन्छ । घरबाट कार्यालय आउजाउ गर्दा देखिने थापाथली चोक नजिकै कुमारी मन्दिरको आडमा उभिएका सल्लाका केही अग्ला रुखहरूले मलाई त्यस्तै सम्मोहित बनाउँछ ।

वन प्रकृतिको त्यस्तै उपहार हो, तर मानिसले सहरी सभ्यतातिर प्रवेश गर्दै गर्दा प्रकृतिका यस्ता अनुपम उपहारहरूबाट भने टाढिँदै गएको अनुभूति हुन्छ । हाम्रै राजधानी काठमाडौँमा पनि दिनप्रतिदिन प्राकृतिक वनको विस्तार भएको छैन, सिर्फ सहर आफैँ कङ्क्रिटका घरहरूको जङ्गलको रूपमा विस्तारित हुँदै गएको छ । सहरीकरण तीव्र रूपमा बढ्दै गएको छ, तर यो अव्यवस्थित रूपमा छ । आगामी दिनहरूमा सहरी जनसङ्ख्या र वातावरणको व्यवस्थापन चुनौतीपूर्ण हुँदै जाने निश्चित छ ।

काठमाडौँ उपत्यकाका सडक किनाराहरूमा हरियाली कायम गराउने गराउने धारणाले चौधौँ शताब्दी देखि नै प्रवेश पाएको देखिन्छ ।

वातावरणलाई स्वच्छ र हराभरा बनाउने उद्देश्यले सहरी क्षेत्रमा गरिने वृक्षारोपण तथा भएका वनको विस्तार र जगेर्ना गर्ने कार्यलाई सहरी वन विज्ञानको रूपमा लिन सकिन्छ । सडक किनार र घना बस्तीमा हुर्काइएका बिरुवाहरूले वाष्पीकरण मार्फत सहरी क्षेत्रमा विभिन्न माध्यमबाट उत्पन्न तापमानलाई सन्तुलनमा राख्दै शीतलता प्रदान गर्न, सडक र घरहरूमा शीतलता प्रदान गर्ने, मानिसहरूलाई सुबिस्ता महसुस गराउने, धुलो तथा अन्य प्रदूषणहरूको अवशोषण गरेर वायु गुणस्तर सुधार गर्ने कार्य गर्छन् भने कार्बन अवशोषण, जलप्रशोचन, ध्वनि नियन्त्रण, ट्राफिक नियन्त्रणमा भूमिका खेल्न सक्छन् । सडक छेउमा रोपिएका वनस्पतिका सुन्दर लहरहरूले सडकको दृश्यलाई त लोभलाग्दो बनाउँछ नै, यात्रुलाई पनि छुट्टै आनन्द दिलाउँछ । सहरी वनले हरियालीपूर्ण सौन्दर्य प्रवर्धन गर्ने त छँदैछ, भूक्षयलाई नियन्त्रण गर्न, प्राकृतिक विविधताको जगेर्ना गर्दै सामाजिक मनोरञ्जनात्मक क्रियाकलापलाई बढवा दिँदै सामाजिक सामञ्जस्यता र समावेशीपनाको अभिवृद्धि गर्नका लागि सार्वजनिक खुला स्थान उपलब्ध गराउन, त्यस वरिपरिका स्थानको महत्त्वलाई बढाउन र पर्यटक आकर्षित गर्न पनि भूमिका खेल्न सक्छ । यसले वातावरणीय स्वच्छता र दिगोपना कायम राख्न मदत पुर्‍याउनुको साथै भूमिगत पानीको पुनर्भरणमा सघाउ पुर्‍याउने, सहरी भेल बाढीलाई कम गर्नमा भूमिका खेल्ने जस्ता अन्य पारिस्थितिकीय सेवाहरू पनि प्रदान गर्न सक्छन् । भनिन्छ, सहरी हरियालीको प्रवर्धनले एक चौथाइसम्म प्रदूषण कम गराउने भूमिका खेल्न सक्छ । यस पृथ्वीको विशाल भूतलका ठाउँअनुसार विभिन्न प्रकारका हावापानी हुन्छन् । सोहीअनुरूप विभिन्न प्रकारका वन, वनस्पति एवं जीव–प्राणीहरू त्यहाँ स्थापित हुन्छन् । हावापानी र वातावरणको लामो अन्तरालपछि सोही वातावरण र हावापानीलाई प्रतिबिम्बित गर्ने रैथाने वन, वृक्ष, वनस्पति एवं जीव–प्राणीको त्यहाँ विकास हुन्छ  र एउटा निश्चित पारिस्थितिकीय प्रणाली स्थापना हुन्छ । (डा. तीर्थ बहादुर श्रेष्ठ, काठमाडौँका रैथाने, श्रावण १०, कान्तिपुर) । सहरी
क्षेत्रभित्र स्थापना भएका वा संरक्षित सहरी वनले त्यहाँको निश्चित पारिस्थितिकीय प्रणालीमा आफ्नै विशिष्ट पहिचान बनाउन र भूमिका खेल्न सक्छन् । थुप्रै रैथाने वनस्पतिहरूलाई जोगाएर राख्दै हाम्रो सहरी जैविक विविधतालाई समृद्ध बनाउन सक्छन् ।

काठमाडौँ उपत्यकाका सडक किनाराहरूमा हरियाली कायम गराउने गराउने धारणाले चौधौँ शताब्दी देखि नै प्रवेश पाएको देखिन्छ । जयस्थिति मल्ल राजाका समयमा नै सडकछेउ र बस्ती वरपरका रुख काट्नेहरूलाई कडा जरिवानाको व्यवस्था गरिएको थियो । मानिसहरूले बटुवाका सुविधाका लागि पनि सडक छेउमा वर, पीपल, शमी लगायतका बिरुवाहरू रोपेर हुर्काउने गर्दथे । पछि चन्द्रशमशेरले सडक किनारमा बिरुवाहरू रोप्ने अभ्यासलाई प्रोत्साहित गरेका थिए । सन् १९६० र ७० ताका काठमाडौँ उपत्यकामा आधुनिक सहरी वातावरणीय योजना तर्जुमाको अवधारणाले प्रवेश पाउँदै गर्दा सडक विस्तार र सुधारको सिलसिलामा सडकछेउका ती रुखहरूलाई सकभर जोगाउने प्रयत्न गरिएको थियो । चक्रपथ बनाइँदा पनि हरित पेटीका लागि निश्चित जग्गा छाडेर लहरे पीपल, ज्याकाराण्डा लगायतका छिटो बढ्ने प्रजातिका विभिन्न वृक्षहरू व्यापक रूपमा रोपिएका थिए ।

चक्रपथभित्र रहेको एक मात्र सामुदायिक वन, रानीवारी सामुदायिक वन काठमाडौँ महानगरपालिकाको लाजिम्पाट र सामाखुसी छेउमा ६.९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो वनले सहरकै बिचमा रहेर पनि वानस्पतिक विविधता जोगाउने र अनेकौँ पंक्षीहरुलाई आश्रय दिने काम गर्दै आएको छ ।

सहरवासीको स्वस्थ र दीर्घ जीवनका लागि सहरी वनले ठुलो भूमिका खेल्ने सक्ने भए पनि यसले अझसम्म कमै महत्त्व मात्र पाउन सकेको छ । सहरी वनको अवधारणा नेपालमा अझै प्रारम्भिक अवस्थामा छ । काठमाडौँ उपत्यकाको चक्रपथ भित्रको स्वयम्भूको थुम्को वरिपरि रहेको वन, गौशाला, भण्डारखाल र वनकालीको वन, म्हेपी धार्मिक वन र रानीवारी सामुदायिक वनले कङ्क्रिटको जङ्गलको बिचमा पनि आफ्नो पृथक् उपस्थिति देखाउन सकेका छन् । त्यसो त चक्रपथ छेउछाउ र अलिक परसम्म जाने हो भने पशुपतिको श्लेष्मान्तक वन र गोकर्णका वनले घना शहरीक्षेत्र नजिकै रहेर पनि अस्तित्व जोगाई राख्न सकेको छ । चक्रपथभित्र रहेको एक मात्र सामुदायिक वन, रानीवारी सामुदायिक वन काठमाडौँ महानगरपालिकाको लाजिम्पाट र सामाखुसी छेउमा ६.९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो वनले सहरकै बिचमा रहेर पनि वानस्पतिक विविधता जोगाउने र अनेकौँ पंक्षीहरुलाई आश्रय दिने काम गर्दै आएको छ । उक्त वनमा उपभोक्ता
समिति र नेपाल पक्षी संरक्षण संघको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र स्थापना पनि गरिएको छ । एक अध्ययन अनुसार रानीबारी वनमा हाल ६७ प्रजातिका चरा भेटिएको तथ्यांक छ । यस वनभित्र थुप्रै मानिसहरू बिहान बेलुकी हिँड्न र शारीरिक व्यायाम गर्न जाने गर्दछन् । खुला वातावरण, स्वच्छ हावा र हरियालीले मानिसहरूलाई प्रदान गर्ने ताजगी, स्फूर्ति र मानसिक शान्ति त आफ्नो ठाउँमा छँदैछ । काठमाडौँको बढ्दो जनसङ्ख्यासँगै वन क्षेत्र मासिँदै गएको अवस्थामा रानीवारी सामुदायिक वन भने नमूना वनका रूपमा विकास हुँदै गएको छ ।

त्यसो त काठमाडौँ महानगरपालिका नेपालका नगरपालिकाहरू मध्ये वनले ढाकेको क्षेत्र सबभन्दा न्यून भएको मध्येमा पर्छ । सहरी विकास मन्त्रालयले प्रकाशित गरेको राष्ट्रिय सहरी विकास रणनीतिका अनुसार सन् २०११ मा काठमाडौँ महानगरपालिकामा तीन प्रतिशत वन क्षेत्र थियो भने तत्कालीन पोखरा नगरपालिकामा १० प्रतिशत वन क्षेत्र थियो । एक अध्ययनले पहाडी क्षेत्रका नगरपालिकामा कुल भूभागको वन क्षेत्र २२ प्रतिशत र तराई क्षेत्रमा १७ प्रतिशत रहेको देखाएको छ । हालसालैको अध्ययनमा भने काठमाडौँ महानगरपालिकामा २.२ प्रतिशत र ललितपुर उपमहानगरपालिकामा २ प्रतिशत वन क्षेत्र रहेको देखिएको छ । विराटनगर र जनकपुर उपमहानगरपालिकामा वन क्षेत्र रहेको देखिएको छैन । हेटौँडा, पोखरा, भरतपुर, बुटवल र धनगढी उपमहानगरपालिकाहरू तथा वीरेन्द्रनगर नगरपालिकामा भने कुल भूभागको उल्लेख्य मात्रामा (सबैमा एक तिहाइ भन्दा बढी भूभाग) वन क्षेत्र रहेको देखिन्छ ।

अहिले काठमाडौँ उपत्यकामा व्यापक रूपले जनसङ्ख्या वृद्धि हुँदा र अव्यवस्थित सहरीकरण बढ्दा यहाँको वातावरणीय स्वच्छतामा अभूतपूर्व चाप परेको छ र यसलाई कम गराउने विभिन्न सरकारी निकाय र अन्य गैरसरकारी संस्थाहरूले वृक्षारोपणका कार्यहरूलाई अगाडि बढाउँदै आएका छन्, तर यी वृक्षारोपणका कार्यलाई अझ बढी व्यवस्थित र वैज्ञानिक बनाउने दिशामा भने अपेक्षित रूपमा अध्ययन, अनुसन्धानहरू हुन सकेका छैनन् । सहरी वन क्षेत्रको अवधारणालाई
अहिलेसम्म सहरी भू उपयोग र योजना तर्जुमा प्रक्रियामा पर्याप्त मात्रामा एकीकृत गर्न सकिएको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको काम, कर्तव्य र अधिकारमा स्थानीय स्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्धन गर्न सकिने, स्थानीय स्तरमा सामुदायिक, ग्रामीण, सहरी, धार्मिक, कबुलियती र साझेदारी वनको संरक्षण, संवर्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन गर्न सकिने कुरा उल्लेख गरिएको छ ।

त्यसैले हुनसक्छ, पछिल्ला दिनहरूमा सहरी क्षेत्रभित्र प्राकृतिक स्रोतको संरक्षण र हरियाली प्रवर्धनको विषयले नीतिगत कुरा र कानुनी प्रावधानहरूमा प्रवेश पाउन थालेको छ । २०६१ सालमा जारी नगर विकास निर्देशिकामा आफ्नो क्षेत्रको भौतिक योजना तर्जुमा गर्दा नदी, खानेपानीको स्रोतक्षेत्रहरु, जङ्गल, कृषि, जमिन जस्ता प्राकृतिक स्रोतक्षेत्रहरु तथा वातावरणीय दृष्टिकोणले संवेदनशील क्षेत्रहरू जस्तै: भूकम्प तथा पहिरो सम्भावित क्षेत्रहरू, वन, कृषि जमिन जस्ता प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने कुरा उल्लेख गरिएको थियो । राष्ट्रिय सहरी नीति, २०६४ मा पनि प्राकृतिक स्रोतहरूको संरक्षण गर्न बस्ती विकास र बस्ती विकास निषेधित क्षेत्र तोकी बस्ती विकास निषेधित क्षेत्रमा कृषिजन्य, वनजन्य र मनोरञ्जनात्मक क्रियाकलापहरूलाई प्रोत्साहित गर्ने भन्ने कुरा उल्लेख गरिएको छ भने राष्ट्रिय सहर विकास रणनीति, २०७२ मा पनि सहरी क्षेत्रमा न्यूनतम वन तथा खुला क्षेत्रहरू निर्धारण गर्ने कुरा उल्लेख गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको काम, कर्तव्य र अधिकारमा स्थानीय स्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्धन गर्न सकिने, स्थानीय स्तरमा सामुदायिक, ग्रामीण, सहरी, धार्मिक, कबुलियती र साझेदारी वनको संरक्षण, संवर्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन गर्न सकिने कुरा उल्लेख गरिएको छ । त्यसै गरी, २०७६ सालमा जारी गरिएको वन ऐनमा स्थानीय तहले सार्वजनिक जग्गामा वनको विकास, संरक्षण, व्यवस्थापन, गर्न र वन पैदावारको उपयोग तथा बिक्री वितरण गर्न सक्ने र यस कामका लागि डिभिजन वन कार्यालय वा सब डिभिजन वन कार्यालयले स्थानीय तहलाई आवश्यक प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउन सक्ने, सडक, नहर बाटो किनारमा लगाइएको तथा बाटोमा छहारी पर्ने रुखहरू र चौतारा, कुलाको मुहान, धार्मिक स्थल वा यस्तै अन्य संवेदनशील ठाउँमा लगाइएका रुखहरू तोकिए बमोजिमको कार्यविधि पूरा गरी काट्न वा हटाउन सक्ने, आफ्नो क्षेत्रभित्रको सहरी क्षेत्र तथा बस्तीमा रहेका सार्वजनिक सडक तथा पार्क जस्ता स्थानमा आफैँले वा कुनै संघसंस्था वा निजी क्षेत्रको साझेदारीमा सहरी वनको विकास तथा व्यवस्थापन गर्न सक्ने, यसरी स्थापना हुने सहरी वनको विकासको लागि आवश्यक पर्ने प्राविधिक सहयोग कामका लागि डिभिजन वन कार्यालय वा सब डिभिजन वन कार्यालयले उपलब्ध गराउनु पर्ने, सहरी वनको वन पैदावार सम्बन्धित स्थानीय तहले तोकिए बमोजिम प्रयोग गर्न सक्ने कुराहरू उल्लेख गरिएका छन् ।

यसले गर्दा सहरी वातावरणमा वन क्षेत्र र हरियालीको महत्त्वलाई बुझेर यसको प्रवर्धनमा लाग्न नगरपालिका र अन्य सम्बन्धित निकाय तथा संस्थाहरूका बिचमा समन्वय र सहकार्यको आवश्यकता बढ्दै गएको छ । अहिले चक्रपथको नयाँ बनेको खण्डमा वन तथा भूसंरक्षण विभाग र सडक विभाग समेतको सहकार्य, समन्वयमा वृक्षारोपण गरिएको छ भने सहरभित्रका पनि सडक किनाराहरूमा पनि थुप्रै व्यावसायिक संस्थाहरूसँगको साझेदारीमा नगरपालिकाहरुले सडक किनारा वृक्षारोपण अभियानलाई अगाडि बढाएका छन्, जुन स्वागतयोग्य कुरा हो । यस्तै किसिमको अभियान बागमती तथा विष्णुमती नदी किनारका खाली स्थानहरूमा पनि अघि बढ्दै गएको छ । यसै वर्षको वातावरण दिवसको अवसरमा ‘एक घर एक रुख’ को अभियानको पनि सुरुवात गरिएको छ भने प्रत्येक ७५३ स्थानीय तहमा नै कम्तीमा १० प्रतिशत वन क्षेत्र कायम हुनुपर्ने कार्यक्रम पनि ल्याइएको छ । पोखरामा नयाँ घर बनाउने नगरवासीले कम्तीमा दुई वटा बिरुवा
रोपेपछि निर्माण सम्पन्न प्रमाणपत्र दिइने प्रावधान राखिएको थियो, पछि हटाइयो ।

संसारभरि नै वातावरण संरक्षण प्रतिको मानिसहरूको बढ्दो चासो र अभिरुचि देखिएको छ । समयसँगै नगरवासीहरूमा सहरी वनप्रतिको धारणा सकारात्मक बन्दै जानु उत्साहजनक छ । सहरी वनका सम्बन्धमा सरकारी निकाय र विश्वविद्यालयबाट केही अध्ययन अनुसन्धानहरू भएका छन् । यद्यपि थुप्रै नगरपालिकाहरुले अझै पनि सहरी वनको अवधारणालाई आत्मसाथ गर्दै निश्चित, योजना, कार्यक्रम र गतिविधिहरूलाई अगाडि बढाउन सकेका छैनन् । सहरी वनको विस्तार र संरक्षणलाई संवर्धन गर्न तथा टेवा पुर्‍याउन जुन किसिमले एकीकृत प्रयासहरूलाई अगाडि बढाउनु पर्ने हो, त्यो अपेक्षित रूपमा हुन सकेको छैन । यस कार्यमा कम्तीमा नगरपालिका, वन तथा भूसंरक्षण विभाग र वनस्पति विभाग तथा स्थानीय टोल, समुदायमा आधारित संघसंस्थाहरुका बिचमा सहकार्य र समन्वय बढ्दै जानुपर्छ । वन तथा भूसंरक्षण विभागमा सहरी वनको क्षेत्रमा काम गर्न सहरी वन तथा सार्वजनिक विकास समन्वय शाखा स्थापना त भएको छ, यसका साथै नगरपालिकाहरूमा पनि सहरी वनलाई विस्तार र संवर्धन गर्न स्पष्ट भूमिका सहितको संस्थागत संयन्त्र हुनु आवश्यक देखिन्छ ।

वास्तवमा यस कार्यमा नगरपालिकाहरू आफैँले पहलकदमी लिन सक्छन् भने उपत्यका नगरपालिका मञ्च जस्ता संस्थाहरूको भूमिका पनि यसमा महत्त्वपूर्ण हुनसक्छ । अहिले काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका खुला स्थानहरूमा पार्क बनाउने र अन्य नगरपालिकाहरुलाई पनि पार्क विस्तारमा सहयोग गर्ने कार्यक्रम अगाडि बढाइराखेको छ । सडक किनारा र चोकका खाली स्थानहरू, मन्दिर, गुम्बा, पोखरी, स्कुल, कलेज, कार्यालय, नदी किनार वरपर भएका खुला स्थान र निजी घर कम्पाउन्डभित्रका जग्गाहरूलाई सहरी वन प्रवर्धनमा अधिकतम उपयोग गर्न सकिन्छ । यी स्थानहरूको गुरु योजना वा भू उपयोग योजना बनाउँदा नै वृक्षारोपण गरिने, हरियाली प्रवर्धन गर्न सकिने वा सहरी वनको रूपमा विकसित गर्न सकिने स्थानहरू छुट्टयाउन सके निकै वेश हुन्छ ।

सडक, गल्लीहरूको डिजाइन गर्दा नै वृक्षारोपणको योजनालाई एकीकृत गरेर अगाडि बढाउन सकिन्छ र सहरी वातावरणीय गुणस्तरीयतालाई कसरी अधिकतम तुल्याउने भन्ने पक्षमा ध्यान दिनुपर्छ । यी पार्कहरूमा सकभर रैथाने वनस्पतिहरूलाई प्रवर्धन गर्ने किसिमले बोटबिरुवाहरू लगाउन सकिन्छ । कुन स्थानमा कुन प्रजाति बिरुवाहरू छनौट गर्दा, त्यहाँको परिवेश र आवश्यकता अनुसार उपयुक्त हुने, सौन्दर्य वृद्धिमा निखार ल्याउन सक्ने, ती बिरुवाहरूलाई कसरी रोप्ने, हुर्काउने र स्याहार सम्भार गर्ने भन्ने कुरामा वनस्पति विभाग र वन तथा भूसंरक्षण विभागको प्राविधिक ज्ञान, दक्षताको अधिकतम उपयोग गरी सहरी वनको विस्तार कार्यक्रमलाई थप परिष्कृत तुल्याउन सकिन्छ । कतिपय बिरुवाहरू सौन्दर्यका दृष्टिकोणले ज्यादै उपयुक्त लाग्छन्, तर स्याहार सम्भारका दृष्टिकोणले त्यो महँगो हुन पनि सक्छ । जस्तै: हेटौँडाको सहर किनारामा लगाइएका अशोकका वृक्षहरू छिटो छिटो बढ्ने, तर ती रुखहरू विद्युत् प्रसारण लाइनका मुनि रहेका हुँदा तिनीहरूको प्रत्येक वर्षको काँटछाँट महँगो साबित भएको छ ।

मानिसहरूलाई निजी जग्गा, कम्पाउन्डभित्र पनि रुखबिरुवाहरु हुर्काउन प्रोत्साहित गर्ने उपयुक्त नीति तथा संयन्त्रको पनि अभाव देखिएको छ ।
काठमाडौँ उपत्यकामा सहरी वन लगायतको हरियाली र सौन्दर्य प्रवर्द्धन गर्ने काममा संघीय सरकार, नगरपालिकाहरू तथा गैरसरकारी संघसंस्थाहरू मिलेर अगाडि बढ्ने अवस्था अझै बनेको छैन ।

सहरी वनका लागि रुखहरूका प्रजाति छनौट गर्दा रुखको बाँच्न र हुर्कन सक्ने सम्भावना, सदाबहार हरियाली, वृद्धिदर, साइज र उचाइ, हाँगाको फैलावट, फूलको किसिम, सौन्दर्य, जराको प्रकृति, हेरचाह, काँटछाँटको आवश्यकता, जैविक विविधता, पशुपक्षीलाई दिने सक्ने आश्रय, स्थानीयको रुचि जस्ता पक्षमा ध्यान दिनुपर्ने हुन्छ । व्यस्त सडक किनाराहरूमा लगाइने वनस्पतिका प्रजातिहरू छनौट गर्दा, अलिक अग्लो भएपछि मात्र हाँगा फिजाँरिएर जाने र छेउबाट गुड्ने
सवारीसाधनहरूको आवागमनमा असर नपुर्‍याउने, ट्राफिक दृष्टिमा अवरोधक भएर दुर्घटनाहरू गराउने सम्भावना नभएका, सकभर धेरै धुलो अवशोषण गर्ने, स्थानीय हावापानी र माटोमा हुर्काउन सजिलो र स्याहारसुसारमा कम खर्च लाग्ने, मजबुत काण्ड भएका, सदाबहार, सडकको किसिम र प्रकृति अनुसार त्यसको सौन्दर्यमा थप निखार ल्याउन सक्ने, सहरी परिवेश अनुसार त्यसको सामाजिक-सांस्कृतिक र वातावरणीय लाभलाई अधिकतम तुल्याउन सक्ने जस्ता कुराहरूमा विचार पुर्‍याएर गर्न सकिन्छ । सडक किनारा र नदी किनारमा रोप्नका लागि फरक फरक प्रजातिका बिरुवाहरू उपयुक्त हुन सक्छन् । भूक्षय, पहिरो, सहरी भलबाढी जस्ता विपद्जन्य जोखिमहरूको न्यूनीकरण गर्ने हिसाबले पनि सहरी वनको प्रवर्धन गर्न सकिन्छ । यसरी हुर्काइएका रुखहरूले सहरी वातावरण र आर्थिक दुवै पक्षमा योगदान दिन सक्ने गरी फलफूलका रुखहरू हुर्काउन पनि सकिन्छ । सहरी वनको पारिस्थितिकीय, आर्थिक, सामाजिक योगदान र व्यवस्थापन अभ्यासका बारेमा अझ थप अध्ययन, अनुसन्धानको आवश्यकता पनि देखिएको छ ।

तथापि देशको वातावरण र वन क्षेत्रका नीति निर्माण र निर्णयकर्ता तहसम्मको ध्यान सहरी वनको अवधारणाले अझै तान्न सकेको छैन । अव्यवस्थित सहरीकरण, खुला र सार्वजनिक स्थानहरूको अतिक्रमण, भू उपयोग नीतिहरूको कार्यान्वयनमा देखिएको फितलोपना जस्ता कारणहरू सहरी वनको विस्तारमा बाधक बनेका छन् । मानिसहरूलाई निजी जग्गा, कम्पाउन्डभित्र पनि रुखबिरुवाहरु हुर्काउन प्रोत्साहित गर्ने उपयुक्त नीति तथा संयन्त्रको पनि अभाव देखिएको छ ।
काठमाडौँ उपत्यकामा सहरी वन लगायतको हरियाली र सौन्दर्य प्रवर्द्धन गर्ने काममा संघीय सरकार, नगरपालिकाहरू तथा गैरसरकारी संघसंस्थाहरू मिलेर अगाडि बढ्ने अवस्था अझै बनेको छैन । सहरी वनका लागि सार्वजनिक स्थानहरू पर्याप्त उपलब्ध नहुनु तथा भएका सार्वजनिक जग्गाहरू पनि विभिन्न प्रयोजनका लागि टुक्रिँदै जानु, अतिक्रमित हुनु, प्राय: सडकहरू साँघुरा हुनु, योजनाबद्ध र समन्वयात्मक प्रयासहरूको अभाव हुनु, वृक्षारोपणका लागि उपयुक्त वनस्पतिका प्रजातिहरू छान्नका लागि पर्याप्त ज्ञानको अभाव हुनु, प्रायजसो: नगरपालिकासँग सहरी विकासको उपयुक्त नीति र योजना नहुनु, सहरी क्षेत्रमा रोपिएका रुखहरूको हेरचाह र अधिकारका बारेमा वन ऐन र स्थानीय सरकार सञ्चालन ऐनका कतिपय बुँदाहरू बाझिने जस्ता कारणहरू सहरी वनको विस्तारमा देखिएका चुनौतीका रूपमा देखिएका छन् । नगरपालिकाहरूमा वन प्राविधिकहरूको संलग्नता नभएको हुँदा सहरी क्षेत्रका रुखहरूको व्यवस्थापनमा समस्या देखिने गरेको छ । सहरी क्षेत्रमा माटोको कमसल गुणस्तर, साँघुरो स्थानमा रुखलाई हुर्काउने र हेरचाह गर्ने कठिनाइ, रुखहरूको काँटछाँट नियमित रूपमा गरिरहनुपर्ने, सहरी क्षेत्रका जोखिमयुक्त रुखहरुले पुर्‍याउने क्षतिका क्षतिपूर्तिका बारेमा कुनै स्पष्ट प्रावधान नहुनु, विद्यमान जीर्ण, पुराना र वृद्ध रुखहरूको व्यवस्थापन, नगरपालिकाहरुले सहरी वन विकासका योजना, कार्यक्रम, गतिविधिहरूलाई प्राथमिकतामा नराख्नु, सम्बन्धित निकाय र सरोकारवालाहरूका बिच सहयोग र
समन्वयको अभाव, वनस्पतिविद, माटो विशेषज्ञ, वन प्राविधिक, माली, सहरी योजनाविद, भू दृश्य वास्तुविद जस्ता यथेष्ट जनशक्तिको सहरी वन विकासको कार्यक्रममा पर्याप्त संलग्नता नहुनु, यस सम्बन्धमा निजी-सार्वजनिक साझेदारीले स्थान पाउन नसक्नु, सहरी वन व्यवस्थापनका लागि नगरपालिकाहरूसँग छुट्टै संस्थागत संयन्त्र नहुनु जस्ता पक्षहरू सहरी वन विस्तारमा चुनौतीका रूपमा देखिएका छन् । सहरी क्षेत्रमा रुखहरू हुर्काउनका लागि त्यहाँको वातावरणीय संवेदनशीलता र प्रदूषण, किट र रोगको प्रकोप, पोषणको अभाव, पानीको नियमित सेचन, पर्याप्त प्रकाशको अभाव, रुख रोप्न बनाइएका संरचना तोडफोड गरिदिने, रुखबिरुवाहरु भाँचिदिने, उखेलिदिनबाट सुरक्षा दिने कुराहरू पनि चुनौतीपूर्ण छन् । सहरी वनको तथ्यांक राख्ने कामको सुरुवात हुन सकेको छैन भने यस सम्बन्धित गतिविधि, कार्यक्रमहरूको नियमित अनुगमन,
मूल्याकंन पनि हुन सकेको छैन ।

सहरी वनका लागि सर्वप्रथमत: दिगो योजना र व्यवस्थापनका लागि सार्वजनिक र खुला जग्गाहरूको पहिचान हुनु आवश्यक देखिएको छ । नगरपालिकाहरू पूर्ण रूपमा सहरीकरणमा नगइसकेका वडाहरूमा कुनै पनि पूर्वाधार विकास गर्दा निश्चित जग्गा खालि छाडेर वा भएका खालि जग्गाहरूमा सहरी वनका लागि छुट्टाउन सक्छन् ।

नगरपालिका, सडक विभाग, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूहहरू, सामुदायिक संघसंस्थाहरु, मन्दिर र स्कुल व्यवस्थापन समितिहरू, युवा क्लबहरू कुनै न कुनै रूपमा सहरी वन व्यवस्थापनमा संलग्न भएका त देखिन्छन्, तथापि दीर्घकालीन योजनाको अभावमा तिनीहरूको राम्रो व्यवस्थापन हुन सकेको छैन र सहरी वनको विस्तारमा अपेक्षित मात्रामा सामुदायिक संलग्नता र अपनत्वभावको विकास पनि हुन सकेको देखिँदैन । यसका लागि
नगरपालिका, सडक विभाग र वन तथा भूसंरक्षण विभाग, स्थानीय संघसंस्थाहरुका बिचमा पारस्परिक सहयोग, समन्वय र अनुगमनको अभाव देखिन्छ । विभिन्न स्थानीय संघसंस्थाहरुलाई वृक्षारोपण, पार्कको स्याहारसुसारमा संलग्न गराउन सकिन्छ ।

तसर्थ, सहरी वनका लागि सर्वप्रथमत: दिगो योजना र व्यवस्थापनका लागि सार्वजनिक र खुला जग्गाहरूको पहिचान हुनु आवश्यक देखिएको छ । नगरपालिकाहरू पूर्ण रूपमा सहरीकरणमा नगइसकेका वडाहरूमा कुनै पनि पूर्वाधार विकास गर्दा निश्चित जग्गा खालि छाडेर वा भएका खालि जग्गाहरूमा सहरी वनका लागि छुट्टयाउन सक्छन् । सहरी योजना तर्जुमा गर्दा नै सहरी वनका लागि पर्याप्त स्थान छुट्टाउन सकिन्छ भने यस सम्बन्धित कार्यक्रमलाई राष्ट्रिय योजना र कार्यक्रममा पनि समावेश गर्न सकिन्छ । धार्मिक स्थल वरिपरिका खालि स्थानहरूमा सहरी वन विस्तार गर्न सकिने प्रचुर सम्भावना छ । तराईका नगरपालिकाहरूमा प्रशस्त खुला, सार्वजनिक स्थानहरू भएको, तर ती नगरपालिकामा वन क्षेत्र धेरै कम भएको अवस्थामा सहरी वन विस्तारका कार्यक्रमलाई सघन रूपमा अगाडि बढाउन सकिन्छ । सहरी वनको विस्तारलाई प्रोत्साहित गर्न नगरपालिकाहरूसँग स्पष्ट दृष्टिकोण, प्रभावकारी योजना तर्जुमा, सहरी वनमैत्री नीतिहरू र उपयुक्त अभ्यासहरू भएमा अपेक्षित नतिजाहरू हासिल हुन सक्ने देखिन्छ । यसका लागि व्यापक जनचेतनाको पनि उत्तिकै खाँचो छ । सहरी वनको विस्तारका क्रममा आउने चुनौती र नयाँ सोचहरूका बारेमा बुझ्न, यस सम्बन्धी अवधारणा र अभ्यासका अनुभव, ज्ञानहरूको साझेदारी गर्न धेरै भन्दा धेरै बहस, छलफल, अन्तरक्रियाहरू हुनु आवश्यक छ । यसमा गैर सरकारी संस्था, प्राज्ञिक समुदाय, अनुसन्धानमूलक संस्थाहरू, वातावरणविदहरुसँग समेत हातेमालो गरेर सहरी वन विस्तारको अभियानलाई बढी प्रभावकारी बनाउँदै लग्न सकिन्छ । सहरी सडकहरूको डिजाइन र निर्माणमा सडक किनारा वृक्षारोपणको अभियानलाई एकीकृत गरेर लग्न सकिन्छ र नगरपालिकाहरुले प्रत्येक घरधुरीहरूले निश्चित सङ्ख्यामा बिरुवाहरू रोपेर हुर्काउनै पर्ने, आफ्नो वरपर रहेका रुखबिरुवाहरुको संरक्षणमा ध्यान दिनुपर्ने र हरियाली प्रवर्धनमा जिम्मेवार बनाउने जस्ता कुराहरूलाई दीर्घकालीन नीति र योजनामा समावेश गर्न सकिन्छ । आवश्यकता अनुसार सहरी वनका लागि आवश्यक पूर्वाधार विकास जस्तै नर्सरी स्थापना लगायतका कुरालाई पनि साथसाथमा अघि बढाउन सकिन्छ । नगरपालिकाहरुले सहरी क्षेत्रमा रुखबिरुवाहरु रोप्न, हुर्काउन, स्याहारसुसार गर्न छुट्टै कोषको पनि व्यवस्था गर्न सक्छन् । सहरी वन विकासका कार्यक्रमहरूलाई दिगो तुल्याउनका लागि सहरी वनका सफल अभ्यासहरूलाई अनुसरण गर्ने, सहरी वनको योजना तर्जुमा, संस्थागत सवाल र वित्तीय आवश्यकतासँग सम्बन्धित चुनौतीहरूलाई पहिचान गरेर त्यसको सम्बोधन गर्ने र सामाजिक संघसंस्थाहरुलाई परिचालन गर्ने कुरालाई प्राथमिकतामा राख्न सकिन्छ । स्थानीय सरकारलाई दिइएका कानुनी अधिकारहरू र स्थानीय समुदायमा बढ्दै गएको उच्च अभिरुचिले गर्दा सहरी वनको विस्तारमा थप अवसरहरू सिर्जना हुनसक्ने देखिएको छ ।

लेखकबाट थप :

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्