Logo

कालिकोट घुम्दाका कथाहरू



Spread the love

२०६४ साल मंसिर ७ गतेको बिहान ।

सुर्खेतबाट कालिकोट जाने बस चढियो । यो मेरो कालिकोटतर्फको पहिलो यात्रा थियो । त्यतिखेर कालिकोट जिल्लातत्कालीन कर्णाली अञ्चलको सबभन्दा विकट र पिछडिएको जिल्ला मध्येमा मानिन्थ्यो, कारण कर्णाली अञ्चलकाअन्य सबै जिल्लाहरू कम्तीमा हवाई मार्गबाट जोडिएको थिए, तर कालिकोट जिल्ला न त हवाई मार्गले, न तसडक मार्गले नै जोडिएको थियो । त्यति बेलासम्म पनि कालिकोट भोकमरीले सताउने नेपालका सीमित जिल्लाहरूमध्येएक थियो । सिङ्गो कर्णाली अञ्चल नै विकटता र विपन्नताको पर्याय भएर चिनिने अवस्थामा यात्रा गर्नु अघि नैकालिकोट प्रति मनभरि कौतुहलता र रोमाञ्चकता थियो ।

बिहान आठ बजतिर बस सुर्खेत उपत्यकालाई पछाडि छाडेर पश्चिम उत्तरतिर लाग्न थाल्यो । बसभरि मानिस त हुनेभए नै, छतमा बस्ने मानिसहरू पनि उत्तिकै थिए । केही छिनमा नै कालोपत्रे सडक सकिएर कच्ची सडक भेटियो ।सालको जङ्गल र उबडखाबड बाटो हुँदै पश्चिमी सुर्खेतको समथर ठाउँ, बाबियाचौर पुगियो । बस केही बेरका लागिरोकियो । बसमा विभिन्न कामको सिलसिलामा कालिकोट जान काठमाडौँबाट आएका केही अन्य यात्रुहरू पनि रहेछन्। ऊनीहरूसँग चिनापर्ची भयो र हाम्रो समूह ठुलो बन्यो । बाबियाचौरबाट उकालो लागेको करिब एक घण्टा पछिसडकको पश्चिमतिर कर्णाली नदी देखियो, जसको पश्चिमतिर अछाम जिल्ला पर्छ । सडकको अवस्था धेरै दयनीयथियो र यात्रा अत्यन्त जोखिमपूर्ण पनि । यस यात्राले काठमाडौँबाट गएका केही साथीहरूको सातो लिइरहेको अवस्थाथियो । बसबाट बाहिर हेर्दा, विशेष गरी भिरपट्टि हेर्दाखेरि होसहवास उड्थ्यो । सडकको सतह उबडखाबड त थियो नैमोडहरू पनि साना थिए । ठाउँ ठाउँमा पहिरो गएका थिए । कतिपय ठाउँमा यात्रुहरू झरेर हिँड्नुपर्थ्यो । यस्तैसडकबाट यात्रा गर्दै, कर्णाली नदी र लोहोरे खोलाको किनारमा रहेको तल्लो डुंगेश्वरमा खाना खान पुगियो । तल्लोडुंगेश्वरबाट सडक कर्णाली किनारै किनार अघि बढ्यो । अलिक अगाडि पुगेपछि सडक छेउका जङ्गलमा अस्थायीछाप्रोहरू बनाएर बसेका राउटेका झुन्डहरू देखिए ।

यो सडकको यात्रा मिलन लामा र देवी घर्तीको दोहोरी गीतमा गाइएको झल्को लाली ओठको, बाटो खुल्यो, मोटरचढ्यो, जुम्ला कालिकोटको भनिए झैँ सहज रहेनछ ।

भर्खर बन्दै गरेको कर्णाली राजमार्गको सडक र कर्णाली नदी

नाम मात्रको कच्ची सडकको यात्राले सबैको जीउ थिलथिलो बनाएको थियो । बसभित्र र छतमा भारवहन क्षमताभन्दा बढी यात्रु बोकेर अघि बढिरहेको बस साँघुरो मोड भएको स्थान वा धेरै भिरालो सडकमा पुग्दा केही यात्रुहरूडराएर ओर्लन्थे र केही सय मिटर हिँडेर बसमा चढ्ने गर्थे । धेरै घुम्ती भएको स्थानमा त छोटो बाटोबाट यात्रु हिँड्दागुडिरहेको बसलाई सजिलै भेटाउन सक्थे ।

यो सडकको यात्रा मिलन लामा र देवी घर्तीको दोहोरी गीतमा गाइएको झल्को लाली ओठको, बाटो खुल्यो, मोटरचढ्यो, जुम्ला कालिकोटको भनिए झैँ सहज रहेनछ । रामागाड लगायतका थुप्रै खोलामा पुलहरू बन्न बाँकी थिए ।सडक छेउका केही स्थानहरूमा टहरायुक्त पसलहरू बढ्न थालेका थिए । टुनी बगर आसपास पुगेपछि कर्णाली नदीफिंजारिएर बगेको देखिन्थ्यो । बसमा भएका कसैले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रस्तावित बाँध रहनेस्थान यतै कतै हो भनेर देखाउँदै थिए । बाटोमा टुनीबगर र राकम कर्णालीको फराकिलो फाँट र बजार भेटिए ।

तिलाबाट मान्मतिर उकालो लाग्ने क्रममा

साँझपख कालिकोट सिमाना नजिकै पर्ने दैलेखको खिड्किजिउलामा पुगेर बस रोकियो । बस यसभन्दा अगाडि जानसक्ने अवस्था रहेनछ । यहाँ खेतको फाँटमा जस्तापाताले बारेर बनाइएका सय वटा जति पसलका टहराहरू लस्करैजोडिएर रहेका थिए । यस बजारमा अछाम, कालिकोट र उत्तरी दैलेखका मानिसहरू किनमेलका लागि आउने रहेछन्। बसमा यात्रा गर्दै गर्दा चिनजान भएको हाम्रो डफ्फा १५-२० जनाको बनिसकेको थियो । बास बस्नका लागिहोटेलको रूप दिइएको यस्तै जस्तापाताको टहरामा हामी सबैको रात बित्ने भयो । १५-२० जना एउटै टहरोभित्रलस्करै सुत्नुपर्ने अवस्था आयो । दिनभरको कच्ची सडकमा गरिएको लामो यात्राले सबै जना थकाइले लखतरान थियौँ। खाना खाएपछि पल्टने बित्तिकै घुप्लुक्कै निदायौँ ।

२०५० को दशकको सुरुमा शिलान्यास भएर खन्न थालिएको यस सुर्खेत-जुम्ला सडकले पचासको दशकभरि नैमाओवादी द्वन्द्वको सामना गर्नुपर्‍यो । बिचमा चिनियाँ ठेकेदार काम छाडेर हिँडेपछि सरकारले यस सडक बनाउनेजिम्मा नेपाली सेनालाई दिएको थियो । खिड्किजिउलाभन्दा अगाडि ट्र्याक्टर र केही मुस्ताङ जिपहरू मात्र चल्नेरहेछन् । ती जिपहरू पनि भनेको समयमा पाइने रहेनछ । सुदूर उत्तरमा कालिकोट, मान्मको डाँडो ठिङ्ग उभिरहेकोथियो । यहाँबाट हिँडेर गए मान्म पुग्न दिनभर लाग्छ भन्दै थिए, स्थानीयहरू । बल्लतल्ल एउटा जिप भेटियो ।जिपभरि खाँदाखाँद गरेर लाग्यौँ, हामी मान्मतिर । बाटोको अवस्था सोचेभन्दा धेरै खराब रहेछ । गाडी चढ्ने रजिपबाट ओर्लेर हिँड्ने उस्तै उस्तै जस्तो भयो । सडक सामान्य रूपमा खुलेको थियो, तर कतै धेरै साँघुरो, कतै घुम्तीनमिलाइएको, कतै सडक छेउको ढुङ्गाहरू नहटाइएको, सतह नमिलाइएको उबडखाबड । सडक छेउमा कर्णाली गर्जिएरबगिराखेको थियो । गाडी खसे सिधै कर्णाली । कतै कतै सडक सुधार गर्ने कार्य चलिराखेको थियो ।

उसो त यस कर्णाली राजमार्ग भर्खरै खुलेको बेलामा ट्र्याक्टर लगायत थुप्रै सवारीसाधनहरू यस सडकबाट तलभिरतिर, नदीतिर खसे । केही समय ज्यानमारा मार्गको रूपमा पनि यो सडक मार्ग चर्चित भयो ।

कर्णाली नदी माथि झिंक्राले बनाइएको रेंगिलको कामचलाउ पुल

उसो त यस कर्णाली राजमार्ग भर्खरै खुलेको बेलामा ट्र्याक्टर लगायत थुप्रै सवारीसाधनहरू यस सडकबाट तलभिरतिर, नदीतिर खसे । केही समय ज्यानमारा मार्गको रूपमा पनि यो सडक मार्ग चर्चित भयो । लगभग हिँडेरसमेत पुग्ने सकिने समयमा हामी तिला कर्णालीको किनार पुग्यौँ, जहाँबाट मान्म बजार निकै अग्लो पहाडको टुप्पोमाफैलिएको देखिन्थ्यो । तिला कर्णालीबाट केही माथि रहेको बाक्लो बस्तीको छेउछाउ पुगेपछि बाटोमा पानी बगेर हिलो भएको रहेछ । जिप त्यसभन्दा माथि जान सकेन । त्यहाँ केही पसलहरू रहेछन् । एघार बजिसकेको थियो । खानाखान पाएका थिएनौँ । केही बिस्कुट किनेर खायौँ । जीप चालकले त्यहाँका स्थानीयले जानाजानी सडकमा पानीलगाइदिएको कुरा सुनाउँदै थिए । यस्तो कुरा नेपालका थुप्रै कच्ची सडकमा यात्रा गर्दाका बखत सुनेको छु । जिपमास्तिर जान नसक्ने भएपछि हामीसँग उकालो बाटो हिँड्नुको विकल्प थिएन । बाह्र बजेको चर्को घाममा ठाडोउकालो लाग्नु पर्ने भयो । उकालो लागेर केही माथि पुगेपछि भेटिने बस्तीलाई खासमा मान्म भनिँदो रहेछ भने माथिपहाडको शिरमा रहेको अहिलेको सदरमुकामको नाम खाडाचक्र रहेछ । मान्मबाट पछि माथिको खाडाचक्रमा जिल्लासदरमुकाम सारिएको रहेछ । उसो त कालिकोट आफैँमा नेपालको सबभन्दा पछि नामकरण गरिएको जिल्ला हो ।यसअघि डोल्पाको केही भाग समेत परेको तिब्रीकोट जिल्ला थियो, जुन नाम २०३२ सालपछि फेरिएको थियो ।

२०५० को दशकको सुरुमा शिलान्यास भएर खन्न थालिएको यस सुर्खेत-जुम्ला सडकले पचासको दशकभरि नैमाओवादी द्वन्द्वको सामना गर्नुपर्‍यो ।

लगभग दुई घण्टा जतिको निरन्तर ठाडो उकालोको यात्रा पछि पहाडको शिरमा रहेको खाडाचक्र बजार पुगियो । यसउकालो बाटोका बारेमा कर्णाली ब्लुज उपन्यासमा लेखक बुद्धिसागरले निकै रोचक किसिमले धेरै चोटि वर्णन गरेकाछन् । पूर्वदेखि पश्चिमसम्म लमतन्न परेर फैलिएको पहाडको शिरमा खाडाचक्र बजारको दोहोरो लाइन घरहरू रहेछन्। बजारमा प्राय: स-साना किराना पसल र सामान्य होटलहरु थिए भने गैरसरकारी संस्थाका साइनबोर्डहरू पनि थुप्रैदेखिन्थे । हामी पुग्दा चिसो र सुख्खा हावा चलिराखेको थियो । शायद यसैका कारण हुनसक्छ, प्रायजसो: मानिसकाअनुहारहरू फुस्रा र घामले डढेर कालो भएका जस्ता देखिन्थे ।

खुलालु नजिकै पहरा खोपेर बनाइएको बाटो

जुनसुकै नयाँ ठाउँ जाँदा पनि मलाई त्यस ठाउँको भूगोल, ऐतिहासिक पृष्ठभूमि र आर्थिक, सामाजिक पक्षका बारेमाजान्न मन लाग्छ । मान्मबाट उत्तरमा कर्णाली पश्चिम देखिने पहाडहरूलाई रास्कोट क्षेत्रको रूपमा चिनिँदो रहेछ,जसमा सिउना, सिपखाना, मुम्रा लगायतका तत्कालीन गाविसहरू पर्दा रहेछन् । पश्चिममा मेहेलमुडी, रकु, कोटवाडापर्ने रहेछन् भने दक्षिण पश्चिमी कुनातिर कुमाल गाउँ, लालु, माल्कोट, रुप्सा लगायतका गाविसहरू पर्ने रहेछन् ।प्रसिद्ध योगी नरहरिनाथ यसै क्षेत्रमा जन्मेका हुन् र अहिले बनेको यी गाविसहरूलाई समेटेर बनेको गाउँपालिकाकोनाम पनि योगी नरहरिनाथ गाउँपालिका रहेको छ । यसभन्दा पश्चिममा बाजुरा जिल्लाको बडिमालिका क्षेत्र पर्दो रहेछ ।

मान्मको दक्षिणतिर तिला नदी निकै गहिरिएर बगेको छ र यसभन्दा दक्षिणतिर छ भार्ताको लेक, जुन दैलेखजिल्लासँग जोडिएको छ । हामी आएको कर्णाली राजमार्ग र खिड्किजिउला सुदूर दक्षिण-पश्चिमी कुनातिर कर्णालीनदीसँगै कतै बिलाएको देखिन्थ्यो । चारैतिर निकै अग्ला पहाडहरू र ती अग्ला पहाडहरूमा कताकति छरिएर बसेकापातला बस्तीहरू देख्दा कर्णाली साँच्चै विकटता र विपन्नताको पर्याय नै रहेछ कि जस्तो लाग्यो । डाँडापारिकाकतिपय बस्तीहरू देख्दा नजिकै लागे पनि हिँडेर पुग्न दिनभरि लाग्ने कुरा स्थानीयहरू बताउँथे । त्यति विकटबस्तीका मान्छेहरूसम्म कहिले राज्यले दिने सेवा सुविधाको पहुँच पुग्ला त, सम्झँदा नै मन कटक्क भएर आयो ।कालिकोटको कर्णाली पश्चिमको भेगमा बस्ने मान्छेहरूलाई सहज यातायात सुविधा दिनका लागि दशकौँ अघिदेखिकोटावाडाको डाँडामा विमानस्थल बनाउन थालिएको थियो, जुन अझ सम्पन्न हुन नसकेर अलपत्र परेको दृश्यमान्मको डाँडाबाटै प्रष्ट देखिन्थ्यो । द्वन्द्व कालमा यसै विमानस्थलको निर्माण कार्य गर्नका लागि धादिङकोजोगिमाराबाट लगिएका थुप्रै निर्दोष चेपाङहरू भिडन्तका क्रममा मारिएका थिए । यस कुरालाई पत्रकार मोहनमैनालीले आफ्नो पुस्तक मान्ठा डराएको जुगमा ज्यादै मार्मिक र द्रवीभूत बनाउने ढङ्गबाट लेखेका छन् ।

भारततिर कामको खोजीमा जाँदै गरेका कालिकोटवासीहरू

कालिकोट जिल्लाको कर्णाली नदीको पश्चिमी किनार हुँदै दक्षिणी बस्ती खुलालु देखि बाजुरा जिल्लाको सीमा नजिकपर्ने लैफुसम्मको सडकको वातावरणीय अध्ययनको सिलसिलामा म कालिकोट पुगेको थिएँ । बजारको पश्चिमीछेउतिर रहेको एक घरमा आयोजना कार्यालय राखिएको रहेछ । त्यहाँका स्थानीय कर्मचारीहरूसँग चिनजान गरियो ।बिहानै उठेर मान्म, खाडाचक्र बजारको एक फन्को लगाइयो । बजारमा कंक्रिटले बनेका एउटै घरहरू देखिएनन् ।बजारमा देखिएका मानिसका चेहराभरि उदासी, नैराश्यता र गरिबी पढ्न सकिन्थ्यो । हिजो सँगै आएका केहीसाथीहरू बजारको बिचतिर पर्ने एक होटेलमा बसेका रहेछन् । बजार डुल्ने क्रममा ऊनीहरूलाई पुनः भेट्दा एकछिनका लागि भए पनि हाम्रा मुहारभरि खुसीका रेखाहरू दौडिए । ऊनीहरू गरिबी निवारणसँग सम्बन्धितआयोजनाहरूको अनुगमन तथा मूल्याकंनका सिलसिलामा आएका थिए । गरिबी निवारण गर्न आयआर्जन कार्यक्रममार्फत स्थानीय समुदायको समूह बनाएर केही बाख्राहरू बाँडिएको रहेछ, तर गाउँलेहरूले त्यस बाख्रालाई काटेरखाइदिएछन् । अनुगमनमा गएका ती मित्रहरू अब कसरी प्रतिवेदन तयार पार्ने भन्ने कुराले केही तनावमा देखिन्थे ।

दिउँसोतिर आयोजनाका एक स्थानीय कर्मचारी मान बहादुर शाहीको साथ लागेर सडकको स्थलगत अध्ययनका लागिप्रस्थान गरियो । मान्मबाट तल कर्णालीको किनारमा पर्ने रेंगिलसम्म पुग्न ठाडै ओरालो झर्नु पर्ने रहेछ । यो ओरालोपूरा गर्न लगभग दुई घण्टा निरन्तर हिँड्नुपर्‍यो । मैले हिँडेका केही स्मरणीय कठिन ओरालो बाटोका पङ्क्तिमायसलाई पनि राखेको छु । कर्णाली तर्नका लागि निकै जोखिमयुक्त कामचलाउ पुल रहेछ । माओवादी द्वन्द्वकाबेलामा पक्की झोलुङ्गे पुल काटिएको रहेछ । कर्णाली पश्चिमका कालिकोटका १३ गाविसका मानिसलाईसदरमुकामसँग जोड्ने पुल भनेको यही रेंगिलको पुल रहेछ । जुन पुल काटिँदा मानिसले निकै सास्ती पाएका रहेछन्। अर्को विकल्प भनेको कोटवाडा डाँडाको फेदीमा पर्ने लालीघाटको तुइन रहेछ । मानिसहरूले यही कामचलाउ पुलकोसहायताले सदरमुकामसम्म आउजाउ गर्न सक्दा रहेछन् ।

मान्म र कोटवाडाको फेदीबाट बग्दै गरेको कर्णाली नदी

त्यस साँझको बास त्यही रेंगिलको एक सामान्य पसल घरमा भयो । त्यस भेगतिर उडुसको ज्यादै समस्या रहेछ ।रातभरि उडुसको टोकाइले सुत्न सकिएन । भोलिपल्ट उठेर बिहानैबाट कर्णालीको किनारै किनार उत्तरतिर लागियो ।बाटोमा आँखाभरि दक्षिणतिर बगेको कर्णालीको दृश्य, नदीका दाँयाबाँया उभिएका अग्ला पहाड, पहराहरू, पातलारुखबुट्यानहरु आउँथे भने मनमस्तिष्कभरि कर्णालीमा देखिएको व्यापक गरिबी, बेरोजगारी, अभाव र पछौटेपनसल्बलाई रहेको थियो । बाटामा कतै सामान ढुवानी गर्दै गरेका खच्चरहरू भेटिन्थे । मंसिरको बाली भित्र्याएरहिउँदमा दुईचार पैसा कमाउन भारततिर जान लागेका मानिसहरूको हुल बाटाभरि भेटिए । रेंगिल पछि स्याउलीबजार, आमतारा, देवकोटा बगर, सानिगाड, फुकोट, नदीबगर, भातडी जस्ता स-साना बस्तीहरू हुँदै यात्रा अघि बढ्यो ।यी सबै बस्तीहरूमा दुईचार वटा स-साना पसलहरू भेटिन्थे । कतै दयनीय अवस्थामा रहेका स्कुलहरू पनि भेटिन्थे ।ती स्कुलमा दश-बिस जना विद्यार्थीको झुन्ड र केही शिक्षकहरू देख्न सकिन्थ्यो । बाटोमा पर्ने सानीगाड खोलामासाना जलविद्युत आयोजना बनेको रहेछ, जसको विद्युत मान्म सदरमुकामसम्म पुर्‍याउने योजना रहेछ,आयोजनाको काम लगभग सम्पन्न भए पनि प्रसारण लाइन बनाउने काम भने अझै बाँकी रहेछ ।

नदी किनारमा रहेका यी स-साना बस्तीबाट पहाडको टुप्पोतिर रहेका बस्तीहरूसम्म पुग्न घण्टौँ हिँड्नु पर्दो रहेछ । तीबस्तीसम्म भौतिक तथा सामाजिक पूर्वाधारहरू सहज रूपमा पुर्‍याउनु निकै कठिन र चुनौतीपूर्ण काम थियो । नदी,खोला किनारमा रहेका स-साना केही उर्वर फाँट बाहेक खेतीयोग्य जमिनको कालिकोट जिल्लामा अभाव देखियो ।कालिकोट नेपालको भोकमरी र खाद्यान्न अभावबाट सबभन्दा बढी प्रताडित हुने जिल्ला मध्ये एक हो । जिल्लाकोउत्तर पश्चिमी कुनामा रहेका नानीकोट, थर्पु, खिन, धौलागोह गाविसका बस्तीहरूलाई प्राय: भोकमरीले सताइरहन्छ ।विशेष गरी ठूल्ठूला खडेरी पर्दा यो समस्या अझ विकराल बन्छ । सन् १९६५, १९७१, १९७६ र २००४ मा कालिकोटले ठूल्ठूला अनिकालको सामना गर्नु परेको थियो । सडक नबन्दासम्म यहाँका खाद्य डिपोहरूमा हेलिकप्टरले खाद्यान्न ओसार्थ्यो र मानिसहरू खाद्य डिपोमा खाद्यान्न पाउनका लागि लाइन लाग्ने दृश्य यहाँको लागि कुनै नौलो दृश्य थिएन ।

एक त खेतीयोग्य जग्गाको निकै कमी छ, कालिकोट जिल्लामा । त्यसमाथि भएका खेतीयोग्य जमिनमा पनिसिंचाईको पर्याप्त सुविधा उपलब्ध भएको देखिएन । स्थानीय बासिन्दामा बाहिरबाट आपूर्ति गरिएको खाद्यान्नमाथिको परनिर्भरता बढ्दै गएको देखियो । गहुँ, कोदो, फापर जस्ता स्थानीय अनाजप्रति स्थानीयले त्यति महत्त्वदिएको र अपनत्व देखाएको जस्तो लागेन । खाद्यान्नका रूपमा बाहिरबाट आयातित चामलमै ऊनीहरूको अत्यधिकआकर्षण देखियो । कर्णालीमा प्राय: देखिने खाद्यान्न सङ्कटबाट उन्मुक्ति पाउन, भएका खेतीयोग्य जमिनमा सिंचाईसुविधा बढाएर उत्पादन बढाउने, स्थानीय अनाजप्रति आकर्षण बढाउने, खाद्य उपभोगको तौरतरिकामा परिवर्तनल्याउनु पर्ने जस्ता अवस्था देखियो । कर्णालीमा बाहिरबाट पठाइएको खाद्यान्नको ठुलो अंश रक्सी बनाउनका लागिप्रयोग हुने रहेछ । अत्यधिक रक्सी सेवनले ल्याएका सामाजिक समस्याहरू त आफ्ना ठाउँमा छँदैछन् ।

सन् १९६५, १९७१, १९७६ र २००४ मा कालिकोटले ठूल्ठूला अनिकालको सामना गर्नु परेको थियो । सडक नबन्दासम्म यहाँका खाद्य डिपोहरूमा हेलिकप्टरले खाद्यान्न ओसार्थ्यो र मानिसहरू खाद्य डिपोमा खाद्यान्न पाउनका लागि लाइन लाग्ने दृश्य यहाँको लागि कुनै नौलो दृश्य थिएन ।

नानीकोटको अग्लो पहाड

यसबाहेक समाजमा जातीय र लैङ्गिक विभेद पनि व्यापक रूपमा देखियो । घरेलु तथा कृषि कर्ममा महिलाहरूले धेरै नैजोतिनु परेको देखियो । पुरुषहरूको ठुलो सङ्ख्या स्थानीय रोजगारीका अवसरको अभावमा ठुलो सङ्ख्यामा भारततिरजाँदा रहेछन् । यस भेगका मानिसहरू प्राय: भारतको हिमाञ्चल प्रदेशतिर जाँदा रहेछन् । त्यहाँ गएर प्राय: गर्ने कामभनेको भारी बोक्ने, स्याउ टिप्ने लगायतका कृषिजन्य गतिविधिमा श्रमिकका रूपमा काम गर्ने, चौकीदारी गर्ने आदिनै रहेछन् । भारततिरको यात्रामा निस्केका केही मानिसहरूसँग मैले सोधेँ – किन विदेशतिर लागेको भनेर?अधिकांशको उत्तर थियो – खोइ, यता नेपालमा कुनै रोजगारी नै पाइँदैन त ।

लामो समयसम्म सडकले नजोडिएको यस क्षेत्रको राज्यका अन्य सेवा सुविधामा पनि सहज पहुँच पुग्न सकेको छैन ।नेपाल राज्यको स्थापनाकाल देखि नै यस क्षेत्रले निरन्तर हेपिएको महसुस गरिराखेको छ । यस भेगका बासिन्दामारहेको अपहेलित हुनुको मानसिकताको अन्त्य गर्नु राज्यका लागि चुनौतीको विषय बनेको छ । यसै कारण हुनसक्छ,कालिकोट माओवादी द्वन्द्वका लागि उर्वर भूमि बनेको थियो भने अहिलेसम्म पनि विद्रोहका बाछिटाहरू यता भेटिन्छन् ।

यस भेगका मानिसका लागि राज्यप्रति अपनत्व महसुस गराउनका लागि सबभन्दा राम्रो उपाय भनेको सडकलगायतका पूर्वाधारले राज्यका बाँकी भागसँग जोड्नु नै हो । सुर्खेतबाट कालिकोट हुँदै जुम्ला जाने सडक मार्ग त पूराभइसकेको छ, यही राजमार्गमा पर्ने तिला र कर्णाली नदीको दोभान भन्दा केही तल कर्णाली नदीमा बन्ने पुलबाटपुरानो मार्गसँग जोडिएर खुलालु हुँदै कर्णाली नदीको पश्चिमी किनारलाई पछ्याउँदै कोल्टी, बाजुरा, हुम्लाको खार्पुनाथ,सिमिकोट हुँदै हिल्सा पुग्ने सडकको निर्माण सम्पन्न भएपछि यस जिल्लाको कायापलट हुन सक्ने सम्भावना छ ।

त्यसो त यी प्रमुख राजमार्गसँग शाखा सडकहरूले अन्य भित्री बस्तीहरूलाई जोड्न सकिन्छ । तिला र कर्णालीनदीबाट प्रशस्त जलविद्युत उत्पादन गर्न सकिन्छ । यी मध्ये केही जलविद्युत आयोजनाहरूको सम्भाव्यता अध्ययनअगाडि बढिसकेको छ । आयोजनाका लागि पहुँच मार्गको त्यति समस्या छैन, तर विद्युत प्रसारण लाइनको सञ्जालबनाउनका भने बाँकी नै छ ।

कर्णाली नदी किनारमा रहेको राम्नाकोटको बेसीबाट पश्चिमतिरको नानीकोट अग्लो र सुख्खा पहाड, त्यस पहाडकोटुप्पोतिर, तलको फेदीबाट करिब २-३ घण्टाको कडा हिँडाइ पछि मात्र पुग्न सकिने पातला बस्तीहरू देख्दा त्यतिअनकन्टार स्थानहरूमा मानिसहरू कसरी बस्न सकिराखेका होलान् भन्ने प्रश्न मेरो मनमा उब्जिएको थियो ।संयोगले अहिले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही त्यही नानीकोटका बासिन्दा हुन् र ऊनी जस्ता त्यसभेगका भलिभाँती समस्याबाट चिरपरिचित व्यक्तिबाट तात्त्विक परिवर्तनका केही कदमहरू चाल्न सकिने अपेक्षा गर्नसकिन्छ । यस जिल्लामा रहेका धेरै नै विकट, अनकन्टार र जोखिमयुक्त भूभागमा छरिएर रहेका पातलाबस्तीहरूलाई नजिकैको पायक पर्ने स्थानमा एकीकृत बस्ती विकास गर्दै स्थानान्तरण गर्न सकिन्छ । सर्वप्रथमएकीकृत बस्तीहरू निर्माण गरेर ती बस्तीसम्म सडक, खानेपानी, विद्युत जस्ता पूर्वाधारहरू पुर्‍याउन सहज हुनेछभने ती बस्तीमा शिक्षा, स्वास्थ्यका पूर्वाधार विकास गर्न पनि उपयुक्त हुनेछ ।

कालिकोट जिल्लाले राज्यबाट ठगिएको महसुस गरेको छ, तर के कालिकोटसँग केही पनि नभएको हो त ? त्यसोपनि अवश्य होइन । कालिकोटको माथिल्लो भेग स्याउका लागि अत्यन्त उपयुक्त छ र हालैका वर्षहरूमाकालिकोटमा उत्पादित स्याउ बाहिर निर्यात गर्न थालिएको छ । ओखर, जडीबुटी र अन्य प्राकृतिक श्रोतमा पनिउत्तिकै धनी छ कालिकोट । यो जिल्ला पशुपालनमा अग्रणी बन्न सक्छ, प्रशस्त मह उत्पादन गर्न सक्छ, कर्णाली रतिला नदीमा र्‍याफटिङ गराउन सक्छ । जिल्लामा रहेका बडिमालिका, चुलीमालिका, महाबुलेक र पचाल छहरालगायतका स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकसित गराउन सक्छ ।

कालिकोट जिल्लाले राज्यबाट ठगिएको महसुस गरेको छ, तर के कालिकोटसँग केही पनि नभएको हो त ?

यात्राका क्रममा एकातिर कालिकोटले बोकेको विकासको सम्भावना सम्झेर मनभित्रै पुलकित बनेँ भने अर्कातिर आफ्नैआँखा अगाडि वर्तमानमा उभिएको कालिकोटका चरम गरिबी, बेरोजगारीको समस्याहरू, सीमित आर्थिक अवसरहरू,भौगोलिक विकटता, सामाजिक विभेद, विसङ्गति र विकृतिका चाङहरू देख्दा त्यत्तिकै अत्यास लागेर पनि आयो ।कर्णालीको किनारै किनार लालु, मेहेलमुडी, रकु, सिउना, फुकोट, राम्नाकोट, नानीकोट, थिर्पु, खिन हुँदै बाजुरानजिकैको लैफुमा गएर टुङ्गिएको मेरो यात्रा फेरि त्यही बाटो हुँदै हिँडेर खिड्कीजिउला आइपुगे पछि टुङ्गियो । त्यहाँ
आइपुग्दा कालिकोटबाट आएका हुलका हुल मानिसहरू विश्व खाद्य कार्यक्रम मार्फत वितरण गर्न लागिएको चामलकाबोराहरू लिन लामबद्ध रहेछन् । यस्तो लाग्थ्यो, अथाह सम्भावनालाई सिरानीमा राखेर कर्णाली सुतिराखेको छ, अनिगरिबी र अभाव बेचेर बाँच्नमै अभ्यस्त भइराखेको छ ।

खिड्कीजिउलामा विश्व खाद्य कार्यक्रमद्वारा वितरित चामल लिन लामाबद्ध कालिकोटवासीहरू

मेरो दोस्रो कालिकोट भ्रमण यसको चार वर्ष पछि वि.स. २०६८ सालमा भयो । त्यति बेला सुर्खेत देखि कालिकोटसम्मपुग्ने सडकको अघिल्लो आधा खण्ड लगभग कालोपत्रे भइसकेको रहेछ । एउटै गाडीमा कालिकोटको सदरमुकाममान्मसम्म पुग्न सकियो । मान्म बजारमा फाट्टफुट्ट कङ्क्रिटका घरहरू बन्न थालेका रहेछन् । अलिक गतिलो होटेलभने अझै बनेका रहेनछ । तत्कालीन जिविसको अतिथि गृहमा मेरो बास भयो । मान्म बजारले विस्तार रूप फेर्नथालेको महसुस भने भयो ।

मेरो तेस्रो कालिकोट भ्रमण वि.स. २०७६ सालमा भयो । यस भ्रमणमा भने मैले कालिकोटमा धेरै नै परिवर्तन आएकोमहसुस गरेँ । मान्म बजार धेरै नै विस्तारित भइसकेको रहेछ । थुप्रै आधुनिक होटलहरु खुलिसकेका रहेछन् । धेरैनयाँ घरहरू बन्दै थिए । गाउँतिरबाट आएका बोलेरो जिप र मिनीट्रकहरुको लस्कर देखिन्थ्यो । बजारमा सुकिलामानिसहरू प्रशस्त देखिन्थे । बजारदेखि केही किलोमिटर तल एक राम्रो अस्पताल बनिसकेको रहेछ । सदरमुकामवरिपरिका मानिसहरूले तरकारी खेती गरेर बेच्न ल्याउँदा रहेछन् । परिवर्तनको स्पर्श पाएर रूप फेर्दै गरेको मान्मबजार देखेर म त्यसै त्यसै हर्षित भएँ ।

मेरो यो तेस्रो कालिकोट भ्रमण सुर्खेत-जुम्ला सडकमा बन्दै गरेका विभिन्न पुलहरूसँग सम्बन्धित थियो ।त्यसमध्येको एक पुल जुम्लाको सिमाना नजिकै पर्ने नाग्म बजार छेउको सिंजा खोला पुल थियो । लगभग छमहिना अगाडि जग बनाइएको यस पुलको काम त्यस भन्दा अगाडि बढ्न सकेको रहेनछ । पुल निर्माणसँगसम्बन्धित व्यवसायी लामो समयदेखि यतातिर आएका रहेनछन् । हाम्रो टोलीले त्यही नाग्म बजारको एक होटेलमाखाना खायो । खाना खाने क्रममा पुल निर्माण र निर्माण व्यवसायीका बारेमा होटेलवालासँग पनि कुराकानी भयो ।ती निर्माण व्यवसायीले पनि त्यसै होटेलमा खाना खाँदा रहेछन् र उधारो तिर्न पनि बाँकी रहेछ । अझ तिनलेहोटेलवालासँग केही गाह्रो साँघुरो पर्‍यो भनेर उल्टो दुई-तीन लाख रुपैंया रकम सापट लिएका पनि रहेछन्, तर तिनकोकेही समय देखि कुनै अत्तोपत्तो रहेनछ । यस्तो व्यवहारको सामना गर्नु परेपछि अनि किन महसुस नगरुन् त,कर्णालीवासीले आफू ठगिएको ।

के हामीले कुनै दिन कालिकोटवासीलाई राज्यबाट नठगिएको अनुभूति दिलाउन सकौँला त ?

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्