Logo

यस्ता छन् सूर्य षष्ठी पूजासँग सम्बन्धित रोचक तथ्यहरु



Spread the love

आदित्य पर्व छठ नेपालको एउटा प्रमुख र मिथिलाको सर्वप्रमुख पर्व हो । सूर्य जगतको आदि कारण भएकोले आदित्य, उर्जा–शक्ति उत्पत्ति गर्ने स्रोत को रुपमा चिनिन्छ । सौर्य–शक्तिलाई जन्म दिने जननीको प्रतिक पनि मानिन्छ। जीवन, जगत, प्रकृति, वनस्पति, ग्रहनक्षत्र, संवतसर, समय, काल सबैका कार्यकारक सूर्य नै हो । मिथिलांचलमा यस सूर्यपूजालाई पराशक्ति प्रकृति पूजाको रुपमा, लोकविधि–विधानानुसार परम्परागत रुपले पूजा गर्ने परम्परा छ । यसै तिथि–मितिमा छठिमाईको पूजा सूर्यपूजा सँगै गरिन्छ । मिथिलामा छठिमाईको आसि र सत्या असीम र अटूट रुपमा मानिन्छ । छठीमाईको जन्म प्रकृतिको छैठौं अंशबाट भएको हो र यसैकारणले उहाँको नाउ छठी मैया पर्न गएको हो ।

एकै दिनमा एकै अर्घ–नैवेद्यबाट सूर्य र छठीमाईको पूजा हुने गरेको छ । सबै देव माताहरु माता नै हुन् र सबै पूजयनीय भएपनि छठीमैयालाई लडि़कोरी÷सुत्केरी आमा मानिन्छ र यिनलाई नै निनियाँ देवी पनि भनिन्छ। बाल–बालिका जन्मेको छठौं दिनमा प्रत्येक सुत्केरी आमाले अनिवार्य रुपमा छठियार पुज्ने गर्छिन्।

लोक विश्वास छ कि छठिमैयाले बालकको भाग्य–भविष्य त्यसैदिन लेख्ने गर्छिन । अर्को नवजात शिशु, शिशु अवस्थामा निदाएपछि, निन्द्रावस्थामा यिनै छठिमैयाको न्यानो काँखमा हुने गर्दछन् र यी मैयाले शिशुको माया–दुलार गरी हर्ष–आनन्द प्रदान गर्ने गर्छिन्। व्रतविधि:

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको रहेको छ । छठ सम्बन्धि केही रोचक तथ्यहरु यस्ता छन् : सूर्यदेव र षष्ठी देवी दुबैको पूजाछठको ब्रतमा कुन देवी-देवताहरुको पूजा गरिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । पौराणिक मान्यता अनुसार षष्ठी माताले सन्तानको रक्षा गर्नुको साथै उनीहरुलाई स्वास्थ्य र दीघार्यु बनाउँछिन् ।
निःसन्तानहरुलाई सन्तान
षष्ठी देवीलाई नै स्थानीय बोलीको आधारमा छठ माता भनिएको हो, जसले निःसन्तानहरुलाई सन्तान दिन्छिन् र सबै बालबालिकाको रक्षा पनि गर्छिन् ।
छठ माताको पूजाको सुरुवात
प्रथम मनु स्वायम्भुवका पुत्र राजा पि्रयव्रतका कुनै सन्तान थिएनन्, जसका कारण उनी दुःखी थिए । महर्षि कश्यपले राजालाई पुत्रेष्टि यज्ञ गर्ने सल्लाह दिए । राजाले यज्ञ गराए, यज्ञपछि महारानी मालिनीले एउटा पुत्रलाई जन्म दिइन् । तर दुर्भाग्य त्यो शिशु मृत जन्मेका थिए । राजाको दुःख देखेर एउटा दिव्य देवी प्रकट भइन् । उनले ती मृत बालकलाई जीवित गरिदिइन् । देवीको त्यस्तो कृपाले राजा धेरै खुशी भएर उनले षष्ठी देवीको स्तुति गरे । यहि समयदेखि छठ माताको पूजाको सुरुवात भएको हो ।
सूर्यले सबैलाई उपकार गर्ने
भगवान सूर्यले सबैलाई उपकार गर्ने, अत्यन्त दयालु छन् । उनले आफ्ना भक्तहरुलाई आयु, आरोग्य, धन-धान्य, सन्तान, तेज, कान्ति, यश, वैभव र सौभाग्य प्रदान गर्छन् । उनले सबैलाई चेतना पनि प्रदान गर्छन् ।
सूर्यको उपासना
सूर्यको उपासना गर्नाले मनुष्यलाई सम्पुर्ण रोगहरुबाट छुटकारा प्राप्त हुन्छ । जसले सूर्यको उपासना गर्छ, उ दरिद्र, दुःखी, शोकग्रस्त र अन्धो हुँदैन । सूर्यलाई बम्हाको तेज पनि भनिन्छ । सूर्यले धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थ प्रदान गर्नुको साथै सम्पुर्ण संसारको रक्षा पनि गर्छन् ।
जलको अर्घ
सूर्यको पूजा गर्दा उनलाई जलको अर्घ दिइन्छ । पवित्र नदीहरुको जलले सूर्यलाई अर्घ दिने र नुहाउनुको विशेष महत्व रहेकेा छ ।
परिवारको कल्याणको कामना
महिलाहरु अनेक कष्ट सहेर आफ्नो परिवारको कल्याणको कामना गर्न सक्छिन् । यसलाई महिलाको त्याग-तपको भावनासंग सम्बन्धित भएको मान्न सकिन्छ ।
सन्तानको कामना
महिलाहरु सन्तानको कामना अथवा सन्तानको स्वास्थ र उनीहरुको दीघार्युको लागि समस्त विधि पुरा गर्दै पुर्ण श्रद्धाका साथ छठ पूजा गर्छन् ।
अस्ताउँदै गरेको सूर्यको पूजा
सूर्य षष्ठी व्रतमा मानिसहरु उदाउँदै गरेको सूर्यको पनि पूजा गर्छन् भने अस्ताउँदै गरेको सूर्यको पूजा पनि उत्तिकै श्रद्धाका साथ गरिन्छ ।
जातिय आधारमा कहि-कुनै भेदभाव छैन
यो पूजामा जातिय आधारमा कहि-कुनै भेदभाव छैन । समाजमा सबैलाई समान दर्जा दिइएको छ । सूर्य देवतालाई बाँसबाट बनेको सूप र डालोमा राखेर प्रसाद अर्पित गरिन्छ ।
सख्खरबाट बनेकेा खीर
प्रसादको रुपमा उखुको रस अथवा सख्खरबाट बनेकेा खीर चढाइन्छ । धेरै घरहमा चामलको पिठोबाट बनेको परिकार पनि बनाइन्छ । मानिसहरु छठको पूजा गरिएको घरमा गएर प्रसाद ग्रहण गर्छन् ।
नदीमा डुबेर सूर्यलाई अर्घ
तेस्रो दिन कार्तिक शुक्ल षष्ठीको साँझमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ । यो दिन व्रतालुसंगै अन्य मानिस पनि नदीमा डुबेर सूर्यलाई अर्घ दिन्छन् । चौथो दिन कार्तिक शुक्ल सप्तमीको दिन उदाउँदै गरेेको सूर्यलाई अर्घ दिएर नमस्कार गर्दै यो व्रत समाप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्