Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१२९,५९१
संक्रमित
४१,०४०,६१९
निको भएका
३०,६२५,८५९
नेपालमा कोरोना भाइरस
मृत्यु
८१२
संक्रमित
१४८,५०९
निको भएका
१०२,८२०

विज्ञको सुझावलाई बेवास्ता, विपत्ति नै सिन्धुपाल्चोकको नियति



जब मानव अतिक्रमणले उग्र रुप लिन थाल्दछ, तब प्रकृतीले पनि वितन्ड मच्चाउन कुनै कसर बाँकी राख्दैन। हो यस्तै भएको छ, सिन्धुपाल्चोक जिल्लामा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड१९ )ले थिलथिलो बनाएको जिल्ला बाढीपहिरोबाट पनि अछुतो छैन । विसं २०७१ पछिदेखि नै सिन्धुपाल्चोक जिल्लाले वर्षेनीजसो ठूला प्राकृतिक प्रकोप र दुर्घटनाको सामना गरिरहनु परेको छ । यो वर्षको मनसुन शुरु भएसँगै सिन्धुपाल्चोकमा १७ ठाउँमा बाढी–पहिरो आएको छ । जसकारण ७४ जनाको मृत्यु भइसकेको छ । ४० जना अझै बेपत्ता छन् भने १७ जना घाइते भएका छन् । झन्डै ३३ सय परिवार थातथलो छोडेर विस्थापित भएका छन् ।

विसं २०७१ साउन १७ गते साविकको राम्चे गाविस वडा नं ५ को इटिनीको पहरो फुटेर गएको पहिराले ३१ जना स्कुले बालबालिकासहित १४५ जनाले ज्यान गुमाउनु परेको थियो । भोटेकोशी नदी नै थुनिने गरी आएको कहालीलाग्दो पहिरोको प्राकृतिक विपत्तिले धेरैलाई बिर्सनै नसक्ने छाप छोडेर गयो ।त्यस्तै , गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट तीन हजार ५७१ जनाले ज्यान गुमाए । यस विनाशबाट असी हजार निजी घर संरचना माटोमै मिलेको थियो। नेपालकै सबैभन्दा बढी मानवीय र भौतिक क्षति व्यहोरेको सिन्धुपाल्चोक अझै पनि पूर्णरुपमा तङ्ग्रिन सकेको छैन ।

जिल्लामा घटेकाे एकपछि अर्को ठुला बिपत्ति
विपदले यसवर्ष बाह्रबिसे नगरपालिका, जुगल र भोटेकोशी गाउँपालिकालाई दुःख दियो । साउन २५ गते बाह्रबिसे नगरपालिका–७ स्थित नागपुजे, भिरखर्क र नेवारटोलमा गएको पहिरोले ९ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।

जम्बु पहिरो: गत असार अन्तिममा अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबीसेस्थित जम्बुलगायतका ठाउँका दुई दर्जनभन्दा बढी घर बगाएको थियो । जम्बु पहिरोमा दुईको मृत्यु र २० जना बेपत्ता भएका थिए ।

लिदि पहिरो– जुगल गाउँपालिकाको लिदी गाउँ नै पुरिँदा ठूलो मानवीय तथा भौतिक क्षति भयो ।उक्त पहिरोमा परि ३७ जनाले ज्यान गुमाएका थिए भने २ जना अझै बेपत्ता छन् । पहिराेमा ३७ घर क्षति भएको र ३९ जना बेपत्ता भएका थिए। सदरमुकाम चौताराबाट करिब एक दिनको पैदलयात्रा पछि मात्रै पुगिने लिदी गाउँ जिल्लाकै विकट गाउँ हो । गएको माघ १६ गते पहिलो पटक बिजुली बत्तीको उपयोग गर्न पाउदा गत हिउँदमा मात्रै सडकसँग नाता जोडेका थिए । बिजुली बत्ती आएको उत्साह र सडक जोडिएसँगै छाएको उमङ्गमा लिदीबासी धेरै दिन रमाउनै पाएनन् । उक्त गाउँको भौगर्भिक बनावट कमजोर रहेकोले माथिको डाँडाबाट जुनसुकै बेला पहिरो खस्न सक्ने अनुमान यसअघि नै विज्ञहरुले गरेका थिए । त्यसैले पटकपटक जोखिम भयो बस्ती सारिदिनु पर्यो भन्दै जिल्ला हुँदै केन्द्रसम्म निवेदन दिएको तर, कसैले वास्ता नगर्दा यति ठुलो क्षति व्यहोर्नु परेको स्थानीयले गुनासो पोखे।
पहिरोमा पुरिएर आठ मजदुरको ज्यान गयो:
साउन १८ गते राती अविरल वर्षाको कारण सडकमाथिबाट आएको पहिरामा परी कभर्ड हल बनाउन बसेका आठ मजदूरको मृत्यु भएको थियो भने एक जनाको जिवितै उद्धार गरिएको थियो ।
तीन ठूला सडक दुर्घटना:
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० गत असोज २४ गते बिहान इन्द्रावती गाउँपालिकाको भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस दुर्घटना भएको हो । यस्तै, गत वर्षको कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गर्दा सुकुटे नजिक दुर्घटना भएको थियो । त्यस्तै, मङ्सिर १९ गते लामोसाँघु जिरी सडक खण्डको छ किलोमा दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा४ख ४४६८ नम्बरको बस पल्टिँदा १५ जनाको ज्यान गएको थियो ।

जिल्लामा किन गैइरहेको छ त एकपछि अर्को गर्दै बाढीपहिरो ? यसै विषयमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसंग गरिएको कुराकानीको सम्पादित अंश:
१) एकपछि अर्को गर्दै सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोको घट्ना दोहोरिनुको मुख्य कारण के हो?
२०७२ वैशाखको भूकम्पको असर र लगातारको पानीका कारण पहिरोको जोखिमा रहेको यसअघि नै राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यवस्थापनले बताएको छ । भूकम्पले थिलथिलो बनाएको क्षेत्रमा लगातारको वर्षाले त्यसको असर अहिले देखा परेको हो । नागफुजे, भिरखर्क र नेवारटोल क्षेत्रमा डोजरमार्फत थुप्रै ठाउँमा बाटो खनिएको छ । ‘डोजरे विकास’ को असर पनि त्यहाँ परेको छ ।

२) जिल्लाको भौगोलिक अवस्था कस्तो छ? बिगतका बर्षको तुलनामा यस बर्ष धेरै पहिरो किन गैइरहेको छ?
जिल्लाको भौगोलिक अवस्था निक्कै कमजोर रहेको छ।जुनसुकै समय जस्तोसुकै बिपत्ति आउन सक्छ ।प्रि–मनसुन र वर्षायाममा पहिले भन्दा धेरै पानी परेको छ । बलेफी ‘ए’ हाइड्रो पावरको सुरुङ बनाउँदा भएका विस्फोट र बिनासकारी भुकम्पपपछि गएको पराकम्पनको असर यो बर्ष धेरै देखियो।
र यसबारे पुनर्निर्माण प्राधिकरण र पुनर्निर्माण ब्यवस्थापन समितीले अध्ययन थलिसकेको छ।

३) पहिरो खस्नुमा २०७२ को बिनाशकारी भुकम्प र जलवायु परिवर्तनको प्रभाव कस्तो रहन्छ?
पछिल्लो समयमा गएको पहिरोको मुख्य कारण नै जलबायु परिवर्तन र महाशक्तिसाली भुकम्प हो। बिकासका नाममा बनाए जथाभावी संरचना बनाउदा पहिरो जाने जोखिम बढी नै हुन्छ।

४) जोखिममा रहेको बस्तीलाई समयमै स्थानान्तरण नगर्दा धेरैले ज्यान गुमाउनु परेका हुन त ?
समयमै बस्तीलाई स्थानान्तरण नगर्दा धेरैले ज्यान गुमाउनु परेको हुनसक्छ तर कतिपयलाई पहिले नै साबधान गराउदा समेत उनिहरु आफ्नो पू्र्खाको थातथलो छोडेर अन्यत्र जान नचाहदा धेरै क्षति ब्यहोर्नु पर्यो।

५) स्थानीयले पटकपटक जोखिम भयो बस्ती सारी दिनु पर्यो भन्दै जिल्ला हुँदै केन्द्रसम्म निवेदन दिएका थिए तर, सुनवाइ किन भएन?
स्थानीयले पटकपटक जोखिम भयो बस्ती सारी दिनु पर्यो भन्दै पटकपटक आग्रह गरेका हुन् । तर, बस्ती स्थानान्तरण भने जति सजिलो छैन । कम्तीमा २०० जति बस्ती सानू पर्ने देखिएको छ। बाह्रबिसे, जुगल र भोटेकोशी बाढी–पहिरोको उच्च जोखिममा रहेका क्षेत्र हुन्। पर्याप्त स्रोत साधनको ब्यवस्था गरेर र जोखिम क्षेत्रमा अध्ययन गरि चाडै नै बस्ती स्थानान्तरण गर्ने तयारी गरिरहेका छौँ । साउन २३ गते स्थानीयवासीले त्यस भेगका लाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, बैगानका पाँच सयभन्दा बढी घर सार्न माग गरेका थिए।

६) बाढीपहिरो पीडितहरुको पछिल्लो अवस्था कस्तो छ? उनिहरुका लागि के कति राहत वितरण भयो ?
आर्मी, प्रहरी सशस्त्र बाढीपहिरो पीडितहरुको उद्दारका लागि खटिरहेका छन् । उनीहरुका लागि खाने ब्यवस्था, त्रिपाल, कम्बल, भाडाकुँडा लगायतका आवश्यक सामग्रीसहित परिवारका सदस्य हेरि नगदको ब्यवस्था गरेका छौँ । सहयोगी सस्था र मन्त्रालयबाट प्राप्त राहत संकलन गरि प्रभावित क्षेत्रमा बितरण गरिरहेका छन् । घर क्षति भएका परिवारलाई १५ हजार राहतको व्यवस्था गरिएको छ भने मृतक परिवारलाई एकजनाको मृत्यु भएमा २ लाख रुपैयाँ र एउटै परिवारमा थप अरुको मृत्यु भएअनुसार थप १ लाख थपका दरले राहत दिने काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्