Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४०५,५७२
संक्रमित
५९,७२१,५६५
निको भएका
४१,३१४,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,४१२
संक्रमित
२२७,६४०
निको भएका
२०९,४३५

कलेज जीवनका सम्झनाहरु-१



२०४८ साल चैत्र ७ गते ।

पुल्चोक ईञ्जिनियरिङ कलेजमा प्रवेश प्रवीणता (डिप्लोमा) तह अध्ययनका लागि प्रवेश परीक्षा दिन कलेजभित्र प्रवेशगरिएको दिन ।

कलेजभित्र प्रवेश गर्दै गर्दा बाटो छेउछाउमा ढकमक्क फुलेका बैजनी रङ्गका शिरीषका फूलहरूले छुट्टै रौनकता थपिराखेको थिए ।

कलेजभित्र, प्रवेशद्वार र कलेज परिसर वरिपरि प्रवेश परीक्षा दिन आएका परीक्षार्थीहरुको घुँईंचो थियो । संभवत नेपालका प्रायजसो: सबै जिल्लाबाट प्रवेश परीक्षाका लागि त्यहाँ आएका थिए होलान् ।

प्रवीणता (डिप्लोमा) तह अध्ययनका लागि विद्यार्थी भर्नाका लागि पुल्चोक क्याम्पसमा लिइएको यो पहिलो प्रवेशपरीक्षा थियो । यसअघि शायद प्रवेशिका परीक्षाको कुल प्राप्ताङ्क तथा अङ्ग्रेजी, गणित र विज्ञानको प्राप्ताङ्कका आधारमा भर्ना लिइन्थ्यो जस्तो लाग्छ । आफ्नो प्रवेश पत्रको क्रमसङ्ख्या हेरेपछि थाहा लाग्यो, मेरो परीक्षा हल ‘बी’ ब्लकमा परेको रहेछ । केही बेर ‘बी’ ब्लक र परीक्षा हल खोज्नमा बित्यो । ‘बी’ ब्लकको पश्चिमी भागको दोस्रो तल्लामा रहेको ईञ्जिनियरिङ ‘ड्रइङ’ हलमा आफ्नो ‘सिट’ परेको रहेछ । नजिकैको ‘सिट’ मा पर्ने साथीसँग परिचय भयो । उहाँ बैतडीका खेमराज भट्ट हुनुहुँदो रहेछ । ‘ड्रइङ’ हलमा भएका ठूल्ठूला टेबलहरूले केही क्षण रोमाञ्चित गरायो ।

सबैका लागि यस प्रवेश परीक्षा नौलो अनुभव हुने नै भयो । गणित र अङ्ग्रेजी विषयमा प्रवेश परीक्षा लिइएको थियो । गणितका प्रश्नहरू सहज नै लागे । अङ्ग्रेजीका कुनै प्रश्नहरू भने केही कठिन र समय अलिक अपुग भएको जस्तो लाग्यो । तैपनि विषयगत प्रश्नहरू भएको हुँदा कुनै पनि छाडिएको थिएन ।

२०४८ साल चैत्र १४ गते ।

प्रवेश परीक्षाको नतिजा प्रकाशन भयो । सिभिल, इलेक्ट्रिकल र यस्तै अन्य केही विषयमा फर्म भरिएको थियो जस्तो लाग्छ । फर्म भर्दा सिभिललाई पहिलो प्राथमिकतामा राखिएको थियो । करिब २७ सय परीक्षार्थीहरुले प्रवेश परीक्षादिएका थिए । त्यसमध्ये २३ सय जत्ति उत्तीर्ण भएका रहेछन् । मेरो नाम सिभिलको सुचीमा सातौँ नम्बरमा निस्केको रहेछ। डेरामा फर्केर यो खबर सुनाएँ, सबै जना खुसी भए । राम ईटनीजीले ‘लौ यो खुसीको खबर सुनेसँगै आज बेलुकी फिल्महेर्न जाऊँ’ भन्नुभयो । म खासै फिल्म हेर्न नजाने भए पनि उहाँको आग्रह टार्न सक्ने कुरै थिएन । त्यस दिन बेलुकी हामी जयनेपाल सिनेमा हलमा गएर ‘चोट’ फिल्म हेरेका थियौँ । सिनेमा हलमा गएर हेरेको यो मेरो पहिलो नेपाली फिल्म थियो ।

२०४८ साल चैत्र २४ गते कलेजमा भर्ना भएँ । कलेजको ‘ए’ ब्लकको पश्चिमपट्टि भुईतलाको सानो झ्यालबाट कागजात/प्रमाणपत्रहरू बुझाएर भर्ना गरिएको थियो । भर्ना हुन लाइन लाग्दासँगै भएर चिनापर्ची भएका साथी विजयराम कोजु (भक्तपुर) थिए । भर्ना हुने बेला घरबाट बुबा पनि सँगै आउनुभएको थियो । भर्ना हुँदै गर्दा बुबाको आँखामा छचल्किएको खुसीलाई देखेर आफू पनि सन्तुष्ट भएको थिएँ । स्कुल पढ्दा देखि नै इञ्जिनियरिङ शिक्षामा प्रवेशपाउने आकाङ्क्षाले मूर्त रूप पाएको थियो ।

स्कुल पढ्दा सानो कक्षादेखि नै गणित र विज्ञान विषयमा धेरै नै रुचि थियो । प्रवेशिका परीक्षामा पनि प्रथम श्रेणीमा राम्रै अङ्कका साथ उत्तीर्ण भइएको थियो । त्यति बेला राम्रो अङ्क ल्याउने विद्यार्थीहरू प्राय: चिकित्सा शास्त्र र ईञ्जिनियरिङ तर्फ नै आकर्षित हुन्थे । मेरो रोजाइको विषय ईञ्जिनियरिङ थियो ।

बाल्यकाल छँदा गाउँमा हाम्रो घर बनाइएको थियो । त्यतिखेर तीन, चार वर्षको मात्र उमेर भए पनि घरको जग राख्न खनिने, झ्याल, ढोका बनाइने, छाना छाउने कामहरूले, डकर्मी, सिकर्मीहरूले गरेका कामहरूले विशेष आकर्षित गर्थ्यो र उनीहरूलाई उमेर सुहाउँदो सहयोग गर्न पनि तम्सिन्थे । घर बनाइएको उत्तरपट्टिको जमिन अलिकति ऊँचो थियो र जग खन्दा खारिएपछि बाँकी जमिनको भाग केही भिरालो भएको थियो । त्यो भिरालो जमिनको फेदीबाट तीन चार पिटमाथिसम्म पुग्नका लागि हामी सानो सडक बाटो बनाएर खेल्ने गर्थ्यौँ । सानो खेलौना मोटर पनि साथमा थियो । बाटोबनाउँदा बाटो पर्याप्त फराकिलो हुनु पर्ने, गाडी गुड्न सक्ने भिरालोपन मिलाउनुपर्ने, बिच बिचमा घुम्तीहरू बनाउनेकुरामा ध्यान दिन्थ्यौँ । बाटो बनाएर खेलौना मोटर गाडी गुडाउँदा कहिलेकाहीँ सानो घुम्तीबाट गाडी सिधा गएर खस्नेपनि गर्थ्यो । अहिले सम्झँदा यस्तो लाग्छ, “शायद, मानिसको रुचि सानै उमेरदेखि नै नजानिँदो तवरले छुट्टिदैं जाने पोरहेछ कि ?”

हाम्रो एसएलसी ब्याच २०४६ सालको जनआन्दोलन पछिको ब्याच भएकोले एसएलसी परीक्षा केही ढिला मात्र सम्पन्न भएको थियो अर्थात् २०४७ साल फाल्गुनमा हामीले एसएलसी दिएका थियौँ भने यसको नतिजा २०४८ साल साउन ३१ गते प्रकाशित भएको थियो । मेरो घर धादिङ जिल्लामा पर्छ । एसएलसी भने गोरखा जिल्लाको भीमोदय मावि,आरुघाटबाट दिएको थिएँ । हाम्रो घर र स्कुल बुढीगण्डकी नदीको वारिपारि पर्थ्यो । घर र स्कुलको बिचमा आधाघण्टाको उकालो ओरालो बाटो पनि हिँड्नुपर्थ्यो ।

यी दुवै जिल्लामा बसेर प्राविधिक वा विज्ञान विषय अध्ययन गर्न सकिने अवस्था त्यति बेला थिएन । यसका लागि काठमाडौँ नै आउनुपर्थ्यो । ईञ्जिनियर बन्नका लागि कि त प्रवीणता प्रमाणपत्र तहमा विज्ञान विषय लिएर पढ्नुपर्थ्यो भने कि त ईञ्जिनियरिङ क्याम्पसमा डिप्लोमा प्रवीणता तह पढ्नुपर्थ्यो । त्यतिबेलासम्म नेपालमा स्नातक तहको ईञ्जिनियरीङ पढाई हुने क्याम्पस पुल्चोक क्याम्पस मात्र थियो । त्यसैले पुल्चोक ईञ्जिनियरिङ क्याम्पसको डिप्लोमा प्रवीणता तह नै मेरो पहिलो रोजाइमा पर्‍यो । प्रवीणता प्रमाणपत्र तहमा विज्ञान विषयको सट्टा ईञ्जिनियरिङ पढ्नुको अर्को फाइदा भने हामी जस्ता निम्न मध्यम वर्गीय पारिवारिक पृष्ठभूमि भएका र गाउँबाट पढ्न आएकाका लागि कम्तीमा यसले ओभरसियर जागिरको सुनिश्चितता गर्थ्यो । यसलाई पनि गाउँघरमा प्रतिष्ठित जागिरकै रूपमा लिइन्थ्यो । बिचमा केहीवर्ष ओभरसियर जागिर गरेर आर्थिक रूपमा अलिक मजबुत भएपछि मात्र स्नातक तहको ईञ्जिनियरिङ गर्ने विकल्प पनि सुरक्षित रहन्थ्यो भने उत्कृष्ट अङ्क ल्याउन सकिएमा विदेश पढ्न जाने छात्रवृत्ति पनि पाइने सम्भावना पनि रहन्थ्यो ।

निकै ढिला गरी एसएलसी परीक्षाको नतिजा आएकोले क्याम्पस भर्नाका सूचनाहरू दशैंतिहार पछि मात्र निस्कन थालेका थिए । म भने पुल्चोक क्याम्पसको भर्ना सूचनाको प्रतीक्षामा थिएँ, जुन सूचना निस्कन केही ढिलाइ भइराखेको थियो ।

२०४८ सालको मंसिर महिनामा हाम्रो गाउँभन्दा केही उत्तरमा पर्ने बस्ती बुढाथुम, गलनेका पूर्ण दाहाल दाइ (हाल:अध्यक्ष, आरुघाट गाउँपालिका, गोरखा) सँगै काठमाडौँ आएँ । उहाँ त्यतिखेर महेन्द्ररत्न क्याम्पस, ताहाचलमा शिक्षाशास्त्रस्नातक तहमा अध्ययन गर्दै हुनुहुन्थ्यो । उहाँ र मेरो चिनाजानी भने २०४७ साल पछि धादिङका विभिन्न स्थानमाआयोजना गरिएका राजनैतिक आमसभाहरूमा सँगै भाषण गर्ने क्रममा भएको थियो । उहाँले मलाई आफ्नै भाइजस्तो आत्मीय व्यवहार गरेर काठमाडौँ ल्याउनुभयो । उहाँको स्वयम्भू नजिकै डल्लुको डेरामा बसेँ । उहाँसँगै ताहाचलको महेन्द्ररत्न क्याम्पस पनि घुम्न गएँ । अमृत साइन्स क्याम्पस र त्रिचन्द्र क्याम्पस पनि गएँ ।

अमृत साइन्स क्याम्पस गएर भर्ना फर्म भरेँ । तर, खोइ किन हो कुन्नि, साइन्स क्याम्पसमा भर्ना भएर पढ्ने कुरामा म त्यति आकर्षित हुन सकिन । यस अगाडि म २०४७ सालको कात्तिकतिर दश कक्षाको परीक्षा सकेर पहिलो चोटि काठमाडौँ आउँदा जावलाखेलको चिडियाखाना आउने जाने क्रममा बसबाटै पुल्चोक क्याम्पसको कम्पाउन्ड देखेको थिएँ। बसभित्रबाटै कम्पाउन्डभित्रका लहरे पिपलका अग्ला रुखहरू र त्यसले छेकिएर अलि अलि मात्र देखिएका क्याम्पसकाठुला भवनहरूले नै मलाई बढी आकर्षित गरिराखेका थिए ।

पुल्चोक क्याम्पसको भर्ना सूचना निस्कन केही ढिलाइ हुने देखिए पछि एक हप्ता जति मात्र काठमाडौँ बसेर गाउँ फर्किए । माघ महिनातिर पुनः काठमाडौँ आएँ । यतिखेर मेरो बसाई भने हाम्रै गाउँ (सल्यानटार) बाट पढ्नलाई काठमाडौँ आउनुभएका राजाराम ईटनी दाइको धोबिचौरको डेरामा भयो । उहाँ त्यतिखेर पब्लिक यूथ क्याम्पसमा स्नातक तहअध्ययन गर्दै हुनुहुन्थ्यो भने उहाँसँगै उहाँको भान्जा चक्रपाणि पाठक (ज्यामरूङ) र भाइ राम ईटनी (सल्यानटार) पनिसाथमै बस्नुहुन्थ्यो । म करिब एक डेढ महिना समय उहाँहरूसँगै रहेँ । विशेष गरी राम ईटनी र म छोटो समयमै घनिष्ठमित्र भएका थियौँ । पसलमा किनमेल गर्न जाने र खाना पकाउने काम सँगै गर्थ्यौँ । धोबिचौर, क्षेत्रपाटी क्षेत्रमा धादिङ,गोरखाबाट पढाइ र कामका सिलसिलामा आउने थुप्रै मानिसहरूको बस्ने गर्थे । घ्याम्पेसाल, गोरखामा केही समय अध्ययनगर्दा चिनजान भएर घनिष्ठ मित्र भएका राजेन्द्र बजगाईँ (हाल, नेता, नेपाल काँग्रेस तथा पर्यटन व्यवसायी) जीसँग पनिकहिलेकाहीँ बाटोमा भेटघाट भइराख्थ्यो । पछि थाहा भयो, म बसेको घरकै माथिल्लो तलामा मेरो गोरखाका दाइ, दिदीहरू (घनश्याम मास्के मामाका छोराहरू सुनिल, सञ्जय, अनुप मास्के दाइहरू र ईस्तिका दिदी) पनि बस्नुहुँदो रहेछ । उहाँहरूसँग चिनजान र आउजाउ भएपछि त्यहाँको बसाई अझ रमाइलो भयो ।

क्षेत्रपाटी, धोबिचौरमा बस्दा कहिलेकाहीँ अमृत क्याम्पस र त्रिचन्द्र क्याम्पसमा जाने गर्थेँ । त्यहाँ क्याम्पस र कक्षाकोठाभित्र जान समेत कुनै रोकटोक थिएन । मैले पनि हुलमुलमा छिरेर गणित र विज्ञानका केही ‘क्लास’हरू लिएँ । स्कुलको शान्त वातावरणमा पढेका हामी जस्तालाई अमृत क्याम्पस र त्रिचन्द्र क्याम्पसका कक्षाकोठाको भिडयुक्त वातावरण निकै निस्सासिंदो र उकुसमुकुसयुक्त पाएँ । कक्षाकोठाको पहिलो पङ्क्तिमा बस्ने विद्यार्थीहरूले त केही बुझ्थेहोलान्, शिक्षकले पढाएका कुराहरू। पछिल्लो पङ्क्तिमा बस्ने विद्यार्थीहरू भने पढाई बाहेकका अन्य कुरामा र होहल्लागर्नमा व्यस्त देखिन्थे । त्यति धेरै हुलमुल विद्यार्थीमा शिक्षकले विद्यार्थीका नियमित गृहकार्यहरू हेर्न सक्ने कुरा त परकै भयो।

प्रमाणपत्र तहमा जुनसुकै विषय पढे पनि अङ्ग्रेजी र नेपाली विषयका किताबहरू उही हुने भएकोले ती किताबहरू किनेरअलिअलि आफैँ पढ्न थालेँ । स्कुलदेखि नै नियमित रूपमा पत्रिका पढ्ने भएकोले यो बानीले निरन्तरता पाउने त भई नै हाल्यो । बाहिर बजार जाँदा पुस्तक र पत्रिका पसलहरू नै मेरा प्रिय गन्तव्यहरू थिए । कहिलेकाहीँ धोबिचौरबाट हिँड्दै भोटाहिटीका पुस्तक पसल र रत्नपार्कमा फिजारेर बेच्न राखिएका पत्रिका/पुस्तक पसलसम्म पुग्ने गर्थे । विशेष गरी कतिपय मानिसहरू रत्नपार्कका ती पत्रिका पसलका वरिपरि झुम्मिएर उभिँदै पत्रिका पढिराखेका हुन्थे । त्यति बेला मैले थापाथलीका पुस्तक पसलबाट लेखक स्वेट मार्डेन लगायतका अन्य थुप्रै प्रेरणादायी किसिमका पुस्तकहरू किनेको थिएँ ।

यो बिचमा एकदुई चोटि पुल्चोक क्याम्पसतिर पनि गएँ । त्यति बेला थापाथलीको बागमती पुलको बिचको एक पिलर धसिएर पुलबाट गाडीको आवतजावत बन्द गरिएको थियो । पुल मुनि अस्थायी बाटो बनाएर एकतर्फी गाडी सञ्चालनगरिँदो रहेछ । टेम्पोहरु भने दुईतर्फी रूपमा नै आवतजावत गर्दा रहेछन् । धोबिचौरबाट असन, भोटाहिटी हुँदै रत्नपार्कमाआएर पुल्चोक जाने बसका बारेमा सोधेँ । कसैले पाटनढोका जाने ठूल्ठूला टाटा बस देखाइदिए । म त्यसमै चढेँ, तर त्यो बस त पुल भत्केका कारणले कोटेश्वर, ग्वार्को, सातदोबाटो, लगनखेल, जावलाखेल, हरिहरभवन हुँदै घुमेर पाटनढोका पुग्ने रहेछ र निकै लामो समय लाग्ने रहेछ । बसमा निकै कम मात्र यात्रुहरू थिए । पछि मात्र थाहा पाएँ, त्यो भन्दा छिटो पुग्न खासमा टेम्पो चढ्नु पर्ने रहेछ । रत्नपार्कबाट भद्रकाली, थापाथली, कुपण्डोल हुँदै हिँडेर गएमा पनि बस भन्दा छिटो पुगिने रहेछ ।

बस चढेर गएको यात्रा पनि मेरो लागि लाभदायक नै भयो भन्नुपर्छ । सहरका धरै कुराहरू देख्न पाइयो । त्यति बेला बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन भवन निर्माणाधीन अवस्थामा थियो । कोटेश्वरबाट रिंगरोड निस्केपछि रिंगरोडको छेउछाउमा फाट्टफुट्ट मात्र घरहरू थिए । रिंगरोड बाहिरपट्टि त घरहरू नै थिएनन् भन्दा पनि हुन्छ । रिंगरोडबाट बाहिरपरका पहाडका कुनासम्म खेतका फाँटहरू फैलिएका थिए । धान काटिसकिएको थियो र जमिनहरू बाँझा थिए । कतै कतैगहुँ छर्न थालिएको थियो । माघ महिनाको बिहानको एघार बजेतिरको कलिलो घामले तातिएर भुईँ नजिकै टाँसिएको कुहिरो पातलो बन्दै जान्थ्यो र हावामा विलीन हुँदै जान्थे । रिंगरोडको छेउछाउमा लस्करै रोपिएका लहरे पिपलकारुखहरू पात झरेर नाङ्गा देखिन्थे भने तिनको हाँगाको कापमा भएका कागका गुँडहरू बसबाटै स्पष्ट देख्न सकिन्थ्यो । अहो !अहिले पनि मानसपटलमा ताजा रहेको त्यो लोभलाग्दो दृश्य अहिलेको रिंगरोड यात्रामा फेरि कहाँ भेट्न पाउनु ?

पुल्चोक क्याम्पसको भर्ना सूचना निस्केपछि क्याम्पसमा गएर प्रवेश परीक्षाको फर्म भरियो ।कुपण्डोलबाट पाटनढोकातिर लाग्दै गर्दा बाटोका दुईपट्टि पुल्चोक क्याम्पसका दुई गेटहरू छन् । दक्षिणतर्फको गेटबाट भित्र पसेपछि दायाँपट्टि अलिकपर एउटा लामो हल थियो, जुन ब्रिकवर्क्सको वर्कसप रहेछ । त्यही हलमा प्रवेश परीक्षाको फर्म भर्ने आउने विद्यार्थीहरूलामबद्ध थिए । म गएको बेला त्यस्तै पचास, साठी जना विद्यार्थीहरू लामबद्ध थिए । विद्यार्थीहरूलाई फर्म भर्ने कुरामा त्यहीँ अध्ययनरत सिनियर विद्यार्थी एवं विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूले सघाइरहेका थिए ।फर्मसँगै एउटासानो भर्ना पुस्तिका पनि बाँडिएको थियो, जसमा डिप्लोमा इञ्जिनियरिङका विभिन्न विधा, तिनीहरूको भर्ना कोटा, भर्नाविधिहरूका बारेमा लेखिएको थियो । रोचक लागेको कुरा चाहिँ मुस्ताङी राजाका लागि पनि एक छात्रवृत्ति कोटाछुट्ट्याइएको कुरा त्यसमा उल्लेख गरिएको थियो । प्रवेश परीक्षा तयारीका लागि भनेर केही कोचिङ क्लास सञ्चालकहरूले आफ्नो संस्थाको बारेमा बताएर आकर्षित गर्न केही प्रचार पुस्तिका बाँड्दै थिए, यद्यपि मैले ती कोचिङ क्लासहरूको तयारी विना नै प्रवेश परीक्षा दिएँ ।

जसरी स्कुलमा पढ्दै गर्दा काठमाडौँ गएर कुनै उत्कृष्ट क्याम्पसमा भर्ना भई प्राविधिक विषय पढ्ने लक्ष्य राखिएको थियो, त्यसरी नै क्याम्पसमा भर्ना भएपछि पनि पढाइमा उत्कृष्ट अंक ल्याएर छात्रवृत्तिमै नेपालमा वा विदेशमा गएर थप ईञ्जिनियरिङ शिक्षा हासिल गर्ने स्पष्ट लक्ष्य राखिएको थियो । यो लक्ष्यप्राप्ति हासिल गर्नु भने स्कुलमा राखिएको लक्ष्यप्राप्ति जत्तिको सहज भने पक्कै थिएन, किनभने यहाँ नेपालका सबैजसो जिल्लाका मेधावी विद्यार्थीहरू प्रवेश परीक्षाको कडा प्रतिस्पर्धा मार्फत भर्ना भएका थिए भने हामी गाउँका स्कुलमा पढेर आएकाहरू अङ्ग्रेजी विषयमा तुलनात्मक रूपमा केही कमजोर हुन्थ्यौँ । क्याम्पसमा नेपाली बाहेकका अरू सबै विषयहरू अङ्ग्रेजी माध्यममा पढाई हुन्थे । यस्तो अवस्थामा उत्कृष्टता हासिल गर्नका लागि लागि दह्रो आत्मविश्वासको जरुरत त पर्थ्यो नै, साथमा कडा मिहिनेतको पनि आवश्यकता थियो । भर्खरै एसएलसी उत्तीर्ण गरेर काठमाडौँमा पढ्न आउँदाको समयमा आफूमा जोस र उत्साह भने भरपुर थियो । गोरखा जिल्लाबाट राम्रै अंकका साथ एसएलसी उत्तीर्ण गरेर आएको तथा गोरखा जिल्लाको पढाइलाई नेपालमा राम्रो पढाई हुने जिल्लाकै रूपमा लिइने हुँदा पनि आफूमा पढाइमा राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास भरिएको थियो ।

क्याम्पसमा पढाई अगाडि बढाउने कुरा अन्य हिसाबले पनि स्कुलको जत्ति सहज थिएन । गाउँबाट राजधानी आएपछि धेरैकुरामा स्वतन्त्र रूपमा बाँच्न सिक्नुपर्थ्यो । आफैँ खाना पकाउन र लुगा धुन सक्नुपर्थ्यो । बिरामी पर्दा, पैसाको खाँचो पर्दा वा कुनै अन्य सानातिना समस्या परेका बखत आफैँ हल गर्न समर्थ हुनुपर्थ्यो । पुल्चोक क्याम्पसमा पढ्ने निश्चित भएपछि पुल्चोक क्याम्पसबाट नजिकैका स्थानहरूमा नै डेरा खोज्न थालियो, तर आफैँ अग्रसर भएर डेरा खोज्ने काम निकै कठिनरहेछ । कुपण्डोल, पाटन, पुल्चोक क्षेत्रका धेरै स्थान र गल्लीहरू डुलियो । डुल्ने क्रममा विशेष गरी पूरा फ्ल्याट डेरा लिन वा पूरा परिवारका लागि डेरा लिन चाहिँ केही सहज हुने जस्तो लाग्यो । विद्यार्थी भने पछि त अझ कतिपय घरबेटीहरूले राख्न नचाहँदा रहेछन् । कोठा खोज्दा कुनै सम्पर्क सूत्रहरू मार्फत खोजिएको भए बढी सजिलो हुनेथ्यो होला, तर त्यतिखेरअहिले जस्तो विभिन्न वेबसाइट तथा डेरा खोजिदिने एजेन्टहरू भने थिएनन् । आफ्नो गाउँ ठाउँबाट पुल्चोक पढ्न आउने एक्लै भएकाले साथै बस्ने साथीहरू अरू थिएनन् । प्राविधिक विषय पढ्नु पर्ने हुनाले मानविकी वा व्यवस्थापन विषयपढिरा खेका चिनजानका अरू साथीहरू खोजिएनन्, हुन त त्यति बेला हाम्रो गाउँबाट काठमाडौँ पढ्न आउनेहरू पनि निकै न्यून थिए । आफन्तहरूको खोजी गर्दै ऊनीहरूसँग बस्ने बारेमा पनि खासै सोचिएन ।

हप्ता दशदिन जति धुईंपत्ताल डेरा खोजेपछि बल्ल आफूलाई ठिकै हुने जस्तो किसिमको एक कोठा पुल्चोकको दमकलबाट अलिक भित्रको गल्लीमा भेटियो । डेरा खोज्दा खोज्दा थाकिसकिएको थियो । केही समयपछि क्याम्पसको छात्रावास पाइने आशा पनि थियो । केही महिनाका लागि केही कुरामा सम्झौता गरेर भए पनि त्यहीँ बस्ने निर्णय गरियो ।

घरबेटी नेवार थिए । कोठाको मासिक बहाल रु. चार सय रुपैंया थियो । कोठामा बस्नका लागि चाहिने न्यूनतम कुराहरूको जोहो गरियो । एउटा पलङ, बेड सिटका सामानहरू, किताबहरू राख्ने बेतको सानो र्‍याक, भुईँमा ओछ्याउने कार्पेट, पानी भर्ने बाल्टिन, मग, खाना पकाउने कुकर, डेक्ची, डाडुपन्यू, मसला राख्ने भाँडाहरू, स्टोभ यस्तै केही सामानहरूकिनिए । कोठाको एउटा कुना खाना बनाउन प्रयोग हुन्थ्यो । त्यति बेला ग्याँस चुल्हो र सिलिन्डरको चलन आइसकेको थिएन । त्यसैले मट्टितेलले खाना पकाउने स्टोभ चलाउन निपुण हुनुपर्थ्यो । मट्टितेल सफा नभएमा मट्टितेल आउने प्वाल बुजिएर आगोको ज्वाला बन्द भइराख्थ्यो र सानो पिन गोपेर खुलाइराख्नु पर्थ्यो ।

गल्लीको चोकको मुख (हाल सुमेरु अस्पताल रहेको) मा केही तरकारी र किराना पसलहरू थिए । त्यहीँ गएर दैनिक उपभोग्य सामानहरू किन्ने गरिन्थ्यो । पानीको भने त्यस क्षेत्रमा ज्यादै समस्या रहेछ । घरको धारामा खासै पानी आउँदैनथ्यो । त्यसमाथि डेरामा बस्नेले त झन् पाउने कुरै भएन । त्यस तीन तल्ले घरको माथिल्लो तलामा घरबेटीहरू बस्थे भने म बसेको कोठा भुईंतलामा थियो । भुईंतला र बिचको तलाका अन्य कोठामा अरू पनि थुप्रै मानिसहरू डेरा गरेर बसेका थिए । तीमध्ये कतिपय एउटै कोठामा चार-पाँच जनाको परिवार अटाएर बसिराखेका थिए ।

पानीको समस्याको बारेमा घरबेटीले पहिल्यै बताइसकेको हुनाले धेरै गुनासो गरिराख्ने कुरा पनि भएन । डेराबाट दुईचारमिनेट हिँडेपछि पुल्चोकको मूलबाटो छेउ एउटा सानो पोखरीमा पुगिन्थ्यो, जसमा सामान्यतया पानी हुन्थेन । त्यो पोखरी वास्तवमा रातो मच्छिन्द्रनाथको रथ बनाउने सिलसिलामा बाँध्ने चोया भिजाउन बनाइएको हो क्या र ? त्यही पोखरीको एउटा कुनामा सानो पाइपबाट कहिलेकाहीँ पानी आउँथ्यो र टोलभरिका मानिस त्यहाँ पानी थाप्न जाँदा रहेछन् । म पनि बाल्टिन लिएर त्यहीँ पानी थाप्न जान थालेँ । बाल्टिन लाइनमा राख्नुपर्थ्यो । बाल्टिनको लाइन कहिले लामो हुन्थ्यो त कहिले छोटो । केही समय पछि त सानो पाइपबाट आउने त्यही पानी पनि सुक्यो । पछिपछि अहिलेको पुल्चोक नगरपालिका कार्यालय अगाडि रहेको र जावलाखेल चिडियाखाना अगाडिको उत्तरी कुनामा रहेको तिरतिराउँदो पानीझर्ने ढुङ्गे धारामा समेत पानी लिन गइयो । यी ढुंगेधारामा भने राती आठ बजेतिर पानी लिइन गइन्थ्यो, किनभने त्यस समय ती धारामा भीड हुन्थेन । अहिले कुनै काम विशेषले ती ढुंगेधाराको नजिक पुग्दा त्यहाँबाट बाल्टिनमा पानी बोकेर डेरासम्म ओसारेको सम्झना सजीव भएर आउँछ । तर, ती ढुंगेधाराहरु पुरै सुकेको देख्दा उत्तिकै खिन्नता पनि जाग्छ । लुगाधुन, नुहाउन भने कहिलेकाहीँ धोबिघाटको ढुंगेधारमा जाने गर्थेँ । धोबिघाटतिर जाने बाटोमा जावलाखेल डिस्टिलरीको कारखाना थियो । डिस्टिलरी वरिपरि हिंडदा कारखानाबाट एक तमासको गन्ध आइराखेको हुन्थ्यो ।

यसरी पुल्चोकको डेराबाट मेरो पुरै स्वतन्त्र र व्यक्तिगत जीवनको सुरुवात भएको थियो । त्यस घरमा मेरो सँगैको कोठामा दार्जिलिङबाट आएका मानिसहरू बस्थे । चार पाँच जना थिए । ती मध्ये एक जना कुपण्डोलको साङ्ग रेकर्डिङ स्टुडियोमा काम गर्थे । उनका भाइहरू थिए, जो विदेश जाने धुनमा थिए । रेकर्डिङ स्टुडियोमा काम गर्ने व्यक्तिले कुपण्डोलतिरकै नेवार्नी केटीसँग प्रेम गरेर बिहे गरेका रहेछन् । उनीहरूको एक-दुई कक्षातिर पढ्ने सानी छोरी पनि थिई । कहिलेकाहीँ पढेका कुरामा केही नबुझ्दा म कहाँ सोध्न आउने गर्थी । मेरो कोठा भएको गल्लीको अर्कोपट्टिको घरको भुईतलामा  श्रीमान-श्रीमतीको कुनै परिवार बस्थ्यो । त्यस कोठामा बस्ने श्रीमान श्रीमतीहरू रात निकै अबेरसम्म झैझगडा गरिराखेका हुन्थे । शायद लोग्ने चाहिँ रक्सी खाएर आउँथे र श्रीमतीलाई कुट्ने गर्थे । श्रीमती पनि रुँदै मनपरी शब्दमा लोग्नेलाई गाली गरिराखेकी हून्थिन् । ती गालीका शब्दहरू मेरो कोठासम्म प्रष्ट रूपमा सुनिन्थे । बाहिर गल्लीतिर, टोलतिर भुस्याहाकुकुरहरू रातभरि भुक्ने उत्तिकै । वास्तवमा केही महिनाको मेरो त्यहाँको बसाई सकसपूर्ण रूपमा नै बित्यो ।

डेरा नजिकै अक्षेश्वर महाविहार थियो । अक्षेश्वर महाविहार अलिक अग्लो स्थानमा रहेको थियो र त्यहाँबाट पूरा काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिन्थ्यो । अहिलेको कान्तिपुर एफएम रहेको स्थानमा त्यति बेला केही पुराना घरहरू थिए । अक्षेश्वर महाविहारको परिसर निकै शान्त, सफा र रमणीय थियो । कोठामा बसेर दिक्क हुँदा म त्यतैतिर डुल्न जाने गर्थेँ । विहारको परिसरमा श्रीकृष्ण प्रणामीको कार्यालय पनि रहेको थियो । विहारमा केही भिक्षुहरूकोओहोरदोहोर भइराखेको देख्न सकिन्थ्यो । विहारभित्रका हलमा कहिलेकाहीँ भजनहरू गाइएको पनि सुन्न सकिन्थ्यो ।

कहिलेकाहीँ पाटनका गल्लीतिर निरुद्देश्य त्यत्तिकै एक्लै घुम्ने गर्थे । त्यति बेला डुल्ने गरेका पाटनका थुप्रै गल्लीहरू अहिलेपनि चिरपरिचित लाग्ने गर्छन् । डेराबाट लगभग दश-पन्ध्र मिनेटको हिँडाइमा पुल्चोक क्याम्पस पुग्न सकिन्थ्यो । आफूखाना खाएर क्याम्पस जाँदै गर्दा पहेँलो ड्रेसमा सजिएर मदन स्मारक स्कुलतिर आइराखेका स्कुले विद्यार्थीहरू बाटामा भेटिन्थे । टी-स्क्वायर बाहिर निस्केको झोला भिरेर बाटोमा हिंडदा आफूलाई गौराम्भित महसुस गर्थेँ ।

चैत्र महिनामै क्याम्पस भर्ना भए पनि पढाई भने २०४९ साल जेठको पहिलो हप्ताबाट मात्र सुरुवात भएको थियो । वैशाखभरि यसरी कोठा खोज्ने र आफ्नो काठमाडौँ बसाइँलाई व्यवस्थित तुल्याउने कुरामा नै बढी समय व्यतीत भयो । पढाई नभए पनि वैशाखको बिचबिचमा कहिलेकाहीँ क्याम्पस आउने गर्थे र क्याम्पसको वातावरणसँग परिचित हुने प्रयास गर्थेँ । क्याम्पस भित्रको आनन्द निकेतन भवन र त्यस अगाडि रहेको पार्क, खुला स्थान तथा चिनियाँ इँटाले बनेका अन्य आकर्षक भवनहरूले पहिलो चोटि क्याम्पस छिर्ने जो कोहीलाई पनि पक्कै मोहित तुल्याउँथ्यो होला जस्तो लाग्छ । आनन्द निकेतन भवनको भुईंतलाको एकछेउमा क्यान्टिन रहेको थियो । क्यान्टिन बाहिरको भित्तामा विद्यार्थी संगठनका भित्ते पत्रिकाका केही बोर्डहरू थिए । स्कुल छँदा नै भित्ते पत्रिका सञ्चालन गरेको अनुभव बटुलेको मलाई ती भित्तेपत्रिकाका बोर्डहरूले आकर्षित नगर्ने कुरै भएनन् । अघिल्लो वर्ष मात्र बहुदलीय प्रजातन्त्रको आगमन भएको हुँदा क्याम्पसका कतिपय भवन र पर्खालका भित्तामा रातो इनामेलले लेखेर नमेटिएका थुप्रै पञ्चायत विरोधी नाराहरू यत्रतत्रदेख्न सकिन्थ्यो ।

एक दिन क्याम्पसभित्र हिंडंदै गर्दा बाटोमा हिँड्दै गरेका एकजना विद्यार्थीसँग चिनजान गर्ने कोसिस गरेँ, उहाँ हामीभन्दा अघिल्लो ब्याचमा डिप्लोमा ईलेक्ट्रोनिक्समा अध्ययनरत हुनुहुँदो रहेछ, नाम दीपक श्रेष्ठ । भर्खरै दोस्रो सेमेस्टरको परीक्षा सकाएर बस्नुभएको रहेछ । उहाँबाट हामीले पहिलो सेमेस्टरमा पढ्नुपर्ने विज्ञान र गणित विषयका पाठ्यपुस्तकका नामहरू टिपेँ र सरस्वती बुक सेन्टर (पुल्चोक) मा गएर ती पुस्तकहरू किनी आफैँले स्वध्यान गर्न थालेँ । उहाँको कक्षामा गोरखार धादिङका अन्य सहपाठीहरू पनि रहेछन् । तीमध्ये शीतलकाजी श्रेष्ठ (गोरखा) र जयराम भट्टराई (धादिङ) सँगक्याम्पसको पढाई सुरु हुनु अघि नै चिनजान भयो । जयराम भट्टराईसँगै नयाँ छात्रावासतिर घुम्न गएँ । उनका रुममेटहरु सिन्धुपाल्चोक र ताप्लेजुङका थिए ।

वैशाखको अन्तिम हप्तातिर हाम्रो पढाइको तालिका निस्कियो । जेठको पहिलो हप्ताबाट मात्र पढाई सुरु भयो । हाम्रो पहिलो कक्षा भौतिक शास्त्र विज्ञानको ‘ताप’ परिच्छेदबाट सुरु भएको थियो । कक्षा कोठा थियो ‘डी’ ब्लकको भुईंतल्लाको सबभन्दा दक्षिण छेउमा रहेको कोठा । सबै साथीहरू कक्षाकोठामा पहिलो पाठका लागि एकदम तम्तयार, सतर्क र उत्सुक भएर रहेका थिए । क्याम्पस जीवनको यो पहिलो पाठ हामीलाई पढाउनुभएको थियो – श्यामा रेग्मी म्याडमले ।
(क्रमशः ………………..)

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्