Logo

चितवनमा तीन जनाको मृत्यु



Spread the love

३ असोज, चितवन – जिल्लाका विभिन्न घटनामा आज तीन जनाको मृत्यु भएको छ । कोरोनाको सङ्क्रमण, सर्पको डसाइ र दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको कोरोना सङ्क्रमणका कारण आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–९ की ५१ वर्षीया महिला रहेकी छन् ।

कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार स्वासप्रस्वासमा समस्या आई भदौ २८ गते भर्ना भएकी उनमा २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनकोे आज बिहान ६ः१५ बजे मृत्यु भएको हो ।

यस्तै पिकअप भ्यानको ठक्करले एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–६ गीतानगरबाट सिताराम चोकतर्फ आइरहेको लु १ च ४४३५ नम्बरको भ्यानले प्रदेश २–०३–००६ प ७७६१ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ३७ वर्षीय ज्योती दराई रहेको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते उनको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । दराईलाई ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यता सर्पले डसेर एक जनाको मृत्यु भएको छ भने दुई जना उपचारका क्रममा रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले डसेको थियो । सर्पको डसाईपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

यस्तै सर्पको डसाईका कारण उनका हजुरआमा ५६ वर्षीया केशरी विक र आमा २३ वर्षीया रुवी सुनारको अवस्था गम्भीर रहेको छ । उनीहरु मध्ये विकको चितवन मेडिकल कलेज र सुनारको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्