Logo

कोरोनाले वैदेशिक गन्तव्यमा प्रभाव पारे पनि बढ्यो रेमिट्यान्स



Spread the love

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो महिनामा कूल ९२ अर्ब ७१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपालमा भित्रिएको छ ।

नेपाली कामदार रहेका श्रम गन्तव्यमा कोरोनाको सङ्क्रमण जारी रहेको भएपनि रेमिट्यान्स आप्रवाहमा कुनै असर नपरेको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको विवरणअनुसार रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले वृद्धि भएको छ ।

सरकारले अवैध माध्यमबाट आउने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट भित्र्याउन लिएका नीति तथा कार्यक्रम क्रमशः प्रभावकारी बन्दै गएको छ । हुण्डीलगायतका अवैध कारोबार रोकिदा बैंकिङ प्रणालीबाट मात्रै विप्रेषण भित्रिएको हो । अघिल्लो वर्षको त्यही अवधिमा विप्रेषण आप्रवाह दुई प्रतिशतले बढेको थियो ।

बैंकका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव ७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ९९ दशमलव २ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १९ प्रतिशतले घटेको थियो । यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १ दशमलव ३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय २० प्रतिशतले वृद्धि भई एक खर्ब एक अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव २ प्रतिशतले मात्रै बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्