Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४०५,५७२
संक्रमित
५९,७२१,५६५
निको भएका
४१,३१४,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,४३५
संक्रमित
२२९,३४३
निको भएका
२०९,४३५

गुणस्तरीय बीउ : खाद्य सुरक्षा र आत्मनिर्भरता



महेश कुमार भण्डारी

परिचय : 
बीउ भनेको सुरक्षात्मक आवरणले ढाकेको एउटा परिपक्व रजकण र वनस्पतिका तरिकाले पुनरुत्पादन गरी बाली उत्पादनका लागि रोप्न वा छर्न प्रयोग गरिने सजीव वस्तु हो । सामान्यतया: बीउलाई बिरुवा विकासको पहिलो खुड्किलो रूपमा लिने गरिन्छ । माटोसँग पारस्परिक सम्बन्ध गाँसेर सोही माटोमा उपलब्ध हुने विभिन्न प्रकारका आधारभूत तत्त्वहरूलाई प्रयोग गरेर बीउले अङ्कुरण थाल्दछ । र बिस्तारै बिरुवाको रूप लिदैं गर्दा विभिन्न चरणहरू पार गरी आफ्नो जीवन तह पुरा गर्दछ । 

गुणस्तरीय बीउ भन्नाले सहजै रूपमा कुनै पनि शुद्ध जातको बीउलाई जनाउँदछ । बीउ भौतिक तथा वंशाणुगत रूपमा शुद्ध र स्वस्थ हुनु नै गुणस्तरीय बीउको विशेषता हो । उच्च अङ्कुरण क्षमता हुनु, रोग तथा किरामुक्त हुनु, उपयुक्त चिसोपन र उचित तौल हुनुजस्ता गुणहरू गुणस्तरीय बीउ अन्तर्गत पर्दछन् । गुणस्तरीय बीउ उचित बीउ प्रमाणीकरण प्रक्रियाबाट आधारित भई विभिन्न तह हुँदै बनेको हुनाले बढी उत्पादनशील र उच्चतम नाफा लिन सकिने खालको हुने गर्दछ । र बीउमा कुनै पनि प्रकारका समस्याहरू हुँदैनन् । उचित अङ्कुरण, चाँडै निष्कासन र छिटो रूपमा वृद्धि तथा विकास हुनसक्ने भएर गुणस्तरीय बीउलाई रोज्नु सबैभन्दा उपयुक्त मानिन्छ । 

वर्तमान अवस्था र सुझाव : 
नेपालमा कृषि बीउ बिजनको उत्पादन, विकास र  वितरणजस्ता कुराहरूमा निकै समय अघिदेखि नै समस्याहरू रहिरहेको कुरा प्रष्ट छ । हामी कुनै पनि बालीको बीउ छर्ने समय आइपुग्दा सधैँ बीउसँग सम्बन्धित समस्याहरू खेप्न बाध्य हुन्छौँ । समयमा बीउ आइ नपुग्नु त छदै थियो आएको बीउमा पनि कुनै विश्वास राख्ने वातावरण सिर्जना नहुँदा किसानहरू सधैँ मर्कामा परिरहेको अवस्था व्याप्त छ । प्रायजस्तो पुरानै बीउलाई उपयोग गर्नुपर्ने हुँदा उत्पादनमा नकारात्मक असर पर्न जान्छ भने  गुणस्तरमा समेत ह्रास आउँदछ ।
देशको माटो उर्वराशील हुँदैमा कृषि उत्पादनलाई ह्वात्तै बढाउन सकिँदैन भन्ने सरल कुरा समेत राम्ररी बुझिएको पाइएको छैन । विभिन्न प्रकारका बालीहरूको उत्पादनमा वृद्धि गराउन, उच्च गुणस्तरीय बीउ बिजनको उत्पादन, प्रशोधन तथा प्रशिक्षण गर्नको निम्ति उपयुक्त अध्ययन र अनुसन्धान हुन प्रारम्भिक चरणमा आवश्यक देखिन्छ । परम्परागत कृषि प्रणाली र आधुनिक कृषि प्रणाली बुझ्नु, फरक छुट्टाउनु र तुलना गर्नु कृषि क्रान्ति गर्नु होइन । सायद यिनै कुराहरूलाई समन्वय गरेर अगाडि बढेमा उत्पादनलाई केही कदम हात पार्न भने अवश्य सकिन्छ कि सोच्नुले केही अर्थ राख्छ । सुव्यवस्थित रूपमा सर्वसाधारणसामु कृषिसँग सम्बन्धित विषयहरू, हुनुपर्ने अति आवश्यक र हुँदै गरेका योजना, परियोजनाहरूको उद्देश्य र प्रतिफललाई उपलब्ध गराइ जनस्तरबाटै कृषिलाई उसको वास्तविक परिचय दिन निकै अपरिहार्य देखिन्छ । 
एउटै कुरालाई लिएर बर्सेनि गन्थन मन्थन गरिरहनु कतिसम्मको लज्जास्पद कुरा हो । देशमा कृषिको अवस्था यहीँ एउटा सामान्य सोचाइबाट समेत महसुस गर्न सकिन्छ । केही नयाँ र पृथक् तरिकाले देशको कृषिमा योगदान दिन अब भने साँच्चिकै चासोको विषय बनाउन आवश्यक छ । सम्बन्धित युवा तथा थप जनशक्तिहरूले कृषकसँग सहकार्य गरेर जैविक तथा गुणस्तरयुक्त उत्पादनलाई जोड दिन सके मानवलगायत बिरुवा सबै सबैको स्वास्थ्यमा समेत टेवा पुग्नेछ । अन्ततः पृथ्वी जगतमा समेत देखिएका अन्य समस्याहरू जस्तै : भूमण्डलीय उष्णपन तथा अन्य प्रदूषणलाई समेत कम गर्न सकिन्छ । नत्र भने कृषिप्रधान देशले अपेक्षा गरेको कृषि अब केही सपना र केही सम्झनामा मात्र रहनेछ ; भित्तामा माला लगाएर टाँसेको तस्बिरजस्तै । वर्तमान समयको कुरा गर्दा कोरोना भाइरस एउटा विकराल रूपमा मानव जातीको समेत क्षति गर्दै हाम्रो अगाडि आइपुगेको छ । यस प्रतिकूल समयमा झन् देशले कृषि उत्पादनमा ठुलो क्षति खेपिरहेको छ । बीउ बिजनको उपलब्धता हुन नसक्नु स्वाभाविकै पनि थियो । हुन्थ्यो त पनि हामी बाहिर खेतबारीमा पुगेर काम गर्न सक्ने स्थिति बिलकुलै थिएन । अब भने बिस्तारै देशको प्राय: ठाउँहरूमा कृषि कर्म सुरु भइसकेको छ । यस्तो बेला देशको अर्थतन्त्रले केही हदसम्म ओरालो यात्रा गर्न बाध्य त भयो । र पनि बिचमा कृषि क्षेत्रको विकासका निम्ति थुप्रै फरक छलफल, गोष्ठी र योजनाहरू तय भए होलान् र पुरा हुन्छन् कि भन्ने अपेक्षा हामी कृषक सर्वसाधारणले सरकारसामु राखेका छौँ ।

खाद्य-सुरक्षा र आत्मनिर्भरता : 
कृषि क्षेत्रको दिगो विकास र सन्तुलनबारे विषयवस्तुको मुख्य पाटो भनेको आखिर खाद्य-सुरक्षा र आत्मनिर्भरता नै हो । चाहे जस्तोसुकै योजना तथा तवर-तरिकाको थालनी गरौँ, हाम्रो अन्तिम उद्देश्य भनेकै खाद्य-सुरक्षा गर्ने र आत्मनिर्भरता हुने भन्ने कुरामा अडिन्छ । जुनसुकै अवस्थामा पनि हामीमा खाद्य-सुरक्षा र आत्मनिर्भरता भन्दा अरू विकल्प भेटिनु हुँदैन । तब मात्र हामी एउटा बलियो कृषि क्षेत्रको निर्माण र समान रूपमा चौतर्फी विकास गर्न सक्दछौँ ।
खाद्य-सुरक्षा र आत्मनिर्भरताको बलियो आधार भनेको हाम्रो उत्पादन हुने गर्दछ । उत्पादनलाई बढाउनको निम्ति यसको आधारभूत कुरा ; बीउलाई बुझ्न आवश्यक हुन्छ । बीउमा भएको गुणस्तरले मात्र खाद्य-सुरक्षा र आत्मनिर्भरताको मात्रालाई मापन गर्न सक्दछ । गुणस्तर बीउसँग उत्पादनको समानुपातिक सम्बन्ध हुने गर्दछ ।
सुन्दा उस्तै लाग्ने खाद्य-सुरक्षा र आत्मनिर्भरता, केही फरक अवधारणा भने पक्कै हुन् । तर एक अर्कामा अन्तर सम्बन्धित पनि अवश्य छन् । आत्मनिर्भर हुन सक्नु भनेकै खाद्य सुरक्षाको मापनले गर्दा हो । गुणस्तरीय बीउबाट खाद्य-सुरक्षा र आत्मनिर्भरतालाई बुझ्नु, बुझाउनु र प्रयोग गरी गुणस्तरीय जीवन जिउनु भनेको हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ ।
खाद्य-सुरक्षा भनेको पृथ्वीमा रहेका प्रत्येक मानवसँग उसले चाहेको जुनसुकै समयमा पनि भौतिक तथा आर्थिक दृष्टिकोणले स्वस्थ, सुरक्षित र पोषणयुक्त खानाको पहुँच पुग्नु या हुन सक्नु हो । खाद्य सुरक्षा खाद्यान्न उत्पादन, वितरण र उपभोगको एउटा समष्टिगत रूप हो । आफ्नो आवश्यकताअनुसारको पोषणयुक्त खाद्यान्नको उपलब्धता र उपभोगमा पहुँचको अवस्थाले खाद्य सुरक्षाको मापदण्ड पुरा गर्दछ । हरेक मानवसमक्ष खानाको उपलब्धता, पहुँच, उपयोग र स्थिरता बनाइ उपभोग गराउन सकियो भने मात्र खाद्य-सुरक्षालाई पूर्ण भएको मानिन्छ । साथै यिनै विविध कुराहरूलाई सन्तुलित ढङ्गबाट पुरा गरी स्वस्थ जीवन निर्वाह गराउन एउटा गुणस्तरयुक्त बीउले ठुलो योगदान खेल्दछ । 
तर, दुर्भाग्यवश ! खाद्य-सुरक्षाको अवधारणा अझै पनि अधिकांश मुलुकहरूमा सुरक्षा नभई एउटा बलियो समस्या बनी जरा गाडिरहेको छ । एउटा विशाल खाद्यसंकटको रूप लिई भोकमरीजस्ता समस्याहरू उत्पन्न गराइ बर्सेनि अत्यधिक मान्छेहरू अन्य कुनै रोगबिना अकालैमा मर्ने गरेका तथ्याङ्गहरु भने आँखै अगाडि छर्लङ्ग छन् । अहिलेको वर्तमान समय( कोरोना ) ले पनि खाद्य-सुरक्षा र आत्मनिर्भरतामा सरिक हुनुपर्दछ भन्ने पाठ हरेक कृषकदेखि सरकारसामु सिकाएको छ ।
कृषिमा आत्मनिर्भर हुनु भनेको एकदमै अपरिहार्य विषय हो । एउटा सर्वसाधारण कृषकदेखि लिएर एउटा समुन्नत राष्ट्रले आत्मनिर्भरता खोजिरहेको हुन्छ । सामान्य रूपमा आत्मनिर्भरता हुनु भनेकै आफ्नो घरेलु उत्पादनलाई जोड दिई कृषि उपजलाई बढवा दिनु हो । आफूसँग उपलब्ध स्रोत र साधनको उचित प्रयोग गरी जैविक खेतीसँग आधारित खेती पद्धतिलाई अपनाउनु नै कृषिमा आत्मनिर्भरताको जग बसाल्नु हो । आफ्नै घरायसी वातावरणसँग सुहाउने विभिन्न प्रकारका बालीहरू लगाएर निर्यातलाई अघि बढाउने उद्देश्यले आयातलाई कम गरी अर्थतन्त्रलाई बलियो पार्नु, आफ्नो जमिनको उचित प्रयोग गर्नुको साथै इच्छाअनुसारको खेती गरी स्थानीय तथा मौलिकपनलाई जोगाउनु आजको निकै आवश्यकताको विषय समेत हो । यसले गर्दा पर्यटनबाट समेत देशको नयाँ पहिचान झल्किन मदत पुग्दछ ।
गुणस्तरीय बीउको प्रयोग गरेमा कृषि उत्पादनको सुनिश्चितता, पर्यावरणीय प्रणालीमा सन्तुलन, प्राकृतिक स्रोत र साधनको समुचित प्रयोगले गर्दा अर्थतन्त्र मजबुत हुन पाउँदछ । कृषि क्षेत्रको समष्टिगत विकास र सम्भावनाको परिपूर्तिको लागि उचित मापदण्डलाई पुरा गरेको बीउलाई प्रयोग गर्नुस्वतः उत्तम ठहरिन्छ । गुणस्तरयुक्त बीउले देशको विभिन्न कुनाकन्दरामा जीवित खाद्यसंकटले निम्त्याएका समस्याहरूको समाधान तथा दिगो रूपमा निराकरण गर्न सघाउँछ । अब भने चाडै सरकारी तथा निजी स्तरबाट गुणस्तरीय बीउ बिजनको उत्पादनलाई प्रोत्साहन गरेमा मात्र बालीहरूको उत्पादनमा वृद्धि हुने सम्भावना देखिन्छ । फलस्वरूप खाद्य-सुरक्षा र आत्मनिर्भरताले उचित ढङ्गको आकार लिन सक्नेछ ।

आवश्यकता : 
– बीउ बिजन सम्बन्धी नीति निर्धारण गर्नुको साथसाथै तिनको उचित कार्यान्वयन गरी अगाडि बढ्न सके मात्र गुणस्तरयुक्त बीउ निर्माण हुन पाउँदछ ।
 – सरकारले पनि आवश्यक परामर्श दिनको लागि राष्ट्रिय रूपमा तथा अन्य प्रदेशअनुसार बीउ बिजन समितिहरू गठन गरेर सही ढङ्गबाट स्रोत र साधनको उचित प्रयोग गर्न आवश्यक देखिन्छ । – नयाँ बीउ तोकिए बमोजिम अनुमोदन, उन्मोचन र दर्ता गर्न आवश्यक छ ।
 – बीउ बिजन उत्पादन र वितरण कार्यमा सरकारी तथा गैरसरकारी निकायहरू बिच समन्वय हुन आवश्यक देखिन्छ । 
– बाहिरी देशबाट निर्यात हुने सबै प्रकारका बीउ बिजनलाई नियमित रूपमा चेक जाँच गरी नियन्त्रण गर्न आवश्यक छ । 
– बीउको गुणस्तरलाई पटक पटक अध्ययन गरी निर्धारण गर्न जरुरी छ ।
 – बीउबिजनसङ्ग सम्बन्धित प्रगोगशालाहरु अनुमतिबिना सञ्चालन गर्न नदिई सर्वेक्षण गर्ने र अनुमतीपत्र विहीन बीउ बिजन कारोबार तथा लेनदेन गर्नेलाई कानुनी रूपमा कारबाही गर्न आवश्यक छ ।
– गुणस्तर, नियन्त्रण र प्रमाणीकरणसम्बन्धी आवश्यक पूर्वाधारहरू तय गरी स्वीकृत तरिका, स्तर र मापदण्डअनुसार बिउ बिजन प्रमाणित गर्न आवश्यक छ ।

फाइदा : 
– गुणस्तरीय बीउहरू वंशाणुगत रूपमा शुद्ध र स्वस्थ हुन्छन् ।
– थोरै मात्रामा बीउ रोपेर समेत बढी उत्पादन गर्न सकिन्छ । त्यसैले खर्चलाई बचाउन मदत गर्दछ । – गुणस्तरीय बीउबाट उब्जेको बिरुवाको काण्ड तथा अन्य भागहरू अलि बलियो हुने गर्दछ । र खेतबारीमा बिरुवाको फैलावट पनि एक नाशले हुने गर्दछ ।
– अन्य बीउको तुलनामा छिटो उत्पादन लिन सकिन्छ । र बीउ रोपेपछि भित्र्याउँदाको दिनसम्म पुग्दा कम समय लाग्छ ।- बीउसँग रोग प्रतिरोधात्मक क्षमता बढी हुने गर्दछ । फलस्वरूप रोग तथा किराबाट उति हानी हुनपाउँदैन ।
– झारपातहरू पनि उति धेरै बढ्न पाउँदैन । र सजिलै तरिकाले फलाउन सकिन्छ । उत्पादनमा मर्का पर्दैन ।
– उत्पादनमा पनि एकरूपता ल्याउन मदत पुर्‍याउँछ । र अन्ततः बजार मूल्य समेत बढी पाउँछ ।- गुणस्तरीय बीउ ठुलो हुन्छ र ठुलो बीउसँग चाडै उम्रने क्षमता हुन्छ । चाडै उम्रने बीउ छिटो फल्छ र रोगले हस्तक्षेप गर्न पाउँदैन ।
– भित्र्याउँदा प्रशोधन तथा स्टोर गरेर राख्न सजिलो हुने गर्दछ । 
– मल तथा अन्य तत्त्वहरूको प्रयोगमा राम्रो तथा चाडै प्रतिक्रिया देखाउँछ ।
– गुणस्तरीय बीउबाट उम्रेका बिरुवाहरू सबैजसो वातावरणमा हुर्कन सक्ने खालका हुन्छन् ।
 – उत्पादकत्वलाई सजिलै मापन गर्न सकिन्छ ।

निष्कर्ष : 
अन्त्यमा, गुणस्तरीय बीउ बिजनको उचित प्रयोगमा बिरुवाको वृद्धि र विकासमा एकरूपता ल्याइ स्वस्थ तरिकाले उच्चतम उत्पादन र उच्च बजार मूल्य कायम गर्न सकिन्छ । गुणस्तरयुक्त बीउको प्रयोग भनेकै नेपालको कृषि व्यवस्थालाई रूपान्तरण गर्न सक्ने एउटा गतिलो बाटो हुन सक्दछ । जसको उचित तथा उपयुक्त प्रयोगले पार्ने प्रभाव र फाइदाहरूले गर्दा खाद्य-सुरक्षा र आत्मनिर्भरतामा सन्तुलन मिल्दछ । गुणस्तरीय बीउलाई पहिलो आधार बनाइ जैविकरुपमा खेती गर्ने पद्धतिलाई अघि सार्न सके दिगो कृषि विकासको अवधारणा चाडै सम्भव हुन्छ । र फलस्वरूप यसले कुनै पनि राष्ट्रको अर्थतन्त्रलाई पनि मजबुत तुल्याइ कुल गृहस्थ उत्पादनमा विशेष टेवा पुर्‍याउँदछ । 
(लेखक महेश कुमार भण्डारी पक्लिहवा कृषि क्याम्पस, भैरहवामा कृषि स्नातक चौथो संन्त्रान्तमा अध्ययनरत विद्यार्थी हुन् । )

प्रतिक्रिया दिनुहोस्