Logo

नसुनिएको नरैनापुर



Spread the love

यस लेखको शीर्षक ‘नसुनिएको नरैनापुर’ राखिए पनि गत चैत, वैशाखतिर बाँके जिल्लाको दक्षिण पूर्वी कुनामा राप्ती नदी पारि रहेको नरैनापुरको नाउँ धेरै नै सुनिएको थियो । नेपालमा कोरोना संक्रमण भर्खर भित्रदैं गर्दा नरैनापुर नेपालमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भएको गाउँपालिका बनेको थियो ।

नत्र नरैनापुरको नाम हतपत सुनिंदैन, न त यसको कहिल्यै राष्ट्रियस्तरमा चर्चा हुने नै गर्छ ।

हामीले नेपालका कतिपय विकट क्षेत्रहरुलाई चिनाउन ‘कर्णाली’ को उपमा दिने गर्छौं । बाँके जिल्लाको राप्ती नदी पूर्वको भेगलाई पनि ‘बाँकेको कर्णाली’ उपनाम दिइंदो रहेछ, कारण लामो समयसम्म राप्ती नदीमा सडकपुल बन्न सकेको थिएन । हरेक वर्षायाममा यस क्षेत्रको बाँकी जिल्लासँगको सम्बन्ध टुट्थ्यो । उक्त सडकपुल वर्षौं पछि मात्र सम्पन्न हुन सकेको थियो ।

रापती नदीमा पुल नहुँदा नदी तर्दै गरेका एक स्थानीय
राप्तिपूर्व जान डुंगामा सवार व्यक्तिहरु नदी पार गर्दै

नरैनापुर बाँकेको राप्तीपूर्व क्षेत्रको साबिकको एक गाविसको नाम हो र त्यस क्षेत्रको एक बजार केन्द्र पनि । पछि यस क्षेत्रका साबिकका कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गंगापुर गाविसहरुलाई समेटेर नरैनापुर गाउँपालिका बनाइयो । बाँके जिल्लाको सदरमुकाम, नेपालगञ्जबाट यी सबै साबिकका गाविसहरुलाई जोड्दै हुलाकी सडकमार्ग बघौडा भन्ने अन्तिम विन्दुसम्म पुग्छ, जुन भारतको सीमा नाका नजिकै पर्छ । यसैले यस क्षेत्रलाई बघौडा क्षेत्र भनेर पनि चिनिने गरिएको छ ।

२०६५ साल कार्तिकको पहिलो हप्तामा म यसै नेपालगञ्ज-बघौडा हुलाकी सडकमार्गको वातावरणीय अध्ययनको सिलसिलामा त्यता पुगेको थिएँ । पुग्नु अघि यस क्षेत्रको विकटता र पछौटेपनका बारेमा धेरै सुनेको थिएँ, तर प्रत्यक्ष अनुभव भने यस भर्मणको क्रममा गर्न पाएँ । जस्तै कि स्थानीय बासिन्दाले नेपाली भाषा नबुझ्ने, नेपाली पैसा नचल्ने, बर्षायाममा सदरमुकामसम्म आउन भारतीय भूमि आउनु प्रयोग गर्नु पर्ने आदि आदि । भ्रमणका क्रममा थाहा भयो – साँच्चै हो त रहेछ, सापेक्षिक रुपमा सुगम मानिएको नेपालको तराई क्षेत्रमा पनि यस्ता विकट स्थानहरु समेत रहेछन् ।

सडकपुलको अभावमा राष्ट्रिय सडकसञ्जालसँग जोडिन नसकेको यस हुलाकी सडकको अवस्था निकै जीर्ण थियो । वर्षौंसम्म मर्मतसम्भार हुन नसकेको देखिन्थ्यो । सडकमार्गमा पर्ने विभिन्न नालामा पुल, कल्भर्ट नहुँदा त्यसलाई पार गर्न घुमाउरो बाटो प्रयोग गर्नु पर्थ्यो ।

महेन्द्र राजमार्ग हुँदै दाङबाट बाँके जिल्ला प्रवेश गरेको केही छिनपछि आउँछ, बाँकेको खासकुश्मामा पर्ने राजमार्ग छेउको एक सानो बस्ती, अगैया । यसको छेउमै रहेको छ, सिक्टा सिंचाई आयोजनाको बाँधक्षेत्र । म नरैनापुर क्षेत्रतिर पुगेको बखत यस बाँधको निर्माण हुँदैथियो । यसबाँधको निर्माण भएपछि भने राप्तीपारी पुग्न समेत सहज भएको छ र त्यहाँबाट पुग्न सकिन्छ, बाँकेको बिनौना र बैजापुर क्षेत्र, जसलाई कुनै समय बाँकेकै सबभन्दा अनकन्टार क्षेत्रको रुपमा लिईंदोरहेछ । किनकि यो राप्तीपारि जंगलले घेरिएर रहेका बस्तीहरु हुन् र लामोसमय सम्म कतैबाट पनि सडकमार्गले जोडिन सकेको थिएन । बिनौना र बैजापुरको दक्षिणपट्टि रहेको छ, दाङबाटै विस्तारित हुँदै आएको चुरेको होचो श्रृंखला र यो राप्ती नदी नपुग्दै अन्त हुन्छ । साल, असना, कर्मा, कुसुम लगायतका रुखहरुको जंगलले ढाकेको यही होचो चुरे श्रृंखलाको अझ दक्षिणपट्टि रहेको छ – नरैनापुर गाउँपालिका ।  

त्यति बेलासम्म हिउँदमा नेपालगञ्जबाट नरैनापुर जाने बाटो भनेको नेपालगञ्ज, पुरैनी, कम्दी, फत्तेपुर हुँदै त्यहाँ पुग्ने हुलाकी सडक मार्ग नै थियो । वर्षायाममा भने राप्तीमा पुल नभएका कारण भारतभूमि भएर घुमेर जानुपर्ने अवस्था रहेछ । वर्षौंको मर्मतसंभारको अभाव र सडकमा गुडका गाडी तथा बयलगाडाहरुले उडाएको धुलोले सडक कुइरीमण्डल भएको देखिन्थ्यो । सडकमार्गका विभिन्न स्थानमा चिया पसल सहितका स-साना बस्तीहरु भेटिन्थे । यस्ता चिया पसलहरु मधेशमा मानिसहरु बिहान बेलुकी वा फुर्सदमा भलाकुसारी गर्ने राम्रो थलो हुँदा रहेछन् । काठले बनाइएका स-साना घुम्ती पसलहरु पनि धेरै देखिन्थे । यी पसलहरुमा चियाका साथै, समोसा, पकौडा, जेरीहरु बेच्न राखिएको देखिन्थ्यो ।

नरैनापुर क्षेत्रको एक ग्रामीण बस्ती

यस क्षेत्रमा ग्रामीण विद्युतीकरणको योजना भए पनि वर्षौंसम्म यसको काम अगाडि बढ्न सकेको रहेनछ । स्थानीय बासिन्दाहरु राम्रो सडक र विद्युतीकरणको प्रतीक्षामा रहँदा रहँदा थाकिसकेका देखिन्थे । त्यसो त समथर फाँट भएर पनि त्यतातिर सिंचाईको भरपर्दो सुविधा देखिएन । केही धनीमानी किसानले डिप बोरिङ गर्दा रहेछन्, सिंचाईका लागि । यस क्षेत्रलाई समेत पूर्वी नहर मार्फत सिंचाई गर्ने उद्देश्य राखी अघि सारिएको सिक्टा सिंचाई योजना पनि खासै अघि बढ्न सकिराखेको थिएन भने फत्तेपुर सिंचाई आयोजना पनि यस क्षेत्रसम्म विस।तार हुन सकेको थिएन । चुरेको दक्षिणी पाटोमा रहेकोले यस क्षेत्रमा सतही जलस्रोतका भरपर्दा स्रोतहरु पनि उपलब्ध छैनन् ।

म पुग्दा भने कतै गहुँ र मुसुरो रोप्ने तयारी हुँदैथियो भने कतै तोरीहरु फुल्न थालेको देखिन्थ्यो । ती फाँटका बिच बिचमा रहेका अधिकांश फुस्का घरहरु मिलेर बनेका बस्तीहरुबाट मधेशको गरिबी र विपन्नताले चियाईरहेको भान हुन्थ्यो । ती बस्तीहरुमा पक्की घरहरु विरलै देखिए । बस्ती छेउछाउमा केही आँप, नीम, जामुन र मेवाका बोटहरु रोपिएका हुन्थे । नरैनापुरमा पर्ने सडक मार्गभरि खासै उल्लेख्य बजार केन्द्रहरु कुनै भटिएनन् । बस्तीहरुमा भौतिक तथा सार्वजनिक पूर्वाधारहरुको ज्यादै न्यूनता थियो । यात्राभरि कुनै गतिला स्वास्थ्य पूर्वाधारहरुको उपस्थिति देख्न पाइएन । यी फुस्का घरका बस्तीहरु पटक पटक आगलागी भएर पूरा बस्ती नै खरानी हुने घटना दोहोरिराख्दा रहेछन् ।

नरैनापुरको ग्रामीण क्षेत्रमा यातायात र ढुवानीका लागि अत्यधिक प्रयोग गरिने बयलगाडाहरु

शायद, सडकको असुविधा र यस क्षेत्रमा व्याप्त पछौटेपनका कारण नै हुनुपर्छ, नेपाल पट्टिको बघौडा नाका, जसलाई स्थानीयहरु सुइया नामले पनि पुकार्दा रहेछन्, बिलकुल सुनसान र चकमन्न देखिन्थ्यो । नेपालपट्टि कुनै घर, बस्ती, पसलहरु नभए पनि सीमापारि भारतपट्टि भने चिल्लो सडक थियो, अनि त्यहाँ गुडिराखेका नयाँ कारहरुले भारतको सीमावर्ती बस्तीमा बढ्दै गएको आर्थिक सम्पन्नता र विकासको झल्को दिईराखेको थियो । यो संभवत भारत सीमामा भएका नेपालका नाकाहरु मध्ये सबभन्दा पिछडिएको नाका मध्ये हुनुपर्छ भन्ने मेरो ठम्याइ छ, तर अवैध व्यापार गर्नेका रोजाइमा यो नाका पर्ने गरेको कुरा पनि सुनियो । सीमा भन्दा निकै पर नरैनापुरमा पहिल्यै छोटी भन्सार कार्यालय स्थापना गरिएको रहेछ, तर माओवादी द्वन्द्वकाल त्यसलाई जलाइएको रहेछ र म त्यहाँ पुग्दाको समयसम्ममा त्यसको पुनर्स्थापनाको कुनै संकेत देखिएको थिएन ।

बघौडा नाका

मधेसका थुप्रै ग्रामीण बस्तीहरु पुगें, घुमें, तर यो क्षेत्र ती बस्तीहरु भन्दा पनि अझ पिछडिएको महसुस भयो । चरम गरिबी त आफ्नो ठाउँमा छँदैछ, सामाजिक स्तरमा अगाडि बढ्न पनि धेरै बाँकी रहेछ । पूरा क्षेत्रभरिमा माध्यमिक विद्यालयहरु एक-दुई वटा मात्र रहेछन् । प्राय: बस्तीमा प्राथमिक विद्यालयहरु थिए । प्रायजसो: ती विद्यालयहरुको नाम नेपाल राष्ट्रिय विद्यालय राखिएको रहेछ । बस्तीका कतिपय मानिसहरुलाई स्कूलको नाम सोध्दा ऊनीहरुले बताउन सकेनन् । धेरैजसो स्कूलका भवनहरु धेरै जीर्ण र पुराना देखिन्थे । ती स्कूलहरुमा एक-दुई जना शिक्षकहरु मात्र भेटिए भने विद्यार्थीहरु पनि धेरै कम । शिक्षक र विद्यार्थी दुवैमा शिक्षाप्रतिको लगाव निकै कम भएको बुझियो ।

सिंचाईको भरपर्दो सुविधा नभएकोले यस क्षेत्रमा कृषि उत्पादन निकै न्यून छ । कृषिका नयाँ प्रविधि र स्रोतसाधनहरु पनि पुग्न सकेको देंखिदैन । भरपर्दो सडक सञ्जालको अभाव भएकोले कृषि उत्पादनहरु जस्तै मुसुरो, रहर, तोरीले बजारसम्मको पहुँच पाउन सकेको देखिएन । स्वास्थ्य, शिक्षासम्मको पहुँच पनि यसले गर्दा प्रभावित हुने त भई नै हाल्यो । 

सडकबाट देखिएका तोरीबारीहरु

नेपालका मुस्लिम बहुल धेरै कम स्थानीय तहहरु मध्ये एक हो, नरैनापुर गाउँपालिका पनि । यस गाउँपालिकाको लगभग ४५ प्रतिशत जनसंख्या मुस्लिमको रहेको छ । यसपछि यादव लगायत मधेशी समुदायको रहेको छ भने यस गाउँपालिकामा पहाडबाट बसाईं सरेर बसोबास गर्न आउने पहाडी समुदायको उपस्थिति निकै न्यून रहेछ । नेपालका मुस्लिमहरु धार्मिक अल्पसंख्यकका रुपमा रहेका छन् । नेपालमा विशेष गरि रौतहट र बाँकेका ग्रामीण क्षेत्रका मुस्लिमहरुको आर्थिक-सामाजिक जीवनस्तर धेरै नै तल रहेको देखिन्छ । राष्ट्रिय स्तरमा पनि मुस्लिमहरुको मानव विकास सूचकांक मधेशी दलितहरुकै हाराहारी रहेको देखिन्छ ।

यस क्षेत्रका मानिसहरु प्राय: अवधी भाषा बोल्दा रहेछन् भने हामी जस्ता बाहिरबाट गएका मानिसहरुले बोलेको नेपाली भाषा बुझ्न ग्रामीण क्षेत्रका बासिन्दालाई कठिन हुने रहेछ। नरैनापुर क्षेत्रको घुमघामका क्रममा उच्चशिक्षा हासिल गरेका मुस्लिमहरु कोही भेटिएनन् । विपन्न मुस्लिम परिवारले छोरीलाई विरलै स्कूल पठाउँदा रहेछन् । ऊनीहरु छात्र, छात्रा एकै ठाउँमा राकेर पढाइने सह-शिक्षा प्रणालीमा अझै अभ्यस्त हुन नसकेको बुझियो । मुस्लिम समुदायमा सरकारी स्कूलमा भन्दा मदरसा स्कूलहरुमा बढी रुचि भएको भन्ने पनि बुझियो । मदर्साहरुमा प्राय: उर्दू भाषामा पढाईंदो रहेछ भने यी मदर्साहरुलाई राष्ट्रिय शिक्षाको मूलधारमा ल्याउन अझै धेरै प्रयासहरु गर्न बाँकी रहेछन् । गरिबीका कारण प्रायजसो: मुस्लिम बालबच्चाहरु प्राथमिक स्कूल पढ्दा पढ्दै स्कूल छाड्दा रहेछन् र अलिक ठूलो उमेर भए पछि वैदेशिक रोजगारीका लागि भारत, खाडी मुलुक वा मलेशियातिर लाग्दा रहेछन् । कुनै युवा वैदेशिक रोजगारीका लागि प्रस्थान गर्न लाग्दा गाउँभरिका मान्छे जम्मा भएर परसम्म विदाई गर्न साथमा जाने चलन रहेछ यतातिर । यी ग्रामीण बस्तीका कम्तीमा पनि बीस प्रतिशत युवाहरु वैदेशिक रोजगारीमा रहेको कुरा स्थानीयले सुनाए । मुस्लिम समुदायमा बालविवाह र बहुविवाहको समस्या पनि चर्कै रहेछ ।

बाहिरतिरका मानिस विरलै पुग्ने यस क्षेत्रमा बाहिरका कोही नौला मानिसहरु पुग्दा ऊनीहरु कौतुहलतापूर्वक हेर्थे । राज्यले दिने आधारभूत सेवासुविधाको सामान्य पहुँचसम्म पनि नपुगेका यस क्षेत्रका बासिन्दाका अनुहारमा उदासी, भावशून्यता र निराशा पढ्न सकिन्थ्यो । महिला र दलित (चमार, राम/हरिजन, दुसाध, पासवान, धोबी, ढोली), हरुको आर्थिक-सामाजिक अवस्था त झन् दयनीय देखिन्थ्यो । राज्यबाट ठगिएको अनुभूति गरेका कतिपय व्यक्तिहरु त्यसबेला मधेशतिर उम्रिएका सशस्त्र विद्रोही समूहतिर पनि लागेका रहेछन् । त्यतिबेला विशेष गरी जनतान्त्रिक मोर्चा (ज्वाला सिंह समूह) ले त्यस क्षेत्रमा आफ्नो प्रभाव वृद्धि गरेको रहेछ र भ्रमणका क्रममा केही सतर्कता अपनाउनुपर्ने अवस्था पनि रहेछ ।

मेरो यस भ्रमणमा स्थानीय सहयोगी रुपमा नरैनापुर नजिकैको साबिकको फत्तेपुर गाविसवासी झुमलाल विष्ट थिए । ऊनी सल्यान, दाङ हुँदै बसाईं सरेर त्यहाँको स्थायी बासिन्दा हुन पुगेका थिए । लामो समय नरैनापुरको हुलाक कार्यालयमा काम गरेर सेवानिवृत्त भएकाले ऊनलाई त्यस भेगका धेरै मानिसहरुले चिन्दा रहेछन् । यसले गर्दा मलाई आफ्नो काम सकाउन निकै सहज भयो । एकदिन म उनकै घरमा बास बसेको थिँए भने कुनै होटलहरु नभएको त्यस क्षेत्रमा घुम्दा अरु दिनमा ऊनले नै चिनेका मधेशी मूलका बासिन्दाहरुको घरमा बास बसियो । ऊनीहरु सबैका आशा त्यही हुलाकी सडकको शीघ्र निर्माणसँग गाँसिएको कुरा कुराकानीका क्रममा बुझिन्थ्यो । जे होस्, यस भ्रमणका क्रममा मैले एक विकट मधेशको जनजीवनलाई नजिकबाट नियाल्ने मौका पाएँ ।

फरक फरक भुगोलमा बस्ने नेपाली भए पनि मैले अधिकाशं नेपालीका सपना र आकांक्षाहरु भने लगभग उस्तै रहेको पाएँ । त्यहाँ ऊनीहरुका कुनै ठूला सपनाहरु थिएनन् – खालि भरपेट खान र लाउन पुगोस्, छोराछोरीहरुले, ऊनीहरुको आफ्नो क्षमता अनुसार, शिक्षा र रोजगारी पाउन सकुन् भन्ने चाहना प्रकट भएको पाएँ, कुराकानीमा । शायद, यिनै सामान्य सपनाहरु पनि पूरा हुन नसकेको अवस्थाले नै हुनसक्छ, केही स्थानीय व्यक्तिहरु सशस्त्र विद्रोही समूहतिर आकर्षित भएका रहेछन् । आफ्नो काम सकेर काठमाडौं आएको केही समयपछि मेरा ती स्थानीय सहयोगी झुमलाल विष्टमाथि पनि विद्रोही समूहका व्यक्तिले गोली प्रहार गर्दा गंभीर घाइते भएको खबर सुन्न पुगें । ज्यादै दु:ख लाग्यो । 

नेपालको कतिपय क्षेत्रहरु भौगोलिक कारण र यातायात सुविधाका अभावमा बहिष्करण र उपेक्षामा परेका छन् । त्यस्तै, कतोय जनजाति, दलित र अल्पसंख्यक समूहहरु पनि बहिष्करणमा परेका छन् । वास्तवमा मुस्लिम लगायत नेपालका कतिपय समुदाय र जातिहरु राज्यको मूलधारमा आउन नसकेको कुरा यथार्थ हो । वर्षौंदेखि भोग्दै आउनु परेको चरम विभेद र असमानताले गर्दा आर्थिक, सामाजिक र राजनैतिक अवसरहरु पाउने कुरामा यी समुदायहरु उत्पीडन र उपेक्षामा परेका छन् । मुस्लिम समुदायमा साक्षरता दर पनि निकै न्यून र कहालीलाग्दो छ । सरकारी र गैरसरकारी क्षेत्रमा ऊनीहरुले विरलै राम्रा अवसरहरु पाउन सकेका छन् । केही अवसरहरु प्राप्त भए पनि त्यही समुदायका केही टाठाबाठाहरुको मात्र त्यससम्म पहुँच देखिन्छ । मुस्लिम समुदायबाट फाट्टफुट्ट केही व्यक्तिहरु राजनैतिक नेतृत्वमा पुग्न सफल भए पनि खास मुस्लिम समुदायले राज्यको मूलधारमा अझै पनि आफ्नो दह्रो उपस्थिति देखाउन सकेको छैन । ऊनीहरुको उपस्थिति राजनैतिक निर्णय प्रक्रियामा पनि नगण्य रहेको छ । मैले यस भ्रमणमा विशेष गरी तराईको सुगम भूगोल भएर पनि राज्यको पहुँचबाट पर रहेका र उपेक्षामा परेका, चरम गरिबी र विपन्नताको जीवन बाँचिरहेका मुस्लिम समुदायको दारुण तस्वीर देख्न पाएँ । यस्तै कुरालाई बुझेर नै हुनुपर्छ, पृथक धर्म, संस्कृति र भाषाका कारण बहिष्करण र विभेदमा परेका मुस्लिम समुदायलाई राज्यको मूलधारमा ल्याउनका लागि हाल मुस्लिम आयोग समेतको सवैंधानिक व्यवस्था गरिएको छ ।

मुस्लिम बस्तीमा भेटिएको एक मस्जिद र मदरसा

नरैनापुर गाउँपालिकालाई राष्ट्रिय सञ्जालसँग जोड्ने नेपालगञ्ज-बघौडा हुलाकी मार्ग सडकको अध्ययनमा गएको एक दशक भन्दा लामो समय पछि अर्थात् केही महिना अगाडि मात्र मैले नेपालगञ्ज-बघौडा हुलाकी सडकमार्ग कालोपत्रे गर्ने र त्यस भेगको ग्रामीण विद्युतीकरण गर्ने कार्य सम्पन्न भएको सुखद समाचार सुन्न/पढ्न पाएँ । निर्माणसँग जोडिएका यावत् झमेलाहरुका कारण यो कार्य सम्पन्न हुन यति विलम्ब भएको थियो ।

दशकौम पछि झुल्किएको यस सुखद समाचारको केही पछि कोरोना वैश्विक महामारी नेपाल भित्रदैं गर्दा नरैनापुर सबभन्दा बढी कोरोना संक्रमित भेटिए गाउँपालिका भनेर एकाएक चर्चामा आयो । उसो त सयौं फुस्का घरहरुले बनेका नरैनापुरका थुप्रै बस्तीहरु आगलागीले सखाप हुँदा पनि यसको नाम सुनिने गरेको छ भने नरैनापुर गाउँपालिकामा पर्ने गंगापुर, मटेहियाका केही दक्षिणी भूभाग, भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर ब्यारेजका कारण वर्षेनी डुबानमा पर्ने गर्दा पनि यसको चर्चा सुनिने गर्छ ।

अरुबखत त्यति नसुनिने गरेको नरैनापुरको नाम यस्तै महामारी, बाढी र आगलागीका घटनामा मात्र सुनिनु नै के यसको नियति हो त?

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्