Logo

नेकपाका सांसदहरुको दशैं भत्ता कोरोना उपचार कोषमा जम्मा



Spread the love

४ कार्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले दशैं भत्ता बापत पाउने रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीसहित नेकपाका सचेतकहरुसँगको सोमबारको छलफलले सो निर्णय गरेको हो ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार नेकपाका सांसदहरुले पाउने दशैं खर्च बापतको भत्ता रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको हो । नेकपाको प्रतिनिधिसभामा १७४ जना र राष्ट्रिय सभामा ४६ सांसद गरी कुल २२० जना सांसद छन् । यसअघि केही सांसदहरुले व्यक्तिगतरुपमा दशैं भत्ता बापत पाउने रकम फिर्ता गर्ने घोषणा गर्नुभएको थियो ।

यसैबीच, सभामुख अग्नीप्रसाद सापकोटाले आफूले पाउने दशैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । उहाँका प्रेस संयोजक श्रीधर न्यापानेकाअनुसार देशको संकटपूर्ण अवस्थालाई मध्यनजर गरी सभामुख सापकोटाले सो निर्णय गर्नुभएको हो । त्यस्तै, सत्तारुढ दल र प्रतिपक्ष दलले गरेको निर्णयप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ ।

दुवै दलले सांसदले पाउने दशैं भत्ताबापतको रकम कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । सभामुख सापकोटाले प्रदेश सांसदहरुले समेत त्यसको अनुशरण गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्