Logo

युवाको मेहनत र गाउँपालिकाको प्रोत्साहनले सत्यवती कृषिमा आत्मनिर्भर



Spread the love

२७ कार्तिक, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका कृषि उपजमा आत्मनिर्भर बन्दै गइरहेको छ । स्थानीय सरकाको सहयोग र युवाहरुको कृषितर्फको आकर्षणले गाउँपालिका छोटो समयमै कृषि उपजमा आत्मनिर्भर बन्न सफल भएको हो ।

अहिले सत्यवती गाँउपालिका दुध, मासु ,अण्डा तथा स्थानीय जातका चल्लामा आत्मनिर्भर बनेको छ ।

परदेशबाट फर्किएका युवाले कुनै न कुनै कृषि व्यवसाय गरि गाउँपालिकालाई कृषिमा योगदान दिइरहेका छन् भने गाउँपालिकाले पनि युवाहरुलाई सहयोग गर्दै आएको छ । जसको एक उदाहरण हुन् वडा नम्वर ६ का अशोक सुवेदी । १० वर्षसम्म परदेशमा पसिना बगाएर अहिले आफ्नै गाउँमा कुखुरा फर्मसँगै ह्याचरी मेशिन सञ्चालनमा ल्याएका सुवेदीले स्थानीय जातका चल्ला उत्पादन गरिरहेका छन् ।

ह्याचरी मेशिनबाट प्रतिमहिना १८ देखि २० हजारसम्म चल्ला उत्पादन हुने गर्दछन् भने उनले मासिक ७० हजार देखि एक लाख सम्म बचत गर्छन् ।

उनले जिल्लामै पहिलो पटक ह्याचरी मेशिन सञ्चालनमा ल्याई अन्य युवाहरुलाई पनि यस पेशातर्फ आकर्षित गराइ रहेका छन् भने उनिहरु जस्तै युवाको मेहनत लगावले गाउँपालिकालाई स्थानीय जातका चल्लामा आत्मनिर्भर बनाउन समेत सफल भएका छन् । स्थानीय सरकारले राम्रो सहयोग गरिरहेको तथा बजारीकरणमा कुनै समस्या नरहेको सुवेदी बताउँछन् ।

त्यस्तै, स्थानीय सरकाले पनि सहयोग गरिरहेको जनाएको छ । कृषि तथा पशुपंक्षी शाखाका प्रमुख नारायण खनाल भन्छन्, ‘चल्लादेखि दाना ,औषधीसँगै हरेक कुरामा अरुसँग भर पर्ने अवस्थाको अन्त्य भएको छ ।’

स्थानीय जातका चल्लाले स्थानीय दानाबाट नै हुर्कने र रोग प्रतिरोधात्मक क्षमता बढी हुनुका साथै अन्य प्रजातिका कुखुरामा भन्दा पौष्टिक तत्व बढी हुने उनले बताए ।

किसानका निम्ति खोर सुधार, भकारो सुधार तथा युवा उद्यमी तथा साना किसानलाई गाउँपालिकाले नगद अनुदान सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले उल्लेख गरेका छन् ।

कृषि प्रधान देश भनेर चिनिने नेपालमा कृषिका लागि नीति तथा कार्यक्रम प्रभावकारी नहुँदा दिन प्रतिदिन परनिर्भता बढ्दै जान थालेको छ । बेरोजगार युवाहरुलाई कृषितर्फ आकर्षण गर्न सके वैदेशिक रोजगारप्रतिको मोह घट्दै जाने र देश कृषिमा आत्मनिर्भर बन्न समय नलाग्ने सत्यवतीमा भएका प्रयासहरूले देखाएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्