Logo

महिलाले रक्सी छोडेर दूध बेच्न थाले,गाउँपालिका दूधमा आत्मनिर्भर, आम्दानी तेब्बर



Spread the love

२६ असोज, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घाकी ४७ वर्षीया इन्द्रा राना । राना आज भन्दा दुई वर्ष अघि बिहानै उठ्न साथ रक्सी पार्ने भाडा खोज्नमा व्यस्त हुन्थिन् । तर, अहिले बिहानै आफ्ना गाईभैसीलाई दानपानीसँगै दूध दुहुन र डेरीमा छोड्दा नै उनको बिहानी बित्छ ।


जातले उनि मगर । मगर समुदायमा रक्सी पार्ने ,सेवन गर्ने तथा बेच्ने कार्यलाई सामान्य ढंगले हेरीन्छ । त्यही कारणले नै होला इन्द्रा रानाले पनि आफ्नो पुर्ख्यौली पेशा जस्तै बनेको रक्सी पार्ने पेशालाई निरन्तरता दिँदै आइन् ।

दिनरात नभनि रक्सी पार्नु पर्ने । सुटुक्क घरमै पुर्याउनु पर्ने र घरमा आएर रक्सी पिउने ग्राहकसँग राती अबेरसम्म गफ गरिदिनु पर्ने बाध्यताका कारण इन्द्रा राना मात्रै नभई मगर समुदायका अधिकांश महिलाहरु आजित बनेका थिए ।

सत्यवती गाउँपालिकालाई पनि घरेलु मदिरा नियन्त्रणको विकल्प खोजिरहेको समयमा कृषिमा अनुदान नै घरेलु मदिरा नियन्त्रणको उत्तम बाटो बन्न पुग्यो । इन्द्रा रानाले अहिले एउटा मात्रै उन्नत जातको भैसी पालेकी छन् । उनले सोही भैँसीबाट मासिक न्युनतम १० हजार भन्दा बढी आम्दानी गर्छिन् ।

रक्सी पारेर बेच्दा मासिक दुइ देखि तीन हजार बचत हुने र अहिले त्यसको तेब्बर बचत हुने राना बताउछिन् ।

सत्यवती गाउँपालिकाले किसानका लागि खोर सुधारको लागि १५ हजार, भकारो सुधारको लागि १० हजार र उन्नत जातका गाईभैसी पाल्नेलाई २० हजार अनुदान दिएको छ । गाउँपालिका अहिले दूधमा आत्मनिर्भर भएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालको दाबी छ ।

इन्द्रा राना मात्र होइन अहिले धेरै मगर समुदायका महिलाहरु रक्सी बेच्न छोडेर दुध बेच्न तर्फ आकर्षित भएका छन् । वडा नम्वर चारकै जया गाहा मगरले पनि गाउँपालिकाले अुदान दिएको र दूध संकलन गर्नेका लागि डेरी सञ्चालनमा ल्याइदिएका कारण आँफु पशुपालन तर्फ आकर्षित भएको बताइन् । श्रीमान वैदेशिक रोजगारको लागि प्रवासमा रहेको बताउँदै उनले घर खर्च सबै आफ्नो कमाइले चलाएको र श्रीमानको कमाई बचत हुने गरेको उल्लेख गरिन् । रक्सी पार्दा धूवाधुलोसँग सर्घष गर्नु पर्ने साथै निकै दुख हुने तथा पशुपालन निकै सहज हुने उनको अनुभव छ ।

मगर समुदायका महिलाहरुले उत्कृष्ट सन्देश दिँदै नमुना कार्यको थालनी गर्दा सत्यवती गाउँपालिकाले कृषिमा दिएको अनुदान सबै कृषको लागि साहारा बनेको छ । विशेष गरी एकल महिलाहरुलाई सबैभन्दा धेरै राहत दिएको छ । दूध बेचेरै सत्यवती गाउँपालिका वडा नम्वर ६ की एकल महिला सरला ढकालले आफ्ना सात सन्तानको खर्च धान्दै बचत समेत गर्न सफल भएकी छन् ।
उनलाई मात्रै होइन अन्य एकल महिलालाई अहिले गाई तथा भैँसीको दूध जीवन चलाउने सहारा बनेको छ । एकल महिला मिरा क्षेत्रीले भनिन्, ‘दूध बेच्न थालेपछि घर धाँन्न सजिलो भएको छ ।
सत्यवतीमा महिलाहरुले दूध बेचेर आँफुले मात्रै पैसा कमाएका छैनन्, गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाई बाहिर निर्यात गर्न समेत सक्षम बनाएका छन् ।’


सत्यवती गाउँपालिकाबाट अहिले २ सय लिटरसम्म बाहिर दुध निर्यात हुने गरेको पशुपंक्षी शाखाका कार्यालय प्रमुख नारायण खनालले बताए ।

गाउँपलिकाको सानो सहयोग र प्रेरणाले आज सत्यवती गाउँपालिकाका महिलाहरुले हामी सबै माझा उत्कृष्ट सन्देश दिएका छन् । त्यस्तै, घरेलु मदिरा नियन्त्रण गर्न प्रहरी प्रशासन चाहिदैँन भन्ने छाप समेत छोडेका छन् ।

नेपाली ग्रामीण क्षेत्रमा महिलाहरुले बाध्यताका कारण घरेलु रक्सी पार्ने गर्छन् । घर खर्च चलाउने माध्यम नै मदिरा बनेको परिस्थितिमा प्रहरी र जनप्रतिनिधिले एक दुई दिन अनुगमन गरेर घरेलु मदिरा नियन्त्रण हुन सक्दैन हुदैन । नियन्त्रणको लागि त सत्यवती गाउँपालिकामा जस्तै महिलाहरुलाई वैकल्पिक बाटो दिनुपर्छ ।

सत्यवती गाउँपालिका र यहाँका महिलाले गरेको उदाहरणीय कार्य अन्य स्थानीय तह र महिलाहरुले पनि सिक्ने की ?

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्